कहाँको मन्दिर, कताको मनोरञ्जनस्थल
गाउँपालिकातिर विकासका नाममा डोजर अपरेटरहरूलाई सिभिल इञ्जिनियर बनाई डाँडापाखा जताततै बाटो खोतल्न थालियो । फलस्वरूप बाढी–पहिरोले गाउँ आक्रान्त छ । मास्तिर जथाभावी बाटो खनेकै कारण चितवनको सिमलताल अझैसम्म दुईवटा बस, ४८ नागरिक र उद्धारमा प्रयोग गरिएको चुम्बक हराउने गरी दर्दनाक दुर्घटना भयो ।
रामेछापलगायत जिल्लामा डोजर आतंक मच्चाउँदै खनिएका कतिपय बाटोघाटोमा सडक दुर्घटना बढ्दो छ । सयौंले ज्यान गुमाएका छन् । वडाध्यक्ष र सदस्य अनि मेयर र अध्यक्षहरूको डोजरले नाफा कमाउँदा सामान्य जनताको ज्यान भने धरापमा परेको छ । चितवनको सौराहा र कास्कीको पोखरा आकर्षक पर्यटकीय क्षेत्र हुन् । यस्ता स्थलमा बाटोघाटोको विकल्पमा केबलकारहरू सुहाउँछ । पहाडी भेग जहाँ पर्यटकको घुइँचो लाग्छ, त्यता यस्ता संरचनाको महत्व र अर्थ पनि हुन्छ । जस्तै : भारतको काश्मिर र स्विट्जरल्याण्डमा पनि यस्ता संरचनाले फाइदा पुगेको छ । तर नेपालका डाँडाकाँडा जो आफैँमा अनुपम प्राकृतिक भ्युटावर हो, त्यसैमा अर्को कंक्रिटको भ्युटावर थप्ने लहर रोकिएको छैन र कतै डाँडाकाँडा देख्नु हुँदैन केवलकार बनाउन थालिहालिन्छ ।
लाग्छ, योजनाकारहरूले मन्दिर र मनोरञ्जनस्थलबीच भेद छुट्याउन सकिरहेका छैनन् । आस्थाको केन्द्रमा त भक्तहरू जसरीतसरी पुग्छन् । उदाहरणको रूपमा भारतको चारधाम जानेहरू पिठ्युँमा बोकाएर, घोडा चढेर वा सुस्ताउँदै सुस्ताउँदै पनि जान्छन् । नेपालकै कतिपय धार्मिक स्थलमा शारीरिक दुःख कष्ट भोगेरै भए पनि श्रद्धालुहरू पुग्ने गरेकै छन् । चन्द्रागिरीमा जतिबेला मन्दिर थिएन, त्यसबेलासम्म पर्यटक जाँदैनथे । पाथीभरा (मुक्मुलुङ) मा अहिले पनि दिनकै हजार÷पन्ध्रसय मान्छे गोरेटो र घोडेटो मात्रै भए पनि जान्छन् । किनभने त्यो धार्मिक पर्यटनसँग भन्दा बढी आस्थासँग जोडिएको स्थल हो । तसर्थ यस्ता स्थलको प्राकृतिक सौन्दर्य र वैभवताको संरक्षण गर्नुको साँटो भौतिक विकासका नाममा केबलकारको लर्को थप्न थाल्नु दुर्भाग्यपूर्ण कदम हो । पाथीभरामा केबलकार नभए पनि लाखौं तीर्थयात्री श्रद्धाका साथ जान्छन् । तर, धार्मिक आस्थालाई व्यापारसँग जोडेर एक–दुई धनाढ्यलाई पोस्ने र हजारौं गरिब नेपालीको रोजीरोटी खोस्ने काम हुन थालेको छ ।
थाहा छ, पहिला–पहिला केबलकार नभएको बेला आँबुखैरेनीको बाटो मनकामनामा उखुको लाथ्रा टेक्दै र टोक्दै उकालिँदाको अनुभव अचेलको केबलकारले दिँदैन र त्यस्तो अनुभूति गर्न नपाएको यात्रु केबलकारमै चढेको कथामा सीमित हुन पुग्छ । मनकामना जाँदा बाटोमा सुस्ताउँदै एकअर्कासँग घनिष्ठता बढाउँदै जानुको मर्म मुनाफाखोरहरुलाई के थाहा ? जान्थे । बाटोघाटोमा गाउँका दूध, दही, मोही, सुन्तला र केरा बेच्दै जीविकोपार्जन गर्नेको पीडाबारे सत्तामा बस्नेहरुलाई के मतलब ? त्यो बाटो हिँड्ने हजारौं धार्मिक श्रद्धालुका कारण वरपरका घरगाउँले खुशी थिए । यात्रु पनि रोमाञ्चित हुन्थे । पूर्व–पश्चिम सबैतिरका नेपाली एकापसमा भेट्थे, धेरै कुरा साँटासाँट गर्थे, एकअर्काका संस्कृति र संस्कार सिक्थे । तर, अहिले त्यो बाटोको अस्तित्व नै हराएको छ । त्यसैगरी व्यापारीको नाफा–नोक्सानले नेपालका धेरै तीर्थस्थललाई उनीहरूकै पेवा बनाउन थालेको देखिन्छ । गैंडाकोटबाट मौलाकालिका पुग्न २५–३० मीनेट मात्रै लाग्छ तर त्यहाँ पनि केबलकारका नाममा व्यापार शुरु भएको छ । चितवनको देवघाटलाई पनि अब यसले लपेट्दैछ ।
