दुर्गा प्रसाईंलाई अब झन् ठूलो दुःख
आफ्नै छुद्र बोली र नचाहिँदो धमासका कारण मेडिकल व्यवसायी दुर्गा प्रसाईं नराम्ररी फसेका छन् । उनीविरुद्ध अनुसन्धानरत प्रहरी अधिकृतहरूका अनुसार अब सम्बद्ध कसुर (प्रेडिकेबल अफेन्स) मा कारबाही अघि बढ्दै छ । यो भनेको कुनै घटनाक्रमसँग जोडिएर आउने अर्को कसुर हो । त्यसैले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन आकर्षित हुने र सोही निकायले हेर्नुपर्ने विषय अब प्रहरीले नै उत्खनन गर्न लागेको छ ।
तिनै अधिकारी प्रष्ट पार्दै भन्छन्– ‘सम्पत्ति शुद्धीकरणको विषय हामीसँग सिधै आएको होइन । विगतमा यस्तै खालका केसहरू आउँदा लौन हेरिदिनु भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गथ्र्याे । अहिलेचाहिँ हामीले नै सम्बद्ध कसुरअन्तर्गत आफै अनुसन्धान गर्न लागेका छौं ।’
यसप्रकार प्रहरीले अनुसन्धान अगाडि बढाउँदा सम्पत्ति शुद्धीकरण विभागलाई कामको भार पर्दैन । हाल सहसचिव सुमन दाहाल नेतृत्वको उक्त विभागले अहिले यही विषयमा चाहिँ दुर्गा प्रसाईंको केसलाई हेर्ने अवस्था छैन । उनको समग्र सम्पत्ति र स्रोतमाथि शङ्का लागेमा चाहिँ उनीहरूले आफ्नै ढंगबाट अनुसन्धान गर्न सक्छन् ।’ सरकारी अनुसन्धानकर्ताहरूले ठगी, किर्ते र संगठित अपराध हेर्दै गर्दा सम्पत्ति शुद्धीकरणमा पनि जानुपर्ने ठहर्याएका हुन् । दुर्गा प्रसाईंको हकमा विदेशमा भाडाका मान्छे खटाएर त्यहाँबाट फोनमार्फत व्यवसायीहरूलाई थर्काउने, धम्काउने र पैसा असुल्ने धन्दा चलाएको पुष्टि भैसकेको छ ।
भारतमा कुख्यात अपराधीको रूपमा स्थापित लरेन्स बिस्नोई ग्रुपको मान्छे हुँ भन्दै धम्क्याएबापत पक्राउ गरेर ल्याइएको व्यक्तिलाई दुर्गा प्रसाईंले रु.५ लाख रूपैयाँ खर्च दिएर पारी पठाएको र यसमा पैसाको लेनदेन खुलेसँगै सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न आफूहरूलाई बाटो खुलेको प्रहरीको भनाइ छ ।
अनुसन्धान अधिकृतहरू भन्छन्– उनलाई पक्राउ गर्दाको साइबरसम्बन्धी कसुरमा मात्रै सम्पत्ति शुद्धीकरणको विषय जोड्न मिल्दैन थियो । तर जब चन्दा असुली गरेको आरोपलाई पुष्टि गर्ने प्रमाणहरू फेला पर्दै गए तब कम्बोडिया प्रकरणमा आफैले बोलेको सवा करोड खर्चेर ओलीविरोधी प्रमाण जुटाएको भन्ने कथन नै अहिले उनका लागि गल्पासो बन्दै गएको छ ।
प्रहरीले कहाँ, कसरी र कुन व्यक्तिलाई कुन माध्यमबाट पैसा पठाएर प्रमाण जुटाउनुभयो भन्ने प्रश्न सोध्दा दुर्गाले भनेका छन्– ‘त्यस्तो केही होइन हजुर, ह्वाट्सएपमा आएको चिर्कटोलाई नै मैले सामाजिक सञ्जालमार्फत भाइरल बनाएको हो । कहीँ कतै कसैलाई पैसा दिएको होइन । प्रमाण किनेको छैन । त्यो प्रमाण नै फेक हो । मैले लगाएको आरोप झुटा हो ।’
टिप्पणीहरू