शेरधनले राजेन्द्रसँग जुध्न तम्सिँदा

शेरधनले राजेन्द्रसँग जुध्न तम्सिँदा

कोशी प्रदेशको मुख्यमन्त्री हुँदासम्म शेरधन राईले भोजपुर नेकपा एमालेमा पकड गुमाइसकेका थिए । कार्यकर्ताको फोन नउठाउने, समस्या नबुझ्नेजस्ता समस्याका कारण उनीसँग जिल्लाका कार्यकर्ता रिसाएका थिए । त्यसकै परिणाम पुराना नेताको एउटा पंक्ति एकीकृत समाजवादीतिर लाग्यो । तत्कालीन नेकपाको विवादका क्रममा माधवकुमार नेपाल समूह हावी थियो । अहिले भने शेरधनले आफ्नो गुटमार्फत बल्ल जिल्लामा पकड जमाएका छन् । कुनै बेला सुनसरी–१ मा झर्ने गरी छलफल चलाएका उनी २०८४ को चुनाव भोजपुरबाटै लड्ने योजनाअनुसार जिल्लामा गुटलाई जिताउन सफल भएका छन् । 

वैशाखको अधिवेशनबाट तत्कालीन माधव नेपालनिकट शरण राई र आफ्नो वर्गशत्रुसरहका कृपाशुर शेर्पालाई पाखा लगाएर शेरधनले मकर खड्कालाई अध्यक्ष बनाउन सफल भएका छन् । उता आफूजस्तै ड्रेसअप गरेर हिँड्ने किरण राईलाई पनि उपाध्यक्ष बनाए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीको राम्रो छत्रछायाँ पाएका उनी कोशी प्रदेश इञ्चार्ज बनेदेखि सबै जिल्लामा पकड बनाउँदै गुट स्थापित गर्न लागिपरेका छन् । गुटगत राजनीतिलाई मलजल गर्ने उनै शेरधनको कोसिस छिमेकी जिल्ला धनकुटामा भने भाँडभैलो भएको छ । 

अहिले शेरधनले आफ्नो गुट स्थापित गराउन बल गरेको धनकुटा त्यही हो, जहाँ २०७४ को स्थानीय तह, प्रदेश र संघीय निर्वाचन राजेन्द्र राईको नेतृत्वमा एमालेले क्लिन स्वीप गरेको थियो । पछिल्लो पटक २०७९ वैशाखको निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि एमालेले बहुमत स्थानीय तह जितेर जिल्ला समन्वय समिति एकल बनाउन सफल भएको थियो । 

२०७९ मा संघको एउटा र प्रदेशका दुवै सिट राजेन्द्रकै नेतृत्वमा एमालेले क्लिन स्वीप गराएको हो । प्रदेश ‘क’ मा निरन राई र ‘ख’मा इन्द्रमणि पराजुली विजयी भएका थिए । २०७४ मा क्लिन स्वीप गर्दा पनि उनीहरूले जित निकालेकै हुन् । त्यसो त धनकुटाको विवाद नयाँ भने होइन । शेरधन इञ्चार्ज भएर गुट स्थापित गर्नुअघिबाटै विवादको श्रृंखला जोडिएको थियो । लामो समयदेखि एमालेभित्र देखिएको दुई लाइन संघर्ष अहिले केन्द्रमा एकै गुटमा रहेका दुई नेताबीच देखिएको छ । 

धनकुटामा दुई लाइन संघर्षको कथा बुझ्न २०५० सालतिर फर्किनुपर्ने हुन्छ । २०५० सालतिरै एमाले धनकुटामा गोपाल गुरागाईं, टीकाराम चेम्जोङ, इन्द्रमणि पराजुली, दीपक बुढाथोकी, चन्द्र बस्नेतलगायतको समूह थियो । अर्कातिर दुर्गा लिंखा र धर्मराज पौडेल थिए । त्यस्तै राजेन्द्र राई, वर्तमान जिल्ला अध्यक्ष शिव आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, जिल्ला समन्वय समितिका पूर्वप्रमुख टंक चौहान र भीम राईसहितको तेस्रो समूह थियो । यो समूह रकम चेम्जोङको नेतृत्वमा २०५४ तिर मालेमा लाग्यो । तर २०५८ मा एकीकरणपछि एमालेमा फर्कियो ।

