फलाम पिट्दैमा बित्यो अनिलको पक्कीघरको सपना

फलाम पिट्दैमा बित्यो अनिलको पक्कीघरको सपना
सुन्नुहोस्

-आशिका लम्साल

चरम गरिबीका कारण आरन पेशामा संलग्न अनिल लोहारको एउटै सपना छ, सानो भएपनि आफ्नै जग्गामा घर बनाउने । तर, आरन पेशाबाट खान लाउन नै धौ–धौ भएकाले उनलाई आफ्नो सपना पूरा नहुँदै मरिन्छ कि भन्ने लाग्न थालेको छ । 

७० वर्षको बुढ्यौली उमेरमा पनि फलाम पिटिरहेका उनी मोरङको बुढीगंगा गाउँपालिका १, करैया गाउँको खापटोलस्थित सिंघिया नदी किनारमा बस्छन् । ऐलानी जमिनमा बनाएको ह्वाङ्गै परेको फुसको छानोको घरमा उनीसहित श्रीमती र चार जना छोराहरुले निकै कष्टपूर्ण जीवन बिताइरहेका छन् । 

जतिबेला पनि आफ्नो छाप्रोमा फलाम पिटिरहेको अवस्थामा अनिल भेटिन्छन् । उनका श्रीमती र छोराहरुले त्यहाँ बनाएको औंजार हाटबजारमा लगेर बेच्छन् । ‘म धारिलो खुकुरी, कर्द, कत्ती, तरबार, फरुवा, बन्चरो, हसिँया, चुलेसी, झम्पल, भालालगायतका औंजार बनाउँछु । ती औंजार मेरी श्रीमती र छोराहरुले हाट बजारमा लगेर बेच्छन् । एकातिर फलामको भाउ बढेको बढ्यै छ, अर्कोतिर कठिन श्रम गरेर बनाएको औजार सहजै बिक्री हुँदैन । फलाम पिटेर कमाएको पैसाले खान त पुग्दैन, बचत गर्नु त परको कुरा । थोरै भएपनि आफ्नै जमिनमा छाप्रो बनाएर बस्ने चाहना छ । त्योपनि पूरा नभईकन मरिन्छजस्तो छ’,उनले दुःखेसो पोखे । 

वर्षायाम शुरु हुनेबित्तिकै अनिलको परिवार त्रसित हुन्छ । बाढी आएर कतिखेर घर नै बगाउने चिन्ताले उनीहरुलाई हरबखत सताउने गरेको छ । उनले भने, ‘हिँउदमा त जेनतेन ठीकै हुन्छ । बर्खामा हामी निदाउन पनि सक्दैनौं । पानी पर्नेबित्तिकै हाम्रो परिवार पोकोपन्तुरा बाँधेर तयारी अवस्थामा बस्छ । कतिबेला बाढी आउँछ र यहाँ छोडेर अन्त जानुपर्छ भन्ने ठेगान हुँदैन ।’

टिप्पणीहरू