प्रधानमन्त्रीलाई ‘राजसी ठाँट’ र ‘पञ्चायती शैली’ प्यारो

प्रधानमन्त्रीलाई ‘राजसी ठाँट’ र ‘पञ्चायती शैली’ प्यारो
सुन्नुहोस्

केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा हेलिकोप्टरमा केक ओसारेर गाउँको जन्मघरमा जन्मदिन मनाएको पुरानो विवादित घटना फेरि चर्चामा आएको छ । एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले आज उक्त प्रसंग कोट्याएका हुन् । 

२०७७ सालमा ७० औँ जन्मदिन मनाउन ओली हेलिकोप्टरमा केक बोकेर ‘राजसी ठाँट’ सहित तेह्रथुमको जन्मगाउँ पुग्नुभएको थियो । पञ्चायतकालमा राजाको क्षेत्रीय भ्रमण हुँदा क्षेत्रभरिका ‘पञ्च–भलाद्मी र पदाधिकारी’ लाइन लागेकै शैलीमा मान्छेको लाइन लगाएर नेपालको नक्सा अंकित केक काटिएको थियो । त्यसलाई लिएर तत्कालीन नेकपाका शीर्ष नेताहरुले समेत आपत्ति जनाएका थिए । 

सोही सन्दर्भ खोतल्दै नेता रावलले ओलीले राज्य कोषको चरम दुरुपयोग गर्दै नवसामन्तको नमूना देखाएको आरोप लगाए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्री भएको बेला तपाईंले आफ्नो जन्मदिन मनाउन चार वटा हेलिकोप्टर प्रयोग गरी विराटनगरबाट तयारी खाना गृह जिल्लामा ओसार्न लगाउनुको साथै विभिन्न वस्तुहरु वितरण गर्न निकै ठूलो धनराशी खर्च गर्दै राष्ट्रको ढुकुटीमा खेलवाड गर्ने र नेपालको नक्साको केक बनाएर काट्दा तपाईं आफैं नवसामन्तको नमूना देखिनुभएको होइन र ?’

रावलले प्रधानमन्त्री ओलीलाई बेइमानी, निरकुंश र तानाशाहको संज्ञा दिँदै आज एउटा कवितासमेत सुनाएका छन् ।  

‘लुब्ध नाइके’ शीर्षकको उनको कविता यस्तो छ :

सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि,

गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई के भयो भनन
के दियौ देशलाई घरिना हुँदा प्रश्न त सुनन

सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा

भनन भन तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार, बेलगाम किर्ते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै भो !

यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हास गर्दछौ
स्वाधीनता, गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौ
नठान यहाँ, स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ ।

टिप्पणीहरू