चीनको त्यो अविस्मरणाीय यात्रा

चीनको त्यो अविस्मरणाीय यात्रा

नेपाल र चीनबीच लामो र गाढा मित्रता छ । छिमेकी मुलुक भएकाले पनि नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट छ । विश्वसामू अलग पहिचान बनाएको चीनले निकै संघर्षको सामना गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवं प्रमुख दाताराष्ट्रका रुपमा स्थापित चीनले छोटो समयमा गरेको विकास वास्तवमै तारिफयोग्य छ । 

यसवर्ष सोही विकसित राष्ट्रको भ्रमण गर्ने मौका मिल्यो । जनआस्थाको कार्यालयबाट मसहित नौं जनाको टोली चीन भ्रमण सकाएर अस्ति साँझ नेपाल फर्किएको छ । टोलीमा जनआस्थाका पत्रकार हरि गजुरेल, रिकेश विश्वकर्मा, उत्सव ढुंगाना, आदर्श नन्द, तथ्य धमला, यसिना श्रेष्ठ, रिया श्रेष्ठ, आयोजना घिमिरे र म थिए ।

चीनको यो मेरो पहिलो यात्रा हो । अधिकांश साथीहरुको पनि पहिलो यात्रा नै थियो । चीनको वाणिज्य मन्त्रालयअन्तर्गत रहेको एकेडेमी फर इन्टरनेशनल बिजनेश अफिसियल (आइबो)ले आयोजना गरेको ‘सेमिनार अन डेभलपमेण्ट अफ एनिमेशन गेम्स एण्ड कल्चरल ट्रेड फर डेभलोपिङ कन्ट्रिज’ मा सहभागी हुन हामी नौं जनाको टोली दशैंको टीकाको भोलिपल्ट चीन उड्यौं । 

असोज २७ गते आइतबार राति ११ बजेर ५५ मीनेटको उडान थियो । चाइना साउथर्दनको विमानबाट हामी ग्वाङ्झाउको बैयान एअरपोर्ट झर्यौं । चीनको राजधानी बेइजिङसम्म हाम्रो यात्रा थियो । तीन घण्टाको ट्रान्जिटपछि हामी गन्तव्यतर्फ लाग्यौं ।

एकातिर बेइजिङ कस्तो होला भन्ने हुटहुटी थियो भने अर्कोतिर थकान । हामीलाई पिक गर्नका लागि बेइजिङ देछिङ इन्टरनेशनल एअरपोर्टमा दुईटा गाडी पठाइएको थियो । त्यो गाडीले हामीलाई लेकसाइड होटल पुर्यायो । हाम्रो स्वागतका लागि आइबोको प्रतिनिधि एल्भा ढोकामा उभिएकी थिइन् । हामीले पनि रुद्राक्षको माला लगाइदिएर उनको सत्कार गर्यौं । 

सबै थकित भएकाले सो दिन कुनै कार्यक्रम भएन् । भोलिपल्ट बिहान ‘ओपनिङ सेरेमनी’ थियो । हामीलाई लिनका लागि एल्भा, स्ल्याइभिया र मोरग्यान होटलमा आएका थिए । सबैलाई एउटै गाडीमा होटलबाट आइबो लगियो । आइबोको उपाध्यक्ष चेन रुनयुनले सेरेमनीको उद्घाटन गरिन् । केन्याबाट ६, नाइजेरियाबाट दुई, पानामाबाट दुई, बहराइनबाट दुई, मौरीशसबाट एक, क्युबाबाट चार, लाओसबाट ६, इल सल्भाडोरबाट चार गरी २५ जना सहभागी भएका थिए । 

सबैभन्दा बढी नेपालबाट थिए । अर्काको देशमा सो किसिमको कार्यक्रममा सहभागी हुन पाउनु ठूलो अवसर थियो । त्यसको भोलिपल्टदेखि हाम्रो कक्षा शुरु भयो । पहिलो दिन न्यूजिल्याण्डका लागि राजदूत रहिसकेका मिङमिङ चेनले चीनको राष्ट्रिय अवस्थाबारे पढाए । नयाँ चीन बनाउनका लागि गरिएको संघर्षबारे उनले जानकारी गराए । 