तत्कालीन अवस्थामा धर्म पौडेल र दुर्गा लिंखाको समूह मिलेर गोपाल गुरागाईं नेतृत्वको समूहसँग दुई लाइन संघर्ष थालेको थियो । माओवादीको प्रभाव बढेदेखि २०६३÷०६४ सम्म एमालेको अवस्था धनकुटामा खस्कियो । त्यसबेला टीकाराम चेम्जोङले जिल्ला सचिवका रुपमा नेतृत्व गरेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा दुवै क्षेत्रबाट एमाले नराम्ररी पराजित भयो । त्यसबेला एमालेलाई हराएपछि जिल्लामा माओवादीहरूको दबदबा बढ्यो । त्यही बेला एमाले र माओवादीबीच पटक पटक झडपसमेत हुने गरेको थियो । अवस्था यतिसम्म भयो कि प्रशासनले कफ्र्यू नै लगाउनुपरेको थियो ।

नेता–कार्यकर्ता निराश भएका बेला माओवादीसँग भिड्ने कामको नेतृत्व राजेन्द्र राईले गरे । त्यसैको बलमा उनले २०६७ मा एमाले धनकुटा जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष जित्न सफल भए । यससँगै १३ वर्ष पार्टी सचिव रहेका चेम्जोङलाई पाखा लगाए । त्यसयता उनकै नेतृत्वमा धनकुटामा एमालेले उचाइ लिएको कार्यकर्ताहरू बताउँछन् । २०७० को संविधानसभा दोस्रो निर्वाचनमा गोपाल गुरागाईं, इन्द्रमणि पराजुली र दीपक बुढाथोकीको अन्तर्घातका कारण राजेन्द्र राप्रपाका तत्कालीन उम्मेदवार सुनीलबहादुर थापासँग ४५७ मतले पराजित भए । त्यसबेला दीपक बुढाथोकीको चानुवा र इन्द्रमणि पराजुलीको मारेकटहरेबाट करिब ६५० भोट खाली र पछाडिबाट सूर्य चिह्नमा छाप हालिएको थियो । जसकारण हारेका राजेन्द्र फेरि २०७२ को जिल्ला अधिवेशनबाट नेतृत्वमा आए । र, उसबेला माओवादीसँग भिडेका राजेन्द्रको यही नेतृत्वले २०७४ मा जिल्ला क्लिन स्वीप तथा २०७९ मा बहुमत स्थानीय तह र संघ–प्रदेशका सांसद जितायो । 

२०७४ देखि केपी शर्मा ओलीको भित्रिया बन्न पुगेका राजेन्द्र राई पार्टी विभाजनपछि केन्द्रीय सदस्य बने । धनुकटा जिल्ला अध्यक्षका रुपमा गत जेठको अधिवेशनमा उनैले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको निर्देशनअनुसार इन्द्रमणि पराजुलीलाई नयाँ अध्यक्ष घोषणा गरे । तर आफ्नै गुटबाट अध्यक्षका आकांक्षी निरन राईको पक्षमा हलबाट समर्थन आइरहेको अवस्थामा राजेन्द्रले पार्टी निर्माण गर्ने अभियान भन्दै विपक्षी इन्द्रमणिलाई अध्यक्ष घोषणा गरेका थिए । राजेन्द्रले प्रतिनिधिहरूको भावनाविपरीत जबरजस्ती अध्यक्ष घोषणा गरे पनि पराजुलीले उनलाई कहिल्यै साथ दिएनन् । जसको परिणाम २०८१ जेठको जिल्ला अधिवेशनमा देखियो । राजेन्द्रले आफूअनुकुल नेतृत्व निर्माण गर्ने भनेर शिव आङ्ला लिम्बूलाई अध्यक्षमा उठाए । यसका विरुद्ध वर्तमान कोशी प्रदेश इञ्चार्ज शेरधन राईको जोडबलमा इन्द्रमणि, गोपाल गुरागाईं र केन्द्रीय सदस्य शकुन्तल बस्नेतसहितले निरेन तामाङलाई उम्मेदवार बनाए । दुई समूहबीच प्रतिस्पर्धा हुँदा पनि राजेन्द्रले क्लिन स्वीप गराए । 

