रवि र निकिताको थप खाता खोतलिँदै
सहकारी ठगी आरोपमा डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि प्रतिशोध साँधिएकै हो त ? उनीविरुद्ध एकपछि अर्को पक्राउ पुर्जी जारी भइरहँदा र यो प्रकरण थप जेलिँदै जाँदा सहानुभूति दर्शाउनेले मात्र हैन आलोचनात्मक टिप्पणी गर्नेले पनि यस्तो प्रश्न उठाउने गरेका थिए । तर, सहकारी ठगीमा प्रत्यक्ष संलग्नता पुष्टि हुने बलियो प्रमाण फेला परेकाले अब यो प्रश्न कानुनी हिसाबले असान्दर्भिक भएको छ ।
सहकारी ठगीमा आफू निर्दोष रहेको जिकिर गर्दै रविले प्रमाणित भए राजनीति नै छोड्ने च्यालेञ्जसमेत गरेका थिए । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिनामा प्रत्यक्ष नभई अप्रत्यक्ष संलग्नता ठहर गर्दै प्रतिवेदन दिएपछि ‘क्लिन चिट’ पाएको प्रचार पनि गराए । तर, पछिल्लो अनुसन्धानका क्रममा विभिन्न सहकारीबाट गोर्खा मिडिया प्रालिको नाममा प्रवाह भएको ऋणको ब्याज तिर्न उनी आफैँले चेक काटेर भुक्तानी दिएको तथ्य खुलिसकेको छ । चेक काटेर ब्याज तिर्नुको अर्थ ऋण लिएको भन्ने स्वतः बुझिन्छ ।
अर्कोतिर रवि र उनकी पत्नी निकिता पौडेलको नाममा अस्वाभाविक बैंकिङ कारोबार देखिएको छ । पछिल्लो चार वर्षमा उनीहरूको विभिन्न बैंकमा रहेको ५ वटा छुट्टाछुट्टै खातामा २१ करोड ट्रान्जेक्सन देखिएको छ, तर अहिले खातामा रकम भने छैन । यति ठूलो मात्रामा पैसा कहाँबाट आयो र कहाँ गयो भन्नेबारे प्रहरीले चार्टर्ड एकाउन्टेन्टसहित विज्ञहरूको सहयोगमा सुक्ष्म अनुसन्धान गर्दै छ । गोर्खा मिडियाबाट रविले निकिता र ससुरा उद्धव पौडेलका नाममा क्रमशः ३५ र २५ लाखको चेक काटेको अर्को विषय पनि छँदै छ ।
सहकारीबाट लिएको ऋणको ब्याज आफैँले चेक काटेर भुक्तानी दिएको अवस्था एकातिर छ भने अर्कोतिर गाडीको किस्ता पनि खुरुखुरु तिरिरहेको देखिएकाले सहकारी ठगीमा संलग्नता छैन भन्ने दाबी खण्डित भैहाल्यो । अनुसन्धानका दौरान खुल्दै आएका यी र यस्ता तथ्यले थप अनुसन्धानको माग गर्ने भएकाले यो प्रकरण लम्बिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
रविमाथि जिबी राई समूहले देशका मुख्य शहरमा खोलेका विभिन्न पाँच वटा सहकारी संस्थाको बचत अपचलन गरेको आरोप छ । संसदीय छानविन समितिले दिएको निश्कर्षका आधारमा शुरुमा पोखराको सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान शुरु भएकोमा त्यसपछि क्रमशः रूपन्देही, चितवन र काठमाडौँमा बयान लिइएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आरोपमा तीन दिन लामो बयान सकेर रविलाई चितवन पु¥याइएको छ । त्यहाँस्थित सहारा सहकारी पीडितले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको अवस्था छ । त्यसपछि वीरगञ्जको सानो पाइला सहकारी घोटाला अनुसन्धानका लागि पर्सा लगिने छ ।
तर, संगठित अपराधको कसूरमा अनुसन्धान अघि बढिरहँदा हदम्यादभित्रै सबैतिर बयान लिन सम्भव छ कि छैन ? भन्ने प्रश्न पनि छ । सम्पत्ति शुद्धीकरणसमेत जोडेर मुद्दा चलाउने तयारी भए पनि संगठित अपराधको अनुसन्धानका लागि प्रहरीले थुनामा लिने अनुमति पाएको हो । संगठित बढीमा ६० दिन हिरासतमा राख्न पाइन्छ । त्यसैले कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध पुस २ गतेभित्र मुद्दा अभियोजन गरिसक्नुपर्ने हुन्छ । यसकारण अब बयान हुन बाँकी ठाउँको एकैचोटी अदालतमा मुद्दा दर्ता गरिने सम्भावना पनि छ । यद्यपि, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चल्ने अवस्था आए प्रहरीले थप ३० दिन हिरासतमा राख्न पाउँछ ।
फेरि पनि प्रश्न उठ्छ त्यसो भए रवि यो प्रकरणमा कसिँदै गएका हुन्् ? उम्कने ठाउँ छ कि छैन ? उच्च प्रहरी स्रोत भन्छ– खै, त्यो त अभियोजन गर्ने निकायले के गर्छ हामीलाई थाहा हुँदैन । अनुसन्धानको पाटोमा चाहिँ कहीँ–कतै नचुक्ने गरी व्यावसायिक हिसाबले हाम्रा अफिसरहरू लागेका छन्् । एउटा काल्पनिक प्रश्न– यहीबीचमा जिबी राई नेपाल आए र सहकारी ठगीको सबै जिम्मा आफैँले लिए भने के हुन्छ ? बचतकर्ताको सबै बचत म फिर्ता गर्छु, यसमा रविको कुनै कमजोरी छैन भन्न जिबी आइपुगे भने के होला ? यो एउटा काल्पनिक सम्भावनाकै लागि पनि आवश्यक कानुनी प्रक्रिया त पूरा गर्नैपर्ने हुन्छ ।
टिप्पणीहरू