उनले चीनले हासिल गरेको सफलताबारे भनिरहँदा म हाम्रो नेपाल पनि त्यस्तै भइदिए हुन्थ्यो भनेर सोचिरहेकी थिए । बिहान ९ बजेदेखि १२ बजेसम्मको कक्षा सकिएको पत्तै भएन् । त्यसपछि पुनः २ बजेदेखि ५ बजेसम्मको कक्षा थियो । चाइना फोरेन अफियर्स युनिभर्सिटीका एशोसिएट प्रोफेशर ग्याङ हिले ‘चाइनिज लिडर्स गोभरनेस एण्ड एण्डमिनिट्रेशन अफ द कन्ट्री’ बारे पढाए । 

कक्षा सकिएपछि हामी सबै पढाएको विषयमा छलफल गर्थ्यौं । तेस्रो दिन हामीलाई होटलबाट आइबो सारियो । त्यहाँ साढे ५ बजेदेखि सात बजेसम्म बेलुकाको खाना खाने समय तोकिएको थियो । त्यता साँझ छिटो खाना खाएर बाहिर निस्किने चलन रहेछ, जुन मलाई असाध्यै मनपर्यो । ७ बजेतिर बाहिर निस्किँदा ठाउँ–ठाउँमा मान्छेहरु ग्रुप बनाएर नाँचिरहेका हुन्थे । बालबालिका खेल्नका लागि विभिन्न स्थानमा पार्क निर्माण गरिएको छ । 

हामी पनि खाना खाएर बाहिर घुमफिरमा निस्किथ्यौं । मान्छेहरु नाँचिरहेको ठाउँमा हामी पनि मिसिन्थ्यौं । आइबो पुगेको भोलिपल्ट सोही प्रोफेशरले बिआरआईको बारेमा पढाए । बिआरआईमार्फत चीनले अन्य देशमा गरिरहेको विकास साँच्चिकै उत्कृष्ट छ । प्रोफेशर ग्याङ हीले पढाउँदै गर्दा भनेको एउटा वाक्य सायद कसैले पनि बिर्सिँदैनन् होला । उनी भन्थें,‘देश बनाउनु छ भने पहिले रोड बनाऊ ।’

त्यसपछि एनिमेशनसम्बन्धी कक्षाहरु शुरु भयो । विभिन्न विश्वविद्यालयका प्रोफेशरहरुले एनिमेशनबारे जानकारी दिए । अहिलेको युग प्रविधिको युग हो । चीनले एनिमेशनको दुनियाँमा फड्को मारेको छ ।एनिमेशनलाई त्यहाँको सरकारले पनि प्रोत्साहन गरिरहेको छ । पढाइसँगै हामीलाई घुमाउन विभिन्न स्थान  लगियो । हामीले ‘द ग्रेट वाल अफ चाइना’ को भ्रमण गर्यौं । 

सँधै किताबमा पढेको र तस्बिरमा देखेको चीनको त्यो विशाल पर्खालको भ्रमण गर्न पाउनु खुशीको कुरा थियो । विश्वप्रसिद्ध पर्खालको चुचुरोसम्म पुग्दा मलाई निकै गौरन्वित महशुस भयो । त्यसपछि हामीलाई मार्केट लगियो । भोलिपल्ट बेइजिङबाट ह्वाङझाउ लैजाने कार्यक्रम थियो । बिहान ११ बजेको फ्लाइट भएकाले ८ बजे नै आइबोबाट एअरपोर्ट लगियो । ठूलो मुलुक भएकाले एउटा शहरबाट अर्को शहर जान घण्टौं लाग्ने । 

एअर चाइनाको विमानमा दुई घण्टाको यात्रापछि ह्वाङ्झाउ पुग्यौं । मलाई ह्वाङ्झाउ निकै रमाइलो शहर लाग्यो । त्यहाँको ‘स्ट्रिट फुड’ ले सबैलाई लोभ्याउँछ । ह्वाङ्झाउमा बस्दा हामीलाई विभिन्न एनिमेशन कम्पनी लगियो । बिहान जोल्याण्ड कम्पनी भिजिट गर्यौं । कम्पनीभित्रको दृश्यले मलाई छुट्टै दुनियाँमा छिरेझैं महशुस भयो ।

