हामीले त त्यो दिन कालो दिवश मनाउने हो

हामीले त त्यो दिन कालो दिवश मनाउने हो

०४७ सालमा गजेन्द्रनारायण सिंहको साथ लागेर मधेश राजनीतिमा होमिएका राजेन्द्र महतो अहिले राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा छन् । ०४८ सालदेखि चुनावी प्रतिस्पर्धामा सामेल हुँदै ०५६, ०६४ र ०७४ मा गरी तीन पटक माननीय र ०६४ सालमा गिरिजाप्रसाद कोइराला, ०६५ मा प्रचण्ड, ६६ मा माधवकुमार नेपालको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए । ०६८ मा बाबुराम नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भए केपी शर्मा ओलीले संसद विघटन गरेपछि ०७८ मा १३ दिने शहरी विकासमन्त्री थिए । ०७९ मा राय यादवबाट पराजित भएसँगै पुराना दलबाट काम लाग्दैन भन्दै नेपाललाई ‘बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने, मुद्दा बोकेर हिँड्न थालेका छन् । नयाँ संविधान जारी भएको ३ असोजकै दिन पारेर नयाँ अभियान शुरु गर्दै छन् । यो अभियानमा देशभरका आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडितहरू गोलबद्ध हुने र यही व्यानर अन्तर्गत तेस्रो क्रान्ति हुने दावा गर्दै छन् । 

‑ हरि गजुरेल

० संविधान जारी भएदेखि नै संशोधनको मुद्दा उठाएर हिँड्नुभएको थियो । वर्तमान सरकारले संविधान संशोधन गर्ने दाबी गर्दा कत्तिको खुशी हुनुहुन्छ ्? 

– नेपालमा कसको, कुन, कतिचोटि सरकार बन्यो । अब जनचासो र सरोकारको विषय रहेन । यो सरकारबाट धेरै आशा गरिहाल्ने ठाउँ छैन । हामीकहाँ शासन र संविधान सत्ता लम्ब्याउन र लुटतन्त्र मच्चाउनबाहेक अरु काममा प्रयोग भएकै छैन । त्यही कारण यो गठबन्धनबाट आशा गर्ने ठाउँ छैन । 

० संविधान संशोधन भए पनि प्रतिगामी पाराको हुन्छ भन्नुहुन्छ, कसरी ?

– ७० वर्षमा सातवटा संविधान किन बनाउनुपर्‍यो ? यतिधेरै संविधान बनाउँदासमेत मुलुकमा स्थिरता किन आएन र? जनताले अधिकार, पहिचान किन पाएनन् र ? हिजो संविधान निर्माण कुन चेतना, ज्ञान र उद्देश्यबाट भएको थियो ? हाम्रो संविधानलाई बाइवल, कुरान, गीता वा महाभारतजस्तो बनाइयो । समयअनुसार संविधान संशोधन भएन भने फालिन्छ । यही कारण ६ वटा संविधान फालियो । सातौँ संविधान कहिले फालिने हो टुंगो छैन । नेपाल निर्माण भएको २७० वर्ष भयो । बहुपहिचानको आधारमा विविधता, बहुलता र पहिचानका आधारमा देश बनेपछि त्यहीअनुसार शासन र संविधान बन्नुपर्ने हो तर त्यसअनुसार भएन । १०४ वर्षे एकल जहानियाँ शासनमा बहुपहिचानलाई माटोमा मिलाइयो । लोकतन्त्र, गणतन्त्रमा पनि एकल राष्ट्रिय चिन्तन र सोच हटेन । नेपालको सबैभन्दा ठूलो समस्या वैचारिक हो । एकल चिन्तनको आधारमा प्रतिगामी संविधान बनाउने यिनै दलले गर्ने संविधान संशोधन अग्रगमनकारी हुनै सक्दैन । 

० नयाँ संविधान जारी भएको मिति ३ असोजको साइत पारेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान शुरु गर्ने साइत किन जुराउनुभएको ?

– मुलुकको सभ्यता र संस्कृतिमाथि आक्रमण भइरहेको छ । यो पूर्वीय सभ्यताको धरातल हो, होलिवाइन सभ्यता चलाउनुपर्ने होइन । यहाँ स्वदेशवादको आधारमा शासन चलाइएन । सभ्यता, संस्कृति सखाप पार्ने काम मात्रै भयो । संघर्ष र विद्रोह राजनीतिक कार्यक्रम भएका कारण यसले राजनीतिक रुप लिन्छ । असोज ३ गते कालो दिन, जनताको अधिकार पहिचानको हत्या भएको दिन । त्यो दिन आफ्नो राजनीतिक धारणा सार्वजनिक गरिन्छ । संघर्ष र विद्रोहको चरणमा मंसिरदेखि प्रवेश गर्छ ।

० ०४० को दशकदेखि गजेन्द्रनारायणको लिगेसी बोकेर हिँड्नुभयो । झण्डै ३५ वर्ष चलाएको मधेशको एजेण्डाछाडेर बहुल राष्ट्रिय राज्यको एजेण्डातर्फ लाग्नुभएको छ । के हो बहुल राष्ट्रिय राज्य भनेको ?

