त्यस्तै श्रीमान् परेरै तनाव

त्यस्तै श्रीमान् परेरै तनाव

संघीय सरकारमा दुई जना मन्त्री र लुम्बिनी प्रदेशमा एउटा मन्त्री भए पनि अशोक राईको जनता समाजवादी पार्टी(जसपा)लाई अहिले एउटा चिन्ताले धेरै नै सताएको छ । त्यो हो, सर्वोच्च अदालतले पार्टी फुटका विषयमा नगरिदिएको निर्णय । जसपा नेपाल विभाजित भएर अशोक राईको नेतृत्वमा सातजना सांसदसहित नयाँ पार्टीको घोषणा भएलगत्तै  त्यसलाई निर्वाचन आयोग र संसद दुवैले मान्यता दिए । तर सर्वोच्चमा सो फुट गैरकानुनी रहेको भनेर मुद्दा परेको छ । र, यसको अदालतबाट ‘स्टे अर्डर’सहित सो मुद्दा अन्तिम निर्णयको पर्खाइमा छ ।

एक जना नेताका अनुसार अहिलेसम्म पटकपटक सुनुवाइका प्रयास भए । तर समस्या के देखिँदै आयो भने हरेकपटक तीन जना न्यायाधीशले गोला तान्दा कोही न कोही कुनै न कुनै बेला यो मुद्दा हेरिसकेका पर्ने गरेका छन् । त्यसो हुँदा पूर्ण इजलासमा यसको सुनुवाइ धेरै पटक हेर्न नमिल्नेमै अवस्था छ । त्यसो त यसरी न्यायाधीश छनोट गर्दा हेर्न नमिल्नेहरूलाई गोला प्रक्रियामा सामेल नै नगराइयोस् भन्ने निवेदनसमेत पुगिसकेको छ । सो निवेदनबारे सर्वोच्च प्रशासनको भनाइ छ– मुद्दा हेर्ने या नहेर्ने भन्ने विषय न्यायाधीशको स्वविवेकमा भर पर्ने हुनाले गोला प्रक्रियामै सामेल नगराउन मिल्दैन । 

हाल संघीय सरकारमा महिला, बालबालिका ज्येष्ठ नागरिक र समाजकल्याण तथा खानेपानी गरी दुईवटा मन्त्रालय सो पार्टीको नेतृत्वमा छ । त्यसैगरी, लुम्बिनी प्रदेशमासमेत एक जना मन्त्री उक्त पार्टीले पाएको छ । तर, अदालतको निर्णय कुर्दाकुर्दै अबको यात्रा कतातिर भन्नेबारे अशोक राई र उनको पार्टीका नेताहरू अन्योलमा छन् । स्रोतका अनुसार अशोक राई र सुशीला श्रेष्ठ दम्पती एमालेसँग मिलाएर जानुपर्छ भन्नेमा छ् भने राजेन्द्र श्रेष्ठ माओवादीसँग मिल्ने हो कि भन्ने सोचिरहेका छन्् । उता, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पार्टीले भने हालै बसेको केन्द्रीय समिति बैठकबाट मधेसमा लोकतान्त्रिक समाजवादी पार्टी र सिके राउतको जनमत कमजोर भएको निश्कर्ष निकालेको छ । एमाले र कांग्रेसको सरकार आफू र आफ्नालाई जोगाउने एक मात्र उद्देश्यले बनेको र यसले देश र जनताको लागि कुनै काम गर्न नसक्ने बुझाइ उपेन्द्र यादव रहेको सो पार्टीका एक केन्द्रीय नेताले बताए । भारतमा कांग्रेस आईको नेतृत्वमा बनेको आदिवासी, सिमान्तकृत, अल्पसंख्यक र दलित हरूको कार्यक्रममा सहभागी भएर फर्केपछि बसेको बैठकले त्यस्तो निश्कर्ष निकालेको हो । 

भारतीय जनता पार्टीका केही नेतासँगको छलफलबाट भने उनी छक्क परेका छन् । स्रोतका अनुसार भाजपाका नेताहरूले उनलाई सोधेका थिए– तपाईंहरू त नेपालको मधेसमा मुस्लिम आतंकवादलाई प्रश्रय दिने पार्टी पो हो अरे त, कुरा के हो? कसले यस्तो पोल लगायो तपाईँहरूलाई भनेर उनले सोध्दा तिनै नेताले भनेका थिए– तपाईंहरूकै प्रधानमन्त्री केपी शर्मा ओलीले । भाजपा नेताहरूका अनुसार ओलीले भारतीय संस्थापन पक्षलाई भनेका रहेछन्– ‘हेर्नुस् त जसपा नेपालले मुस्लिमलाई मधेसको मुख्यमन्त्री बनाएको छ ।’
 

टिप्पणीहरू