दिँउसो हामीलाई विजार्ड कम्पनी लगियो । त्यहाँ हामीलाई गेम्सहरुको बारेमा जानकारी गराइयो । सो कम्पनीले सन् २०२५ मा दुईटा गेम रिलिज गर्दैछ । हामीलाई गेम पनि खेलाइयो । त्यहाँ हामीले निकै रमाइलो गर्यौं । 

सो क्रममा ह्वाङ्झाउको ऐतिहासिक वेस्ट लेकको पनि अवलोकन गर्ने मौका मिल्यो । वेस्ट लेक निकै सुन्दर देखिन्छ । वरिपरि हरियाली र बिचमा ताल । वेस्ट लेक ह्वाङ्झाउको प्रमुख पर्यटकीय स्थल भएको गाइड क्लेयरले बताइन् ।  हामी तीन दिन त्यहाँ बस्यौं । त्यसपछि पुनः बेइजिङ फर्कियौं । 

हामी कक्षा सकिएपछि घुमघाममा निस्किन्थ्यौं । आइबोमा हुँदा हाम्रो धेरै नेपालीसँग भेटघाट भयो । कार्यक्रमका लागि विभिन्न मुलुकबाट त्यहाँ आउने–जाने क्रम चलिरहने रहेछ । चीनले बाहिरी देशका नागरिकमाथि ठूलो लगानी गरेको देखियो । हामीलाई अन्य विभिन्न स्थान पनि देखाउन लगियो । 

कार्यक्रम सकिने अन्तिम दिन आउँदै गर्दा सबै उदास देखिन्थे । दुई साताको चिनजान भएपनि हामी सबै परिवारझैं बनिसकेको थियौं । हाम्रो मित्रता एकदमै घनिष्ट बनिसकेको थियो । कात्तिक १२ गते ‘क्लोजिङ सेरेमनी’ थियो । नाइजेरियाबाट एक जना र नेपालबाट दुई जनाले स्पिच दिए । नाइजेरियाका आयोले दिएको स्पिचले उपस्थित सबैको आँखा रसायो । मुटु भक्कानियो । नेपालबाट भुकृटी र उत्सव ढुंगानाले दिएको स्पिच पनि गज्जबको रह्यो । 

सोही रात सबैलाई आ–आफ्नो मुलुक फर्काइँदै थियो । साँझ नजिकिँदै गर्दा सबैको जीऊ सिरिङ्ग भइरहेको थियो । मुटुमा चिसो पसिसकेको थियो । नाइजेरिया, पानामा र इल साल्भेडोरको टोलीलाई साँझ ७ बजे आइबोबाट एअरपोर्ट लगिँदै थियो । अन्य मुलुकका टोली उनीहरुलाई बिदाई गर्न ढोकामा उभिएका थियौं । 

उनीहरु निस्किँदा सबैको आँखा रसायो । नाइजेरियाका आयो कोठाबाटै भक्कानिँदै निस्किए । नेपाली टोली उनीसँग निकै नजिक थिए । उनीसँग छुट्टिदा हाम्रो टोलीका आदर्श नन्दले आफ्नो आँशु थाम्न सकेनन् । उनीहरुपछि आइबोबाट निस्किने पालो हाम्रो थियो । हामीलाई र लाओसका दाजुहरुलाई मध्यरातमा आइबोबाट बसमा एअरपोर्ट ल्याइयो । 

बिहान ७ बजे कुन्मिङका लागि हाम्रो उडान थियो । चाइना इन्सटर्नको विमानबाट कुन्मिङ आइपुगेको हाम्रो तीन घण्टाको ट्रान्जिट थियो । दिँउसो झण्डै ४ बजे हामी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लियौं । नेपाल फर्किएपनि चीनको यो यात्रा मेरो लागि अविस्मरणाीय रहनेछ । 

छोटो समयको बसाइँ भएपनि हाम्रो लागि निकै उपलब्धिमूलक रह्यो । हामीले धेरै कुरा सिक्यौं, बुझ्यौं । यो अवसर दिलाइदिनुहुने जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई धेरै–धेरै धन्यवाद भन्न चाहान्छु । र, मलाई चीनमा सहयोग गर्नुहुने मेरो टोलीप्रति आभार प्रकट गर्दछु ।

तस्विरहरुः

टिप्पणीहरू