जन्ममिति सच्चाएका बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । झुटो विवरण पेश गरी राष्ट्रसेवक पदको दुरुपयोग गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
सिलवालले नागरिकतामा पटक पटक जन्ममिति संशोधन गरी राहदानीमा समेत जालझेल गरेको, प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्ष उमेर हदबाट अवकाश हुनुपर्नेमा ६६ वर्षमा प्रवेश गर्दासमेत राष्ट्रसेवकको लाभ, सुविधा र अधिकार प्रयोग गरिरहेको अख्तियारको आरोप छ ।
अख्तियारका अनुसार सिलवालले जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी मिति २०३२–११–२४ गतेको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ । तर, ०६६–०१–१७ गते काठमाडौंबाट जारी नागरिकताको प्रतिलिपिमा जन्ममिति २०१६–०७–२२ गते उल्लेख छ ।
यता, त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्ट, सिलवाल स्वयमले भरेको नोकरी तथा वैयक्तिक विवरणमा भने जन्ममिति २०१५–०४–१५ गते उल्लेख छ । उक्त जन्ममितिको आधारमा २०४३–०४–०१ गते उनी निजामती सेवामा नियुक्त भएकोमा ०७३–०४–१५ गते अनिवार्य अवकाशमा गएका हुन् ।
तर, उनले कुटनीतिक राहदानी, विशेष राहदानीको फाराममा आफ्नो वास्तविक जन्ममितिभन्दा तीन वर्ष उमेर घटाएर झुट्टा विवरण पेश गरी राष्ट्रसेवकको रुपमा राहदानीहरु प्रयोग गरी लाभ, सुविधा लिएको अख्तियारको ठहर छ ।
सिलवालले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति पाउन आफ्नो जन्ममिति २०१५–०४–१५ गते भएको थाहा हुँदाहुदैँ २०१६–०७–२२ गते भनी झुट्टा नागरिकता प्रमाणपत्रलगायत कागजात पेश गरेको पनि अख्तियारले दाबी गरेको छ ।
दर्ता भएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र कसुरजन्य सम्पत्ति तथा साधन ऐन, २०७० बमोजिम सिलवालले ०८०–०४–१५ गतेदेखि हालसम्म लिएको लाभ सुविधा ३६ लाख ६२ हजार १५२ रुपैयाँ असुल उपर गर्न मागदाबी गरिएको छ ।
टिप्पणीहरू