– हिजो मधेशकेन्द्रित भएर पहिचान र अधिकारको कुरा उठाइएको थियो । मधेशको आफ्नै बलबुताले यो अधिकार र पहिचानको एजेण्डा समाधान गर्छ भन्ने लागेर पटक–पटक संघर्ष, आन्दोलन, विद्रोह गरियो । ३५ वर्षको आन्दोलनले अनुभव र पाठ सिकायो । अधिकार र पहिचानको मुद्दामा लडेका कसैले सफलता पाएका छैनन् । मधेश, आदिवासी, जनजाति सबैको लडाइँ असफल भयो । यही लडाइँमा होमिएको थारुलाई जेल हालियो । सभ्यता, संस्कृतिको रक्षाका लागि एक्लै लडेर हुँदैन । एक्लै एक्लै लड्दा देश र जनतालाई क्षति मात्र हुने तर उपलब्धि केही नहुने ! सबै मिलेर लडेको खण्डमा शासक, सम्भ्रान्तमाथि दबाब पर्ने । त्यही कारण शक्ति निर्माणका लागि मधेसी, जनजाति, मुस्लिम, अधिकार, पहिचनावादीहरू गोलबद्ध हुनुपर्छ । सवाल उही हो, प्राप्त गर्ने तरिका मात्र फरक हो । हिजो एक्लै लडिएको थियो, आज गोलवद्ध भएर लड्न खोजिएको छ । हिजो अधिकार र पहिचानका लागि सडक, सदन, सरकारमा लडियो । संसदबाटै देश बेचुवालाई टुँडिखेलमा झुण्डाऊ भनियो तर सडक, सदन र सरकारमा बोल्दा ताकत पुगेन ।

० अहिले मधेशमै आठ वटा दल छन्, महन्थ ठाकुरदेखि उपेन्द्र यादव, प्रभु साह, सिके राउतदेखि तपाइँसम्म । किन यस्तरी खिइँदै गएको ?
– बहुदलीय व्यवस्थामा दलहरू स्वार्थका लागि निर्माण हुन्छन् ती दलहरू दलदलमा फसिसके । जति दल बने पनि ‘ढकको तीन पात ।’ चाहे मधेशका दल हुन् वा कांग्रेस, एमाले, माओवादी– यी सबै सत्ताकै वरपर घुमिरहेका हुन् । राष्ट्रिय मुक्ति क्रान्तिलाई सत्ताको पिछलग्गु हुनु छैन । यो अधिकार प्राप्तिका लागि लड्नका लागि जन्मिएको हो । अरु दल न सरकार र सत्ताका लागि लडिरहेका छन् । ती काम लाग्दैन । अधिकार पहिचानका लागि लडाइँ लड्ने जनता हुन् र काम लाग्ने पनि जनता नै १ अहिले राष्ट्रिय मुक्ति क्रान्तिका लागि लाखौं लाख जमात तयार भइसकेका छन् । पार्टी सरकारका लागि बनाइएको, दलको कुर्सीबाहेक अरु केही स्वार्थ छैन । गजेन्द्रबाबुको अधुरा काम पूरा गर्न खोजेको हुँ । उहाँले ०४६ सालमा मुक्तिका लागि सबै मिल्नुपर्छ भन्नुभएको थियो । धरानमा मधेशका लागि लड्ने सद्भावना पार्टी र पहाडमा जनमुक्ति पार्टीका गोरेबहादुर खपांगीहरूले पार्टी कार्यालय एउटै घरमा खोलेर त्यसको उदाहरण दिन खोज्नुभएको थियो तर सफल भएन । 

० ३५ वर्ष मधेशको राजनीति गर्नुभयो । मधेश छाडेर पहाड र हिमालतिर उक्लँदै हुनुहुन्छ । के पाउनुभयो पहाड उक्लँदा? 

– जनताबीच जाँदा एउटा भरोशा, विश्वासको नजरबाट हेरिरहेको अनुभूति गरें । न त कांग्रेस, न कम्युनिष्टबाट पैदा भएको हो राजेन्द्र महतो । यहाँका जनतालाई आफ्नो सभ्यता र संस्कृति कसरी जोगाउने भन्ने चिन्ता छ । क्यापाटालिज्म, कम्युनिज्मले माक्र्स, लेनिनमात्र होइन बाइबल लिएर आउँछन् । ‘चोर बोले जोरसे’ भन्ने कहावतै छ नि १ देशलाई लुट्न नांगो पार्दा मलाई छोड्छन् र रु राज्यसंंयन्त्र उसको हातमा छ । अहिलेसम्म बाँचेको छु, यही ठूलो कुरा हो । कुन दिन भौतिक रुपमै आक्रमण गर्छन्, त्यसको ठेगान छैन । 

० केपी ओलीले उपेन्द्र यादवको पार्टी किन फुटाए अनि सिके राउतलाई किन काखी च्याप्दै होलान् ?

