'रिल'मा बहिनी रियलमा प्रेमिका

अए कान्छा,
हाय रे दैया, हाय रे मेरा
साजन वो कहलाए
देखते सब रह जाएँ वो मेरा
हो रे घुँघरू का बोले,
ऐसा हो वो एैसा हो मेरा घुँगटा जो खोले
अरे कोरा–कोरा,
गोरा–गोरा, बाँका–छोरा, सैयाँ मोरा
हो रे घुँघरू का बोले ।
अधिकांश छायांकन नेपालमै गरिएको हिन्दी चलचित्र‘हरे रामा हरे कृष्णा’ को उक्त गीतको छायांकनको तयारी भइरहेको थियो, भक्तपुरमा । त्यसबेला त्यहाँ एउटा सानो समूहले भारतविरोधी नारा लगाए । तर, चलचित्रका निर्देशक र अभिनेता देव आनन्दले विरोधको परवाह नगरी सुटिङ शुरु गरे । ‘हो रे घुँघरू का बोले’ को गीतमा नृत्य गर्न जब अभिनेत्री मुमताज ऐतिहासिक देवल न्यातापोलअगाडिको चोकमा देखा परिन् सबै दर्शकले उनको स्वागतार्थ ताली बजाए । त्यसपछि अन्य कलाकार देव आनन्द, प्रेम चोपडा, राजेन्द्रनाथ पनि देखा परे । मुमताजसँगै समूहमा नृत्य गर्ने प्रायः सबै नेपाली नृत्यांगना थिए, नेपाली पहिरनमै ।
उक्त गीतको सुटिङ हेर्न त्यहाँ ठूलो समूहमा नेपाली दर्शक एकत्रित भएका थिए । त्यो एउटा गीतको सुटिङ सकाउन ३ दिन लागेको थियो । तीनै दिन दर्शकको भीडले सुटिङस्थल खचाखच भरिएको थियो । सुटिङ चलिराखेकै बेला देव आनन्दले एक जना युवक एकातिर उभिएर ध्यान दिएर सुटिङ हेर्दै गरेको देखे । एक जना मानिस उनको नजिक गएर ती युवक नेपालका अधिराजकुमार ज्ञानेद्र भएको बताए । उनी ज्ञानेद्र उभिएको ठाउँमा पुगे र क्यामेरा राखिएकै ठाउँमा बसेर नजिकबाट सुटिङ हेर्न आग्रह गरे तर ज्ञानेन्द्रले सुटिङलाई अवरोध हुने कुनै काम गर्न नचाहेको भन्दै त्यहीँ बसेर हेर्ने जानकारी दिए ।
त्यो दिन देवले चाँडै सुटिङ सकाए किनभने उनलाई हिलेकप्टर चढी अर्को लोकेशन हेर्न जानु थियो । उनी लोकेशन हेरी होटल फर्कंदा पटकथाको पाण्डुलिपि हराएको चाल पाए । सबैतिर खोज्दा पनि नपाएपछि उनलाई हेक्का भयो कि लोकेसन हेर्न गएको डाँडामै छुटेछ । साँझ परिसकेको थियो, पाण्डुलिपि हावाले उडायो भने सबै सुटिङ रद्द गर्नुपर्ने स्थिति आउँथ्यो । निकै तनावमा परे । उनी चढेको हेलिकप्टर युनिसेफको थियो, फेरि तुरन्तै जान सम्पर्क गर्दा पाइलट कता हिँडिसकेको खबर पाए । यसैबीच आफ्नो चलचित्रको सुटिङ हेर्न आएका अधिराजकुमार ज्ञानेद्रलाई सम्झे । उनले हेलिकप्टरका लागि अनुरोध गरे । तुरुन्तै हेलिकप्टर उपलब्ध गराइयो र देव पुनः दिउँसो पुगेको डाँडा पुगे । अँध्यारो भइसकेको थियो, उनले चारैतिर खोज्न थाले । धन्न, पाण्डुलिपि ढुंगाले थिचिएकाले हावाले उडाउन पाएको रहेनछ । देवले आफ्नो आत्मवृत्तान्त पुस्तक ‘रोमान्सिङ विथ लाइफ’मा उक्त घटनालाई रोचक तरिकाले प्रस्तुत गरेका छन्, साथै राजपरिवारलाई धन्यवाद दिएका छन् ।
‘हरे रामा हरे कृष्णा’चलचित्रमा अथवा रिल लाइफमा देवको भूमिका जिनत अमानको दाजुको थियो तर रियल लाइफमा देवले उनै ‘बहिनी’ जिनतलाई प्रेम गर्न पुगे । जिनतलाई हिन्दी चलचित्र जगतमा आफैँले ल्याएको दाबी गर्थे, उनी । किनभने जिनतको पहिलो फिल्म थियो – दी एभिल विथइन् । इन्डो फिलिपिनो यो चलचित्रका नायक पनि देव नै थिए भने हरे रामा हरे कृष्णा जिनतको तेस्रो फिल्म थियो र यसै चलचित्रबाट जिनतको भाग्य चम्कन पुगेको थियो । उमेरमा दुई जनाबीच २८ वर्षको फरक थियो । देवले जिनतलाई मन पराएकै कारण लगातार ८ वटा चलचित्रमा सँगै खेलाए र खेले । ‘देव हरे रामा हरे कृष्णा’को सुटिङकै दौरान जिनतसँग प्रेम गर्न थालेको बताउँछन् जतिखेर देवको उमेर ४७ पुगिसकेको थियो भने जिनत भर्खर १९ वर्षकी थिइन् ।
देवको पहिलो प्रेम थिइन् – सुरैया । सुरैया त्यो हिरोइन् हुन्, भारतका पुराना नेता तथा प्रधानमन्त्रीद्वय जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, प्रथम राष्ट्रपति राजेन्द्रप्रसादलगायत सबै उनैका दिवाना थिए । सन् १९४८ मा रिलिज भएको चलचित्र ‘विद्या’को सुटिङ दौरान देव र सुरैयाको भेट भएको थियो । त्यो समयमा सुरैया नाउँ चलेको नायिका बनिसकेकी थिइन् भने देव नयाँ । उमेरमा भने देव नै ६ वर्षले जेठो थिए । विद्या सुरैयाको २५ औँ चलचित्र थियो भने देवको चौथो । उनीहरू एकार्कालाई प्रेम गर्न थाले । लगातार ७ वटा चलचित्रमा सँगै खेलेपछि प्रेम झन् गहिरिन पुग्यो । तर, धर्म पर्खाल बन्यो, सुरैयाको मामाघरतर्फकी बज्यै बादशाह बेगमको कारण दुबैको बिहे असम्भव बन्यो । बेगमले देवकै कारण हिन्दू मुस्लिम दंगा हुन सक्ने र त्यसमा देवको ज्यानसमेत जान सक्ने भनेपछि प्रेमीको ज्यान जान सक्ने धम्कीबाट सुरैया डराइन् र पछि हटिन् । देवले सुरैयालाई हिराजडित औंठी उपहार दिइसकेका थिए, बादशाह बेगमले उक्त औंठी पनि समुद्रमा फ्याँकिदिइन् । केहीसीप नलागेपछि देवका साथीहरू मिलेर दुबैलाई भगाउने योजना बनाए तर सुरैयाले यो कुरा पनि मानिनन् । सुरैयाकी आमा मुमताज देवलाई मन पराउँथिइन्, त्यसैले गोप्यतवरमा छोरी र देवको भेट्घाटको चाँजोपाँजो मिलाइदिइन् । उक्त भेटमा देवले कोर्टम्यारिज गर्ने प्रस्ताव राखे तर सुरैया मौन बसिदिइन् । त्यसपछि देव ‘तिमी कातर रहेछयौ’ भन्दै घर फर्के । यो नै उनीहरूको अन्तिम भेट थियो ।
स्मरणीय छ, पहिलो प्रेम असफल भएपछि उनले पछि कोहीसँग प्रेम गरिनन् न बिहे नै गरिन् । ७४ वर्षको उमेरमा सन् २००४ मा भइसकेको छ । उनले पछि सन् १९७२ मा स्टारडस्ट पत्रिकालाई दिएको अन्तर्वार्तामा परिवारसित लड्न नसकेकोमा पछुतो गरेकी छन् । उता, देवले पनि आफू सुरैयाबाहेक जीवनमा कसैलाई सम्झिइ नरोएको बताएका थिए । देव र सुरैयाको प्रेमकथा जनआस्थाको वर्ष २२ अंक २३, २०७३ असोज ५ गते ‘यो पढेर मन रुन्छ कि तपाईंको ?’ शीर्षकमा प्रकाशित भइसकेको छ । देवले पछि सन् १९५४ मा अभिनेत्री कल्पना कात्तिकसँग प्रेम र बिबाह गरे । कल्पना र देवले ५ वटा चलचित्रमा सँगै काम गरेका छन् । उनीहरूले चलचित्र ‘टैक्सी ड्राइवर’को सुटिङकै दौरान बिहे गरे, सुटिङ हुँदै गर्दाको लञ्च टाइममा भागेर । कल्पना देवका निर्माता, निर्देशक दाजु चेतन आनन्दको खोज थिइन् । पछि उनीहरू छोरा सुनिल र छोरी देविनाका आमाबुबा बने । सन् १९७० मा आइपुग्दानपुग्दै देव र कल्पनाको सम्बन्धमा चिसोपन आइसकेको थियो । देव अक्सर एकान्तप्रिय बन्न थालेका थिए । यसबीच जिनतसित उनको भेट भयो र प्रेम गर्न पुगे । देवको भनाइ अनुसार सुरैया पछि जिनत नै हुन् जसलाई उनले औधी प्रेम गर्न थालेका थिए । उनी प्रेमप्रस्तावको लागि अवसरको खोजीमा थिए ।
देव जिनतलाई ताज होटलमा लगेर डिनर ख्वाउने र सोही अवसरमा प्रेम प्रस्ताव राख्न चाहन्थे । त्यहाँ उनीहरू बेलाबखत डिनर खान जान्थे । त्यो दिन ताजमा जानु अगाडि दुबै अर्को कार्यक्रममा जानुपर्ने थियो । उनीहरू जब कार्यक्रममा पुगे त्यहाँ राजकपूरले उनीहरूको स्वागत गरे । जिनतले झुकेर राजकपूरको खुट्टा ढोगे । राजकपूरले मादक पदार्थ सेवन गरिसकेका थिए र उनले जिनतलाई सधैँ सेतो सारी लगाउन भनेको नमानेकोमा हल्का रिस पोखे । उनले जिनतलाई अँगालो हाले र जिनतले पनि राजकपूरलाई । राजकपूरले म्वाइँ खाइदिए । यो दृश्य देवले हेर्नै सकेनन् । उनले जिनत र राजकपूरबीच सम्बन्ध विकसित भइसकेको र जिनत पहिलाको जिनत नभइसकेको निष्कर्ष निकाल्दै ‘ल रमाइलो गर’ भन्दै त्यहाँबाट निस्के । जिनतले आफूहरूको प्लानबारे सोधिन् पनि तर देवले कुनै जवाफ फर्काएनन् । देवले जिनतको व्यवहारले आफूलाई निकै आघात पुर्याएको बताएका छन् । जिनतप्रतिको आफ्नो आकर्षण र प्रेमबारे पनि उनले पुस्तकमा सविस्तार लेखेका छन् ।
तर, देवको प्रेम एकतर्फी भएको जिनतको भनाइ छ । उनी भन्छिन्, ‘दिलिपकुमार, राजकपूर र देव आनन्दलाई म फिल्मी क्षेत्रका हस्ती मान्छु, देवलाई त अझ म गुरु र पथप्रदर्शक मान्छु । उनले मसँग प्रेम गरेको र बिहे गर्न चाहेको कुरो सार्वजनिक गर्दा म लज्जित बन्न पुगेँ । म राजकपूरसित पनि काम गर्न चाहन्थे र राजसाहबको फिल्म ‘सत्यम शिवम् सुन्दरम्’मा काम पाउनु मेरो लागि गर्वको विषय थियो, मेरो र राजसाहबबीच त्यस्तो कुनै सम्बन्ध थिएन । जिनतले पछि अभिनेता सञ्जय खानसँग सुटुक्क बिहे गरिन् । सञ्जय विवाहित थिए । तर, ताज होटलमा भएको एउटा कार्यक्रममा सबैको अगाडि नै सञ्जयले जिनतमाथि हातपात गरेपछि उनीहरू छुट्टिए र पछि अर्का अभिनेता मजहर खानसँग बिहे गरिन् । दुई सन्तानकी आमा पनि बनिन् । उक्त बिहे पनि सफल भएन । मजहरको निधनपश्चात् सासू–ससुराले उनलाई घरबाटै निकाले । उनी अहिले ७३ वर्ष पुगेकी छन् ।
टिप्पणीहरू