मानव तस्करीको आरोपपछि एमाले नेता निलम्बित

मानव तस्करीको आरोपपछि एमाले नेता निलम्बित
सुन्नुहोस्

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी निलम्बित भएका छन् । नेकपा एमाले कोशी प्रदेशले पार्टीका सबै भूमिकाबाट निलम्बन गरेको जनाएको छ । 

तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई एमाले कोशी प्रदेश कार्यालयले पार्टीको कुनै पनि तहमा रहन नपाउने जनाएको छ । उनले पदीय मर्यादा विपरीत जापान भ्रमण गरेको जनाउँदै प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौं ।’ 

आजदेखि अधिकारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा एमालेको संगठित सदस्यताबाट समेत निलम्बित भएका छन् । उनी प्रदेशका मुख्यमन्त्री तथा पार्टीलाई जानकारी नगराई असम्बन्धित तीन जना मानिस लिएर तिहारअघि जापान उडेका थिए । तर नक्कली कागजातका आधारमा जापान अध्यागमनले फिर्ता पठाएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रहरीले अन्य तीन जनालाई पक्रेर मानव तस्करीको आरोपमा अनुसन्धान गरे पनि अधिकारीमाथि हालसम्म कुनै प्रक्रिया अघि बढाएको छैन । 

यसैबीच एमाले सचिवालय बैठकले पनि अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ । आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले उनीमाथि लागेका आरोपहरूको वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राज्यका निकायले छानबिन गर्न र छानबिनमा पार्टीको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाएको छ ।

टिप्पणीहरू