मध्यरातमा हवाई आक्रमणपछि नेपालीभाषीहरुको भागाभाग

मध्यरातमा हवाई आक्रमणपछि नेपालीभाषीहरुको भागाभाग
सुन्नुहोस्

म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सत्तासीन सेनाले ‘सानो नेपाल’ भनेर चिनिने मोगोक शहरको ल्येऊ टोलमा घातक हवाई आक्रमण गरेको छ । सशस्त्र विद्रोही दस्ता ताआङ सेनाले आफ्नो नियन्त्रणमा लिएको माण्डले क्षेत्रको मोगोकमा ‘जुन्ता’ले हवाई आक्रमण गर्दा एकजना नेपालीभाषीसहित तीन जनाको मृत्यु भएको जनाइएको छ ।

‘क्रूर सेनाले हाम्रो शहरमा राति बम खसालेको छ । हाम्रो टोलका सबै घर बमले उडाएको छ । बम लागेर एकजना नेपालीभाषी दाजुको पनि मृत्यु भएको छ । अन्य धेरै जना घाइते हुनुभएको छ । यहाँको अवस्था साह्रै नराम्रो छ,’ मोगोकका एक नेपालीभाषीले भने ।

गएराति ११ बजेतिर सेनाले नेपालीभाषीको बाक्लो बस्ती रहेको ल्येऊमा हवाई आक्रमणसँगै बम बर्साउँदा दर्जनौँ नेपाली घाइते भएका छन् । तीमध्ये कतिपयको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मोगोकका नेपालीभाषीहरुले दिएको जानकारी अनुसार शहरको पूर्व र पश्चिम भागका केही स्थानमा हवाई आक्रमण गरिएको छ । आक्रमणपछि धेरै नेपालीभाषीहरू घर छाडेर जंगलतिर भागेका छन् ।

सेनाको घातक हवाई आक्रमणले ल्येऊ टोलका अधिकांश घर, पसल र रुबी बजार ध्वस्त देखिन्छ । म्यान्मारको सेनाले सत्ता हालमा लिएपछि मोगोकको आन्दोलनमा गोर्खाली भनेर चिनिएका नेपालीहरू पनि सडकमा उत्रिएका थिए । सैन्य शासनयता झण्डै एक दर्जन नेपालीभाषीले सेनाको गोली र हवाई आक्रमणबाट ज्यान गुमाएका छन् । तैपनि नेपालीभाषीहरू जुन्ता सरकारको विरोधमै छन् ।

गोर्खालीहरूले म्यान्मारको रक्षाका लागि छातिमा गोली लागेपनि गरिमामय इतिहास राखेको त्यहाँका नेपालीहरू बताउँछन् । पूर्खाको इतिहासलाई कायम राख्दै मातृभूमि म्यान्मारको रक्षा गर्नु नेपालीभाषीहरूको कर्तव्य भएको उनीहरूको दाबी छ । म्यान्मारमा लगभग डेढ लाख नेपालीभाषी छन् ।
 

टिप्पणीहरू