रसुवा र कैलालीमा डेढ करोडको अवैध सुनसहित विदेशी मुद्रा

रसुवा र कैलालीमा डेढ करोडको अवैध सुनसहित विदेशी मुद्रा
सुन्नुहोस्

चीनबाट नेपाल आउँदै गरेका एक जना नेपाली अवैध सुनसहित पक्राउ परेका छन् । बिहान १० बजेको समयमा रसुवागढीबाट नेपाल छिर्दै गरेका मिङ्मर छिरिङ तामाङको साथबाट २४८.०४ ग्राम सुन बरामद भएको जनाइएको छ। 

गोसाईंकुण्ड गाउँपालिका १ का ४१ वर्षे मिङ्मारलाई रसुवागढीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणको सुन फेला परेको हो । ३४ लाख ४८ हजार बराबरको उक्त सुनसहित मिङ्मारलाई आवश्यक कारबाहीको निम्ति भन्सार कार्यालयमा बुझाइएको छ।

उता, कैलालीको भजनीमा भारतबाट नेपाल आउँदै गरेका तीन जनाको साथबाट एक करोडभन्दा बढीका सुन र चाँदीका गहनासहित भारतीय रुपैयाँ बरामद भएको छ।

हिजो दिउँसो भजनी ५, कौवाखेडा सीमा इलाकामा गुलरियाघाटस्थित गुल्मबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको पाँच जनाको मोटरसाइकल गस्ती टोलीले तीन जनाको साथबाट अवैध ६२० ग्राम सुनका गहना, ८ केजी ९१४ ग्राम चाँदीका गहना र केही भारतीय रुपैयाँ फेला पारेको बताइन्छ ।
 

टिप्पणीहरू