नेपालमा 'मत्स्यकन्याको मुलुक'

नेपालमा 'मत्स्यकन्याको मुलुक'

उपन्यास,कथा,कविता लेखन र अनुवाद कार्यमा सक्रिय रण काफ्लेले नियात्रा कृति प्रकाशित गरेका छन् । रण काफ्ले भारत,आसामवासी नेपालीभाषी साहित्यकार हुन् । उनको कलम खासगरी नेपाली,असमिया,हिन्दी भाषामा चल्छ । उनको नविनतम् नियात्रा कृति 'मस्यकन्याको मुलुकमा' हो । सोही कृतिमाथि हिजो श्रावण २० गते,  आइतबार काठमाडौँमा एक परिचर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानको ब्यानरअन्तर्गत सोही प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस हुनुहुन्थ्यो । नेपाली जनजाति क्षेत्रकी पौरखी अगुवा चिनीमाया माझीको जीवनमा आधारित भएर आख्यानात्मक शैलीमा लेखिएको 'मस्यकन्याको मुलुकमा' नियात्रा सङ्ग्रहमाथि प्राडा भरतराज भट्टराई र प्राज्ञ नन्दु उप्रेतीले परिचर्चा गर्नुभएको थियो। परिचर्चाकार प्राडा भरतराज भट्टराईले भारतको आसाममा बसेर नेपाली साहित्यको सेवा गर्ने रण काफ्लेद्वारा लिखित यो 'मत्स्यकन्याको मुलुकमा' नियात्रा संग्रह नेपाली साहित्यको लागि एउटा ठूलो उपलब्धि भएको बताउनुभयो । भट्टराईले निम्नवर्गीय परिवारमा जन्मिएर बाख्रापाठा चराउँदै हुर्किएकी चिनीमाया माझीले जीवनमा गरेका संघर्ष र गौरवशाली कामहरूलाई उजागर गरेर साहित्यकार रण काफ्लेले सिङ्गै नेपाली समाज र नेपाली साहित्यमाथि ठूलो गुन लगाउनुभएको बताउनुभयो ।

त्यस्तै अर्का परिचर्चाकार प्राज्ञ नन्दु उप्रेतीले बर्मा एवं भारतको मणिपुर, आसामजस्ता ठाउँहरूमा बसेर नेपालीभाषी साहित्यकारहरूले नेपाली भाषा र साहित्यका लागि गरेको योगदानको उच्च कदर गर्दै रण काफ्लेप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाली छोरी चिनीमाया माझीको जीवनीलाई विषयवस्तु बनाएर रण काफ्लेले नेपाली साहित्यलाई एउटा सुन्दर साहित्यिक कृति उपहार दिएको बताउनु भयो । प्राज्ञ उप्रेतीले कृतिले पाठकसँग जहिले पनि आफ्ना अक्षरहरूमार्फत आँसु माग्छ,खुशी माग्छ,आक्रोश माग्छ,पीडा माग्छ, चेतनाको अनुभूति माग्छ,आनन्दको अनुभूति माग्छ भन्दै यी कुराहरू रण काफ्लेको कृति 'मस्यकन्याको मुलुकमा' पढ्दा पाठकले कृतिलाई दिन गाह्राे मान्दैनन् र यही नै लेखक र कृति दुवैको सफलता भएको बताउनु भयो । "मत्स्यकन्याको मुलुकमा कृतिले नेपाली भूगोलको परिचय दिएको छ, माझी जातिको सिङ्गो संस्कृति,परम्परा, चालचलन,रीतिरिवाज, जीवनशैली सम्पूर्ण कुराको उत्खनन गरेको छ, यसले संघर्षशील एवं गौरवशाली इतिहास बनाइसकेका अरू नेपाली जीवनलाई कृतिमा रूपान्तरण गर्ने प्रेरणा प्रदान गर्छ ।" उप्रेतीले भन्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले रण काफ्लेले नेपाली गौरवशाली महिलालाई चिनेको उल्लेख गर्दै अरू पनि थुप्रै नेपाली त्यस्ता व्यक्तिहरू छन् जसलाई हामीहरूले चिन्नुपर्ने कुरा बताउनुभयो र उहाँले आगामी दिनमा यो काम हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । आफू स्वयं पनि 'मत्यकन्याको मुलुकमा'की नायिकाको सामाजिक क्रियाशीलता थाहा पाएर अत्यन्तै प्रभावित भएको सुनाउनु भयो । कृतिकी नायिका चिनीमाया माझीले आफूलाई साहित्यिक कृतिमा समेटिदिनुभएकोमा साहित्यकार रण काफ्लेप्रति आभारी हुँदै उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साहित्यकार ममता मृदुलद्वारा सञ्चालित उक्त कार्यक्रममा कृतिका लेखक रण काफ्लेले भारत,आसामबाट पठाउनुभएको आभारपत्र वाचन गरिएको थियो । वरिस्ठ कवि शैलेन्द्र साकार,डा. लेखनाथ काफ्ले र नित्यनूरले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू प्रमोद सारङ,प्रधुम्न जोशी,गोकुल अधिकारी, चन्द्रमणि प्रसाई,सृजना सरोवर, विक्रमभक्त जोशी,डा. शेखरकुमार श्रेष्ठ, अम्बिका खड्का, ईश्वर पोखरेल, बर्माकी कवि वन्दना गौतम, पूर्वराजदूत डा. विष्णुहरि नेपाल,राधिका गुरागाई,  निर्मलराज पराजुली,वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल,बिमल भौकाजी, निरुपा प्रसुन महाकाव्यकार रामनाथ अधिकारी,रोमा लम्साल,रमा वली, त्रिपुरा पौडेल,सुनिता अधिकारी,जुनु घिमिरे,नानीबाबु अधिकारी,राजनप्रसाद न्यौपाने,विश्व नेपाली साहित्य महासङ्घकी महासचिव सुनिता राई कन्दङ्वा,श्रीराम पौडेल,केशवप्रसाद मैनाली,श्यामप्रसाद श्रेष्ठ, दिनेशकुमार शर्मा, राजेशमान के.सी., तोयानाथ सुवेदी, खेमलाल पोखरेल लगायतको बाक्लो उपस्थिति रहेको थियो।

टिप्पणीहरू