जिल्ला कमिटी बनेकै दिनदेखि पराजित हुने टीमले असहयोग थाल्यो, त्यसलाई पछाडिबाट मलजल गर्ने काम थियो शेरधनको । त्यसपछि नवनिर्वाचित जिल्ला कमिटीविरुद्ध प्रदेश कमिटी र केन्द्रीय कमिटीमा उजुरीको चाङ लगाइयो । जिल्ला कमिटीविरुद्ध पराजित भएको समूहले काठमाडौं पुगेरै अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकहाँ उजुरी पु¥यायो । त्यसपछि बधाई लिन गएका राजेन्द्रको समूहलाई नेताहरूले रुवाउन होइन, मिलाएर लैजान निर्देशन दिए । 

यसबीच असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री भए । त्यसबेला मन्त्री हुने अन्तिम सूचीमा राजेन्द्रको समेत नाम थियो । तर जेठको जिल्ला अधिवेशनकै कारण राजेन्द्रलाई संघीय सरकारको मन्त्री हुने सूचीबाट हटाउन शेरधन राईले पूर्वराष्ट्रपति र बालकोटमा कुरा पु¥याएको चर्चा अहिले पनि धनकुटा एमाले बृत्तमा जारी छ । अधिवेशनकै बेला राजेन्द्रको मन्त्री पदको चाहना तुहाउने चर्चा जिल्लामा चलेको थियो । असार ३० मा अन्तिमसम मन्त्रीको सूचीमा रहेका राजेन्द्रको नाम शेरधनसँगको टकरावकै कारण काटियो । उनले तयार गरिसकेको दौरासुरुवाल लगाएर शीतल निवास जान पाएनन् । 

यसबीच शेरधनले प्रदेश कमिटीको नाममा पराजितहरूलाई पनि समेट्न अध्यक्ष घनश्याम खतिवडामार्फत् दबाब दिए । तर, यो निर्देशन आंशिक पनि कार्यान्वयन भएन । पार्टी विधानअनुसार जिल्ला कमिटीको अधिकार प्रयोग गर्दै विभिन्न पालिका कमिटी गठन, पुनर्गठन अघि बढाइयो । पार्टीका विभिन्न अभियान शुरु भए । यी अभियानमा पराजित समूहलाई राजेन्द्रकै सल्लाहअनुसार जिल्ला कमिटीले सुइँकोसमेत दिएन । पराजित प्यानलले धनकुटामा मुख्य जिम्मेवारी पाएन । यही कारण एमाले जिल्ला र प्रदेश कमिटीबीच किचलो शुरु भएको छ । प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा छन् । तर इन्चार्ज शेरधन राईको निर्देशनमा जिल्ला कमिटीले स्वीकृत गरेका पार्टी सदस्य र पुनर्गठित कमिटी अवैधानिक भएको भन्दै छानबिन गर्न प्रदेश कमिटी सचिव राजकुमार भण्डारीको नेतृत्वमा टोली नै बनाइएको छ । 

स्थायी कमिटी सदस्यसमेत रहेका शेरधनले जिल्ला अधिवेशनमा हस्तक्षेप गरेर अलग्गै गुट खडा गरे पनि अहिले धनकुटाको पालिकामासमेत राजेन्द्रले पकड कायमै राखेका छन् । राजेन्द्रले धनकुटामा राजेन्द्रले बनाएको एमाले संगठनभित्र गुटसहित शेरधन छिरेदेखि जारी किचलो अझैसम्म थामिएको छैन । जिल्ला कमिटीले विधानबमोजिम स्वीकृृत गरेका पार्टी सदस्य र पुनर्गठित कमिटीमाथि शेरधनले घनश्याममार्फत् छानबिनको तरबार तेस्र्र्याएपछि राजेन्द्रसँको दूरी झन् बढेको छ । केन्द्र अध्यक्ष ओलीपक्षीय दुवै नेताको विवादको बाछिटा अन्य जिल्लामा पनि देखिन थालेको छ । 
 

टिप्पणीहरू