चीनलाई आधुनिक समाजवादी मुलुक बनाउन कमरेडहरु एकाग्र

सुन्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समिति तेस्रो पूर्ण बैठक अस्ति सोमबारदेखि बिहिवारसम्म लगातार ३ दिन लगाएर बेइजिङमा सम्पन्न भएको छ । बैठकले पार्टी आचरण र अनुशासनलाई व्यापक रूपमा दरिलो बनाउँदै चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्धन गर्ने निर्णय लिएको छ । महासचिव सि जिनपिङले बैठकलाई सम्बोधन गर्ने क्रममा त्यसबारे विस्तृत रुपमा चर्चा गर्नुभएको बताइन्छ । केन्द्र सरकारले सञ्चालन गरेको बैठकमा महासचिवद्वारा प्रस्तुत कार्य प्रतिवेदनमाथि व्यापक छलफल भएको थियो ।

बैठकले पार्टीको २० औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकदेखि भए गरेका केन्द्रीय समितिको राजनीतिक ब्यूरोका कामलाई अनुमोदन गरेको जानकारी दिइएको छ । गम्भीर र जटिल अन्तर्राष्ट्रिय परिवेशमा पनि आन्तरिक सुधार भएको,विकास र स्थायित्वका कतिपय कठिन कार्यका बीचमा केन्द्रीय समितिको राजनीतिक ब्यूरोले पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको भावनालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकले चार व्यापक रणनीतिक रूपरेखाको कार्यान्वयनमा जोड दिएको छ । रूपरेखा,समन्वय र प्रवर्धन, आन्तरिक र अन्तर्राष्ट्रिय समग्र परिस्थितिलाई समन्वय गर्ने भनिएको छ । त्यसैगरी विकास र सुरक्षाको समन्वय गर्ने,उच्च गुणस्तरीय विकास प्रवर्धनको प्रयास गर्ने,व्यापक सुधार गर्दै जाने र त्यससम्बन्धी योजनालाई अघि सारेर समाजवादी लोकतन्त्रको निर्माणलाई ठोस रूपमा अगाडि बढाउनुपर्नेमा बैठक एकमत भएको बुझिएको छ । 

निर्णयमा भनिएको छ, ‘कानूनी शासन, वैचारिक र सांस्कृतिक प्रचारलाई सुदृढ गरिने छ । जनताको जीविकोपार्जन र पारिस्थितिक वातावरण संरक्षणलाई प्रभावकारी रूपमा सुनिश्चित गरिने छ । राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरताको दृढतापूर्वक संरक्षण गरिने छ । राष्ट्रिय रक्षा र सैन्य निर्माणलाई कडाइका साथ प्रवर्धन गर्न र हङकङ एवम् मकाउको काम र सम्बन्ध प्रवर्शनसम्बन्धी सबै कार्य जारी रहने छन् ।’

‘ताइवानलाई मुख्यभूमिसँग समाहित गराउने कामलाई अघि बढाइरहने, चिनियाँ विशेषतायुक्त कूटनीतिलाई अझ व्यापक बनाउने,व्यापक र कडा पार्टी अनुशासनलाई निरन्तरता दिने,आर्थिक पुनरुत्थान र सुधार गर्ने एवम् आधुनिक समाजवादी मुलुकको व्यापक रूपमा निर्माण गर्ने दिशामा ठोस कदम चाल्ने,’ बैठकको निर्णय छ ।

पूर्ण बैठकमा केन्द्रीय समितिका १९९ र केन्द्रीय समितिका १६५ वैकल्पिक सदस्यको सहभागिता थियो । बैठकमा केन्द्रीय अनुशासन निरीक्षण आयोगका स्थायी समिति सदस्य तथा सम्बन्धित पक्षका जिम्मेवार कमरेडहरुको सहभागिता रहेको जानकारी दिइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय काँग्रेसका प्रतिनिधिहरूमध्ये केही तल्लो कमिटीका सदस्य,विज्ञ र विद्वानहरूसमेत आमन्त्रित थिए ।

टिप्पणीहरू