सोलार देख्नासाथ कृष्णनगरमा करोडौंको चलखेल
करिब २५ मेगावाट विद्युत उत्पादनको निम्ति आयातित सोलार प्यानल तथा सामान चार महिनादेखि कृष्णनगर भन्सार यार्डमा रोकिएको छ । शिवराज नगरपालिकाको धर्मनगरमा सोलार प्लान्ट स्थापना गरेर २५ मेगावाट विद्युत उत्पादन गर्ने ठेक्का पाएको कम्पनी पशुपति रिन्युएबल प्रालिले आयात गरेको सोलार सामाग्री भन्सार परिसरमा राखिएको छ । ती सामाग्री भन्सार छुट गराउने चलखेलका लागि केही समय यार्डमा राखिएको स्रोतको दाबी छ ।
सामान आयातको क्रममा भन्सार घोषणा गरेर प्रक्रियामा गएपछि राजस्व तिर्न ठिक्क परेको कम्पनीका प्रतिनिधिलाई भन्सार प्रमुख मानबहादुर पौडेलले जानाजान रोकाएको आरोप छ । पौडेलले भन्सार महशुल छुटका लागि प्रक्रिया र उपाय सिकाएपछि कम्पनीका प्रतिनिधि सामान असरल्ल छाडेर छुटका लागि काठमाडौं धाएका छन् ।
त्यसपछि कम्पनीले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट छुट सिफारिसका साथ भन्सार विभागमा निवेदन दर्ता गरेको बताइन्छ । तर विभागले छुट दिन अस्वीकार गरेपछि कम्पनी नयाँ सरकार गठनलगत्तै पुनः छुट दौडधुपमा लागेको छ । भन्सार प्रमुखले नै भन्सार महसुल तिर्न रोकेपछि चार महिनादेखि सोलार सामान भरिएका दुई वटा ट्रक भन्सारको यार्डमा रोकिदा अनेक आशंका गरिएको छ ।
कागजी प्रक्रिया पुगेका वस्तु वा सामान भन्सार यार्डमा तीन महिनाभन्दा बढी राख्न पाईंदैन । त्यस्तो अवस्था उत्पन्न भएमा कानूनी प्रक्रियामा अघि बढ्नुपर्ने हुन्छ । तर भन्सारले नै कम्पनीको सामान संरक्षण गरेर राखेको कर्मचारीहरुको आरोप छ । सोलारका एंगलहरु भन्सार यार्डमा रहेको ट्रकमा देख्न सकिन्छ ।
युपी २२ टी ८१७ र युपी २५ बिटी ५४८४ नम्बरको दुई भारतीय ट्रक कृष्णनगर भन्सारको यार्डमा छन् । कृष्णनगर भन्सार कार्यालयले उक्त सामान आयातको अवस्थावारे हालसम्म सार्वजनिक गरेको छैन । शिवराज नगरपालिकाको धर्मनगरमा सोलार प्यानल फर्म निर्माण गर्ने परियोजनाअन्तर्गत दुई फेजमा १० मेगावाट र १५ मेगावाट गरी कूल २५ मेगावाट विद्युत उत्पादनका लागि उक्त सामाग्री भारतबाट ल्याइएको हो ।
भन्सार प्रमुख मानबहादुर पौडेलले तीन महिनाभन्दा बढी समयसम्म पनि त्यस्ता सामान राख्न मिल्ने बताए । उनले भन्सार प्रमुखसँग छ महिनासम्म सामान भन्सार यार्डमा राख्न पाउने अख्तियारी रहेको जवाफ दिए । ‘सामान आएको छ, उहाँ छुट गराउन कागजपत्र लिएर काठमाडौं जानुभएको छ । आएपछि भन्सार जाँचपास हुन्छ,’ पौडेलले भने ।
उनी कृष्णनगरबाट काठमाडौं गएको र प्रज्ञापन जारी भएको मिति अप्रिल २२, २०२४ को दिन देखिन्छ । जसअनुसार बिलमा १ करोड ५६ लाख ८६ हजार ९ सय ९७ उल्लेख छ । त्यसमा १ प्रतिशत भन्सारसहित १ करोड ५९ लाख ८३ हजार ८ सय ६७ पुगेको छ । अहिले १३ प्रतिशत भ्याटले हुन आउने २० लाख ७८ हजार रुपैयाँ छुट गराउन चलखेल भएको हो ।
Write to Editor & Uttam
टिप्पणीहरू