रवि लामिछाने त्रिभुवन विमानस्थलमा, आजै वीरगञ्ज पुर्याइने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई वीरगञ्ज लैजान काठमाडौँ ल्याइएको हो । बुद्ध एयरको बिएचए-६०४ उडानमा दिउँसो पौने १ बजे लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ ।
अहिले विमानस्थलको सुरक्षा चेकमा रहेको प्रहरी विश्राम कक्षमा राखिएका उनलाई साढे २ बजेको उडानमा सिमरा हुँदै वीरगञ्ज पठाइने प्रहरीले जनाएको छ ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि विभिन्न सहकारी संस्थाको बचत अपचलनमा प्रहरीले अनुसन्धान गरिरहेको छ । वीरगञ्जस्थित सानोपाइला सहकारी ठगीमा उनीविरुद्ध केही दिनअघि पक्राउ पूर्जी जारी भएको थियो ।
टिप्पणीहरू