पैसा छ भन्दैमा जे पायो त्यही गर्न दिने त होइन । दुईचार कदम हिँड्दा स्वास्थ्यलाई पनि फाइदै हुने हो । तर हाम्रा नीतिनिर्माता व्यापारीको जालमा यसरी फसे कि डाँडा देख्नै हुन्न, भ्यूटावरसँगै केबलकार ठड्याउने तरखर शुरु भइहाल्छ । बुटवलको तिनाउपारि गाउँडाँडा र वारि वसन्तपुर डाँडामा समेत केवलकारले आफ्नो भद्दा उपस्थिति जनाएको छ । पाथीभरा, मनकामना वर्तमानमा थापिएका होइनन्, बरु नेपाली इतिहास र संस्कृतिसँग उहिलेदेखि नै जोडिएका पवित्र स्थल हुन् । त्यस्तो स्थल जति नै अनकण्टार भए पनि सबैका निधि मानिन्छन् ।
त्यहाँ जान कुनै भौतिक संरचनाको आवश्यकता पर्दैन । यी ठाउँले एकलाई नभएर सयौंलाई रोजगारी दिएको छ । प्राकृतिक विनाश र विपत्तिबाट जोगाएको छ । कार्बन उत्सर्जन कम गर्न योगदान पुर्याएको छ । यात्रुका लागि अनेकन कथाकुथुुङ्ग्री रचना गर्ने अवसर दिएको छ तर अहिले त्यस्ता सम्पदालाई केही व्यापारीको निजी सम्पत्तिझैं व्यापार प्रवद्र्धन गर्ने माध्यमको रूपमा लिन थालिएको छ । यो दुःखद विषय हो । केबलकार नचल्दैमा पाथीभरामा धार्मिक श्रद्धालु जाँदैनन् भन्ने होइन र तिनलाई त्यहाँ जानबाट कसैले र कुनै पनि प्रकारको भौतिक असुविधाले रोकेको छैन । भारतका कतिपय स्थलमा केबलकार लैजान नसकिने हो र ? अन्य भौतिक संरचना बनाउन नमिल्ने हो र ? तर त्यहाँ पर्यावरणीय विषय उठ्छ, वातावरणीय विषयले प्राथमिकता पाउँछ । धार्मिक आस्था र मिथकहरूलगायत अनेकन विषय निस्कन्छन् । व्यापारभन्दा पहिले स्थानीयको रोजीरोटीले प्राथमिकता पाउँछ ।
प्रधानमन्त्री चन्द्रागिरीको डाँडामा एकरात बिताउँछन् र त्यहींबाट सिडिओलाई फोन हानेको भोलिपल्टै पर्यटक प्रहरी बस्न बिट बनाउने बहानामा चन्द्रागिरी डाँडा जाने केबलकारको उद्घाटन हुन्छ । हाम्रो विकासको मोडेल के ? आवश्यकता के ? अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा डाँडामा बनेका भ्युटावरमा चरोमुसो कोही पुग्दैनन् । धेरैजसो टावर झाडीले पुरिएको छ । लगानीको तुलनामा प्रतिफल हजारौँ गुणा ऋणात्मक छ । दमकमा बनेको टावर पनि बेकामे भएको छ । त्यसलाई जेलको रूपमा रूपान्तर गर्नुपर्छ भन्ने दुर्गा प्रसाईंहरूको माग छ । यस्ता मागले दिने नकारात्मक सन्देशबाट पनि हाम्रो विकासे मोडल अस्पष्ट रहेको देखाउँछ । पर्यावरण मासेर गरिने र जनताको रोजीरोटी खोसेर बढाइने विकासले कालान्तरमा सबैका लागि गम्भीर संकट लिएर आउनेछ । केबलकारजस्ता गतिविधिले एकाध व्यक्ति झन् धनी होलान् तर समग्रमा यसले राष्ट्रको ढुकुटीमा, रोजगारी सिर्जना गर्ने कार्यमा कुनै योगदान पुग्दैन । यसबारे सबैले सचेत हुन आवश्यक छ ।
टिप्पणीहरू