लुम्बिनीकी राजकुमारी कमरेड
नेकपा (एमाले)का शक्तिशाली महासचिव शंकर पोखरेलकी बहिनी मेनकालाई लुम्बिनी प्रदेशका नेता—कार्यकर्ताले ‘राजकुमारी’को संज्ञा दिइरहेका छन् । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनी पार्टीमा ‘दाइको उदय’पछि फड्को मार्ने सूचीको अग्रपंक्तिमा पर्छिन् । दाइ शंकर पोखरेल महासचिव बन्नुअघिसम्म उनी गुमनामजस्तै थिइन् । तैपनि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हुर्काएको अनेमसंघमा उनकै हाराहारीमा आफ्नो पनि योगदान रहेको दाबी गर्छिन् ।
मेनकालाई यस्तो संज्ञा दिनुको कारणचाहिँ रोचक छ— दाइ शक्तिशाली महासचिव । उनी आफैँ केन्द्रीय सदस्य र सांसद । श्रीमान् शिवकुमार आचार्य एमाले दाङ जिल्ला अध्यक्ष । भाउजू सुजिता शाक्य पोलिटब्युरो सदस्य र पूर्वसांसद । तर, ती कोही पनि निर्वाचित होइनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दंगाली शंकरलाई महासचिवका रूपमा चुने । अनि, महासचिवले बाँकी तमाम.. पोखरेलहरूलाई पालैपालो पार्टीदेखि सदनसम्म ताने ।
‘आफू उच्च पदमा रहेको बेला बहिनीज्वाइँ, सालासाली, काकाकाकीलाई सांसद—मन्त्री, राजदूत वा अन्य कुनै नियुक्ति दिनु खासै अचम्म होइन । यो सबैतिर चल्छ, अझ भनौँ— केपी ओली अध्यक्ष र शंकर पोखरेल महासचिव भएको पार्टीमा यत्तिचाहिँ हुन्थ्यो नै,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने । महासचिव पोखरेलले बहिनीलाई पद सुम्पिँदा पार्टीले दिएको जिम्मेवारी पूरा नगरेको भन्दै प्रदेश कमिटीको अघिल्लो बैठकमा शीर्ष नेतृत्वको चर्को आलोचना भएको छ ।
उपाध्यक्ष विष्णु पौडेलनिकट नेताहरूको पल्लाभारी रहेको ‘लुम्बिनी एमाले’मा महासचिवकी बहिनीलाई ‘राजकुमारी’को उपमा दिइएको नेताहरू बताउँछन् । कतिसम्म भने, प्रदेश इञ्चार्ज पद्मा अर्याल मेनकादेखि आजित भए पनि महासचिवलाई गुनासो गर्ने अवस्थामा नरहेको तिनैले बताएका छन् । भदौ १६ गते प्रदेशका केन्द्रीय सदस्यहरूको भेला दाङको तुल्सीपुरमा आयोजना गरिएको थियो । सहभागी हुन सबै केन्द्रीय सदस्यलाई हेडक्वार्टरबाट उर्दी गयो । तर, महासचिवकै बहिनी त्यो बैठकमा गइनन् । त्यसो त मेनका पार्टीका कुनै पनि कार्यक्रममा जाँदिनन् । त्यति मात्र होइन, बैतडीको झुलाघाटबाट पाँचथरको चियो भन्ज्याङसम्म पार्टी अभियानमा समेत उनी झुल्किइनन् ।
एमाले प्रदेश कमिटीले बारम्बार ताकेता गर्दा पनि कुनै रुचि देखाइनन् । मिसन ग्रासरुटमा पार्टीले कपिलवस्तुको शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिकामा खटाएको थियो । तर, उनी त्यहाँ पनि खटिइनन् । पार्टी भनेको यस्तै रहेछ, हजुर !’ मेनकाकै उमेर हाराहारीकी एक केन्द्रीय सदस्यको गुनासो छ । एमाले दाङका एक पदाधिकारीले भने, ‘उहाँलाई जिल्लातिर पनि जानु पर्दैन । किनकि उनकै श्रीमान् जिल्ला अध्यक्ष हुनुहुन्छ ।’
– उत्तरकुमार डाँगी
टिप्पणीहरू