अमेरिकामा यो के अचम्म

अमेरिकामा यो के अचम्म
सुन्नुहोस्

नेपालीका निम्ति सपनाको देश हो, अमेरिका । अहिलेको पुस्ता अमेरिका भन्नेबित्तिकै हुरुक्कै हुन्छ । सानैदेखि अमेरिकी विकासबारे सुनेर होला, त्यहाँ जाने रहर सबैको हुन्छ । आर्थिक तथा भौतिक रुपमा मात्र नभई विज्ञान, प्रविधि, व्यवस्थापनलगायत हरेक क्षेत्रमा अमेरिका अगाडि छ । 

तर, प्रविधिको उच्चतम विकास भएको मुलुकमै एक नेपाली हराएको महिनौं बितिसक्दा पनि प्रहरीले ठोस प्रमाण जुटाउन सकेको छैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ की २८ वर्षीया स्वास्थ्य परिचारिका (नर्स) ममता काफ्ले बेपत्ता भएको चार महिना बितिसक्यो । भर्जिनियाको मनासस पार्कमा श्रीमानसँग बस्दै आएकी उनी गत साउन १५ गतेदेखि लापता छिन् । सम्पर्कविहिन भएको लामो समयसम्म घटनाको जरासम्म पुग्न नसकेपछि त्यहाँका प्रहरीको कार्यसम्पादनमाथि प्रश्न उठाइएको छ । प्रविधिको विकासमा विश्वमै चर्चा कमाएको देशमै अनुसन्धानमा कमजोरी देखिएको भन्दै बहस शुरु भएको छ ।

श्रीमान् कञ्चनपुरका नरेश भट्ट हिरासतमै छन् । नरेशलाई प्रहरीले घटनाको ‘शंकास्पद’ व्यक्ति भनेको छ । ममताको हत्या भएको निश्कर्ष निकाल्दै प्रहरीले नरेशलाई नियन्त्रणमा लिए पनि शव फेला नपरेकाले मुद्दा दर्ता हुन सकेको छैन । हालसम्म अनुसन्धान जारी छ । ममता बेपत्ता प्रकरणमा नरेशलाई थुन्ने कि छोड्ने भनी न्यायाधीशले केही दिनमै फैसला सुनाउँदैछन् । ठोस प्रमाण नभएकाले उनी छुट्ने सानो सम्भावना देखिएको घटनालाई नजिकबाट नियालिरहेका कानुन व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार हालसम्म प्रहरी ‘परिस्थितिजन्य प्रमाण’ मात्र संकलन गर्न सफल भएको छ। 

अन्य दिन १० ग्यालिन पानी खपत हुनेमा घटना भएको दिन १५० ग्यालिन पानी चलाइएको, नरेशले बजारबाट चक्कुलगायत सरसफाइका सामान खरिद गरेको, घरमा रगतका टाटा भेटिएको, कार्पेटमा शव घिसारेको संकेत फेला परेको, पार्कमा नरेशले कपडा फयाँकेको, हातमा पञ्जा लगाएर पटकपटक फोहोर फ्याँक्न गएकोलगायतका विषय उल्लेख गरेर प्रहरीले सरकारी वकिलसमक्ष प्रमाण पेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै, नरेशले फरक–फरक बयान दिएको, घटनालगत्तै टेस्ला कार बेचेको, घर बेच्न कोशिश गरेको, गुगलमा श्रीमती मरेको कति दिनपछि विवाह गर्न मिल्छ भनी सर्च गरेको फेला परेको प्रतिवेदनमा उल्लेख छ । यी सबै प्रमाण हेर्दा जो–कोहीलाई पनि नरेशमाथि शंका लाग्छ । जुन स्वाभाविकै पनि हो । तर, अमेरिकामा मुद्दा चलाउनका लागि ठोस प्रमाण चाहिन्छ नै ! 

यहाँजस्तो राजनीतिक दबाबमा मुद्दा दर्ता हुँदैन । अमेरिकी कानुनबारे जानकार अधिवक्ताका अनुसार न्यायाधीशले मुद्दा दर्ताका लागि आवश्यक प्रमाण जुटाउन प्रहरीलाई मौका दिइरहेका छन् । तर, प्रहरीले सकिरहेको छैन । ममताको हत्या भएको आशंका गरिए पनि शवबारे कुनै सुराक पाउन सकिएको छैन । ममताको केस एकदमै जटिल रहेको ती अधिवक्ता बताउँछन् । ‘नेपालको हकमा भएको भए अहिलेसम्म केश दर्ता भइसक्थ्यो तर यहाँको कानुनले प्रमाण माग्छ । प्रहरीले परिस्थितिजन्य प्रमाण पर्याप्त संकलन गरेको छ तर कानुनी हिसाबले उनको हत्या भएको पुष्टि गर्न सक्ने प्रमाण हात लागेको छैन । न्यायाधीशले यस घटनालाई गम्भीर रुपमा हेरिरहेका छन् । ठोस प्रमाण जुटाउन मौका दिइरहेका छन् । यद्यपि, शवको कुनै टुक्रा फेला पर्न सकेको छैन । नरेश पनि बोलिरहेका छैनन्’, उनले भने । 

यता, नरेशले आफ्नो पक्षबाट वकालत गर्न दह्रो वकिल राखेका छन् । यसअघि वकिलहरूले उनको जमानतका लागि माग गरेका थिए । उनी समाजका लागि खतरनाक हुनसक्ने भन्दै न्यायाधीशले उनको जमानत अस्वीकार गरिदिए । घटनापछि ममताका आमा र दाजु अमेरिका पुगेका छन् । यसअघि पटकपटक सार्दै आएको पेशी यसपटक पनि सर्न सक्ने देखिएको छ ।

टिप्पणीहरू