के भयो मुद्दा, एआइजी फुक्का

के भयो मुद्दा, एआइजी फुक्का

एआइजी श्याम ज्ञवालीविरुद्ध उनकै समकक्षी टेकप्रसाद राईको नेतृत्वमा गठित छानबिन टोली सर्वसाधारणको आँखामा छारो हाल्नमात्र बनाइएको पुष्टि हुँदैछ । अवकाश पाउनु अघिसम्म उनीविरुद्ध औपचारिक रूपमा कुनै प्रतिवेदन नबुझाइएकोले यस्तो आशंका बढेको हो । साउन १५ गते बनाइएको सो कार्यदलले एक महिनाभन्दा बढी समयावधि गुजारिसकेको छ । र, यसबीच एकदिन पनि उनीसँग आरोप र उजुरीहरुबारे सोधपुछसम्म गरिएको छैन ।

स्रोतका अनुसार, आइजिपी बसन्तबहादुर कुँवरले ज्ञवालीलाई सुरक्षित अवतरण गराउने उद्देश्यसहित प्रतिवेदन छिटो नबुझाउन टोलीलाई अह्राएका छन् । उता ज्ञवाली भने अवकाशअघि भदौ २३ गते हाजिर हुने गरी बिदामा बसेका छन् । हाजिर भएको दोस्रो दिन अर्थात् भदौ २५ गतेपछि उनले प्रहरीबाट ससम्मान बिदा लिने वातावरण तयार गरिएको छ । आइजिपीले प्रतिवेदन उनको अवकाशपछि बुझ्ने र माथिल्लो तहले सोधपुछ गरे ‘जागिर सकिएको मान्छेको के खेदो खन्नु हजुर’ भन्दै हात उठाउने सोच बनाएको स्रोतको दाबी छ । दोषी ठहर गरी विभागीय कारबाही त पदबहाल हुँदा नै गर्नु पर्ने हो । अवकाश भएपछि गरेको कारबाही ओरालो लागेको मृग खेद्ने उखान टुक्कासँग मिल्ने अवस्था हुन्छ । 

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेसँग अमेरिका र दुबई घुम्न सपरिवारका निम्ति टिकट लिएको, उमेरसम्बन्धी विवाद, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको र छोराछोरीलाई विदेशमा राखेको लगायत अनेकन विषयमा उजुरपछि टेकप्रसाद राईको नेतृत्वमा छानबिन टोली बनाइएको थियो । 

साथै उनीमाथि पूर्व गृहमन्त्री रवि लामिछानेसँगै मिलेर वसन्त कुँवरलाई ‘कु’ गरी आइजिपी हुने, अन्य दलका नेताहरूविरुद्ध मुद्दा दायर गर्ने, चेन अफ कमाण्डलाई तोड्ने काम गरेको आरोप लगाइएको थियो । त्यसो त केही दिनअघि ज्ञवालीले हेडक्वार्टरको चौरमा अन्य एआइजीसँगै उभिउभी भेटघाट गर्दा मेरो कुरा छिटो टुंग्याइदिनु, मेरो के दोष छ र ? भन्दै आइजिपी कुँवरसँग गुनासो पोखेको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू