मिथ्या सूचनाका द्रुत हल्ला :अझै कति चल्ला ?
मंसिर अन्तिम हप्ता नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको कोशी प्रदेश अध्यक्ष जिबी गजल भनेर परिचित गंगाबहादुर खड्काले भावुक पोस्ट गरे । उनले लेखे, ‘महान् दार्शनिक ओशोले ५ लाख पुस्तक अध्ययन गर्नुभएको थियो । तर हामी ५ वटा अध्ययन नगरी आफूलाई ओशोभन्दा ठूलो दार्शनिक ठान्छौँ ।’
खड्काको पोस्टमा सयभन्दा धेरै लाइक आए । दुई दर्जनभन्दा धेरै कमेन्ट । सबैले होमा हो मिलाएका छन् । गाउँले भाइ भनेर चिनिने सन्तोष निरौलाले गरेको एक फरक कमेन्टले भने केही नोट अफ डिसेन्ट राखेको छ । कमेन्टमा निरौलाले सन १९९० मा ओशोको मृत्यु हुँदा उनी ५९ वर्षको मात्रै भएको, १० वर्षको उमेरबाट पढे मात्रै पनि ४९ वर्ष पढेको, ४९ वर्षमा १७ हजार ८८५ दिन भएको भन्दै निरौलाले पाँच लाख किताब ओशोले पढेको हो भने दिनकै २८ किताब पढ्ने गणित देखाए । प्रश्न जायज थियो । २४ घण्टाको दिनमा २८ पुस्तक त्यो पनि ४९ वर्ष लगातार पढ्ने अझ त्यो पनि ओशो जस्ता बोल्न र अन्तर्वार्ता दिन व्यस्त दार्शनिकले भन्दा पत्यार लाग्दैन अर्थात् ओशोले ५ लाख किताब पढेको कुरा प्राविधिक, मनोवैज्ञानिक र व्यावहारिक कुनै कोणमा पनि मेल खाँदैन । नखाएर के भयो त, पत्याउनेले पत्याइसके । पत्याएर अब उनीहरूले विभिन्न भाषणमा यस्तै भन्नेछन् । चिया गफमा बोल्नेछन् ।
खड्काले पुस्तक पठन संस्कृति बढाउने अर्थमा भनेको मिथ्या सूचनाले जसरी विश्वास लियो यस्तै कुरा अरू मिथ्या सूचनामा पनि हुन्छ । अझ नियतै खराब राखेर भीड भड्काउन प्रयोग हुने सूचनामा त्यसको क्षेत्रफल झनै विशाल हुन पुग्छ । किनभने समाजमा सकारात्मकभन्दा नकारात्मक कुरा धेरै चाँडो जान्छ । उदाहरणका लागि चार वर्षअगाडि पत्रकार महासंघको चुनावमा प्रेस चौतारीले निर्मला शर्मा उठाउँदा हार्ने चुनाव भएकाले महिलालाई टिकट दिए भन्ने न्यारेटिभ धेरै बिक्यो । आज चार वर्षपछि अध्यक्षमा निर्मला शर्मा, उपाध्यक्षमा नितु पण्डित र सचिवमा सोनी शर्मासहित प्याकेज महिला नेतृत्व विजयी हुँदा त्यही हल्ला गर्नेहरू चुपचाप छन् । उनीहरूले हामीले गलत सोचेछौँ त भनेनन्–भनेनन् । अहिलेको विजेता टोलीलाई बधाई दिनेहरूमा पनि धेरैजसोले निष्क्रियता देखाए । सकारात्मकभन्दा नकारात्मक कुरा धेरै बिक्री हुने एक आकर्षक उदाहरण यो पनि हो ।
माइक्रोसफ्ट म्यानले आफ्नो च्यानलको ट्यागलाइन राखेका छन्, ‘नो बकवास, वन्ली प्रुफ ।’ अर्थात् बकवास होइन मात्र प्रमाण । आफ्नै नारा गिज्याउने गरी उनले वकवास मात्रै गरेका छन् । प्रमाण दिएका छैनन् ।
पछिल्लो समय मिथ्या सूचनाले बजार लिइरहेको छ । गेटकिपिङ बिना चल्ने युट्युब र हतारोको अगुवाइ गर्ने अनलाइनहरूको कारणले मिथ्या सूचना आइरहेका छन् । मास मिडिया र सोसल मिडिया दुवैमा मिथ्या सूचना प्रशस्तै छन् । शुरुमा मास मिडियाकै कुरा गरौँ । नेपाल खबरले प्रधानमन्त्री ओलीको चीन भ्रमणभन्दा अगाडि भारत भ्रमण भन्ने समाचार आयो । कुनै आधिकारिक व्यक्ति वा निकायको कोट गरिएको समाचार मिथ्या सावित भयो । यस्तै पछिल्लो समय चीनका पञ्चेन लामाको समाचार पनि विभिन्न मिडियामा तारन्तार आए । धेरैले सामाजिक सञ्जालमा लेखे । अन्नतः पञ्चेन लामा आएनन् । अर्थात् कि कच्चा सूचना कि मिथ्या सूचनाले ओलीको भारत भ्रमण र पन्चेन लामाको