– शासन त्यसै चल्दैन । फुटाऊ र राज गर सिद्धान्तमै चल्ने हो । शासन सत्ता काठमाडौंमा बनाउनका लागि मधेशलाई कमजोर पार्नुपर्छ । जनताको मत, तागतलाई कांग्रेस, एमाले, माओवादीले प्रयोग गर्छ । लोभीपापी त नेता हुन् । उनीहरू लोभी पापी भएर नै फुटाऊ र राज गर सम्भव भएको हो । 

० अहिलेको क्याबिनेटमा तराईको एउटै जिल्ला पर्साबाटै तीन जना मन्त्री छन् । मिल्यो र !

– चाहे तीन जना हुन् वा तेह्र केही फरक पर्नेवाला छैन । मधेशको त छोडिदिँऊ त्यही पर्साकै मधेसी जनताले पनि केही पाउँदैन । रेकर्डमा २० पटकसम्म मन्त्री भए रे । त्यो सबै फोटो झुण्डाउन र गन्नका लागि मात्र हो । 

० पार्टी अध्यक्ष महन्थ ठाकुरसँग तपाईंको मन किन रमेन ? 

– प्रत्येक व्यक्तिको लक्ष्य र उद्देश्य हुँदो रहेछ । उहाँको पैदा शासन सत्ताबाट ९कांग्रेस० बाट भएको हो । त्यो छोडेर उहाँ दायाँ बायाँ हुन सक्नुहुन्न । हिजो राजपा पार्टी बनाउँदा महन्थ, उपेन्द्रलाई अध्यक्ष मानेकै हो । त्यो एक रहेन । पार्टी एक भएको भए संघर्षको प्लेटफर्म बन्दथ्यो । त्यही प्लेटफर्मबाट राष्ट्रिय मुक्ति गर्ने लक्ष्य थियो मेरो । अनुहारले उपेन्द्र, महन्थ, सिके राउतहरू मधेसी होलान् तर कामले होइनन् । उनीहरूले स्वार्थ सत्ता केन्द्रित राजनीतिमात्र गरे । त्यही कारण लोसपा त्यागेको हुँ । पार्टी पनि फोडिन । 

० माओवादी १० वर्षे क्रान्ति त सत्ता राजनीतिमा गएर टुंगियो । तपाईं किनारामा पर्नुभएको छ तर राष्ट्रिय मुक्ति क्रान्ति पनि त्यही सत्तामा जानका लागि बनाउनुभएको भर्‍याङमात्रै हो भनियो भने के गलत हुन्छ ?

– कुनै पनि एजेण्डा उस्को भित्री आत्माबाट आएको हो कि होइन रु एजेण्डा बोक्ने पीडित पक्ष हुनुपर्छ । अनि त्यहाँबाट धोखा हुने सम्भावना कम हुन्छ । माओवादी जनयुद्ध भित्रैबाट आएको होइन । बेइमान मान्छे हुन्, प्रचण्ड । ०५६ सालमा बल्ल अधिकार र पहिचानको कुरा गरेको हो माओवादीले । मान्छेले आफूले आफैंलाई धोखा दिन सक्दैन । 

० कुनै समय बाबुराम भट्टराई पनि मधेशवादी नेता बनेका थिए, उनको मुभमेण्टलाई कसरी लिनुहुन्छ ? 

– बाबुराम विद्वान तर त्यस्तो कन्फ्युज मान्छे आजसम्म देखेको छैन । आधा गिलास भरी, आधा गिलास खालीजस्तो दहीच्युरे कुरा गर्नुहुन्छ । आडम्बर देखाएको छ तर अडान छैन ।  प्रचण्डजीले त धोखा नै दिनुभयो । 

० प्रभु साहहरूलाई कसरी हेर्नुहुन्छ ? 

– अनुहारको हिसाबले मधेसी तर कम्युनिष्टबाट जन्मिएको हो । शिक्षादीक्षा त्यहीबाट प्रभावित । उ सत्तामै केन्द्रित पात्र । 

० महन्थ ठाकुरले २० औं पटक शरदसिंहलाई मन्त्री बनाए । अहिले सोही पार्टीका सर्वेन्द्रनाथ शुक्लाहरू विद्रोहको तयारी गर्दैछन्, कस्तो लाग्दै छ ? 

– मन्त्री बनाउने र बन्नेको स्वार्थ मिल्यो । पार्टीमा मन्त्रीका लागि अरु पद हकदार थिए तर उनैलाई २० बनाए । उनीहरूको भित्री स्वार्थ के हो दुनियाँलाई थाहा छ । 

० अस्तिमात्र मधेशमा पूर्व भूमिसुधारमन्त्री दिनदहाडै मारिए । मधेशमा हत्या र घृणाको राजनीति किन फैलिरहेको होला ? 
– यस्ता तत्व दुनियाँमा जहाँ पनि हुन्छन् । ट्रम्पलाई गोली प्रहार भयो । अपराधी चरित्रको व्यक्ति जहाँ पनि रहन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू