आज बयान सकेर रविलाई कास्की फर्काउने तयारी

आज बयान सकेर रविलाई कास्की फर्काउने तयारी
सुन्नुहोस्

सुप्रिम सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज तेस्रो दिन बयान शुरु भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहान १० बजेदेखि बयान शुरु भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।

मंगलबार पहिलो दिन मौखिक सोधपुछ र हिजो ९ घण्टा लामो लिखित बयान लिइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरूको उपस्थितिमा भएको ९ घण्टा लामो बयानमा ५० प्रश्न सोधिएको थियो । हिजो अधुरो रहेका विषयहरूमा आज पनि लिखित बयान हुने बताइएको छ । 

सम्भवत: आज बयान सकिने र लामिछानेलाई कास्की फर्काइने रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिएका छन् । 

लामिछानेलाई बयानमा झिकाइएसँगै रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शन गर्दै आएका छन् । त्यस्तै, सहकारी पीडितले पनि आन्दोलन गरिरहेका छन् । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जिल्ला सरकारी वकिल कार्यालयको सय मीटर आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । 

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ जिबी राइको समूहसँग मिलेर गोरखा मिडिया नेटवर्क प्रालिका प्रवन्ध निर्देशक रहँदाका बखत अपचलन गरेको लामिछानेमाथि आरोप छ । रविको नाममा १ करोड ९६ लाख ऋण प्रवाह भएको संसदीय विशेष छानविन समितिले निष्कर्ष दिएको छ । त्यसैका आधारमा जिल्ला अदालत रुपन्देहीले लामिछाने र उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

टिप्पणीहरू