नेपाल भ्रमणका खबर आएको अनुमान लगाउन सकिन्छ । पत्रकारले पत्याउँदै आएका स्रोतलाई धेरै विश्वास गर्दा तथा स्रोतले बदनियत राखेर सूचना दिँदा यस्तो भएको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय ओलीको नाम, हस्ताक्षर नमिल्ले कथित दस्तावेज देखाएर कम्बोडियामा अर्बौं लगानी भएको भनिएको दुर्गा प्रसाईंको दाबी आयो । एक कथित डकुमेन्ट पनि आयो । त्यही कुरालाई अमेरिका बसेर टिप्पणी गर्ने युट्युबर टंक दाहालले सिधासिधी भने, ‘सरसर्ती हेर्ने हो भने डकुमेन्ट फेक होइन, अधकल्चो चैं हो ।’ न उनी पत्रकार सम्मेलनमा थिए । न उनको प्रसाइँ र स्रोतसँग कुरा भएको छ । ‘सरसर्ती हेर्ने हो भने’ भन्दै फैसला गरिदिए, ‘डकुमेन्ट फेक चैं होइन ।’ यी तिनै युट्युबर हुन् जसले जिबी राईलाई भदौमा नेपाल ल्याइएको, उनको कुरा आउँदा नेपालमा आँधीबेहरी आउनेजस्तो हल्ला गरेका थिए । ‘जीबी राई नजिकको मान्छे’को धाक दिएर उनले यस्तो हल्ला फिँजाए कि उनीसँग भएको अडियो मात्रै सार्वजनिक गर्ने हो भने देश हल्लिन्छ । सत्ता हल्लिन्छ । तर, आफ्नो कुरा कति प्रामाणिक र कत्ति आधिकारिक हो चैँ भन्दैनन् । ती युट्युबरलाई म माइक्रोसफ्ट म्यान भन्न चाहन्छु किनभने उनी आफू माइक्रोसफ्टमा पुगेको र काम गरेको खुब विज्ञापन गर्छन् । तिनै माइक्रोसफ्ट म्यानले आफ्नो च्यानलको ट्यागलाइन राखेका छन्, ‘नो बकवास, वन्ली प्रुफ ।’ अर्थात् बकवास होइन मात्र प्रमाण । आफ्नै नारा गिज्याउने गरी उनले वकवास मात्रै गरेका छन् । प्रमाण दिएका छैनन् । खासगरी कम्बोडिया काण्ड र जीबी राई प्रकरणमा ।
उसो त मिथ्या सूचनाको रुखका पनि विभिन्न हाँगा हुन्छन् । संयुक्त राष्ट्रसंघको पत्रकारिता क्षेत्रसमेत हेर्ने युनेस्कोले मिथ्या सूचनालाई तीन हाँगामा बाँडेको छ । एक, मिसइन्फर्मेसन । दुई, डिसइन्फरमेसन । तीन, मालइन्फरमेसन । मिसइन्फरमेसनको नियत खराब हुँदैन । स्रोतले दिएको सूचनामा भर पर्दा वा केही तलमाथि हुँदाको मिथ्या सूचना हो यो । अर्थात् नियतै खराब राखेर दिइएको मिथ्या सूचना होइन मिसइन्फरमेसन । डिसइन्फरमेसन चैं नियतै खराब राखेर नभएका कुरालाई जानाजान बढाइचढाइ गरेर दिइने इन्फरमेसन हो । माल इन्फरमेसन सही भएर पनि कुनै व्यक्ति, समाज र समूहलाई खराबी गर्ने नियमले दिइने सूचना हो । अहिले नेपाली मास मिडिया र सोसल मिडिया दुवैमा यी तीनै खालका मिथ्या सूचनाले जरा गाडेका छन् ।
मिथ्या सूचनाको ग्रहण पनि जनताको र आममान्छेको मुडअनुसार देखिन्छ । जनता बिच्किएको नेताले गरेको र जनता कम बिच्केका नेताले गरेको कुराको प्रतिक्रियामा त्यो झल्कन्छ । यो नेपालमै पनि देखिएको छ । यो विश्वभर छ । नेपालको उदाहरण दिनुपर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका पुगेर हिमाली क्षेत्रमा गैँडा पाउने भन्दा धेरै ठूलो ट्रोल भयो । काठमाडौका मेयर बालेन्द्र साहले ब्राजिल पुगेर भनेको नेपालको पर्यटन क्षेत्रमा कार्बन उत्सर्जन छैन भन्ने दुवै सूचनाको खासै चर्चा भएन ।
ओली र साह दुवैले मिथ्या सूचना दिएका थिए । उनीहरू गलत थिए । दुवैको नियतै खराब चैं नभएकाले त्यसलाई मिसइन्फरमेसन भन्न सकिन्छ । डिइन्फरमेसन वा मालइन्फरमेसन भन्न नमिल्ला । तर, एकै स्तरको मिथ्या सूचना दिनेमा ओलीको आलोचना र ट्रोल भव्य भयो । साहको आलोचना र ट्रोल कम भयो ।
टिप्पणीहरू