राज्यमन्त्रीविरुद्ध मुद्दाको फैसला मिति अनिश्चित
कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीविरुद्ध परेको मुद्दामाथि निर्णय सुनाउने मिति सरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर भएको रिटमाथि निर्णय सुनाउने मिति सारेको हो ।
अधिवक्ता वसन्त जोशीले चौधरीसहित निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई २०७९ चैत १७ गते मुद्दा दायर गरेका थिए । गत मंसिर १९ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा.मनोजकुमार शर्माको संवैधानिक इजलासले आज निर्णय सुनाउने भनिएको थियो ।
तर निर्णय सुनाउने मिति सरेको जनाएको सर्वोच्चले अर्को मिति तोकेको छैन । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका चौधरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा भएका थिए । सांसद बन्न उनको योग्यता नपुगेको उल्लेख गर्दै जोशीले निर्वाचन अधिकृतको निर्णय बदरको माग गरेका हुन् ।
टिप्पणीहरू