सरकारी पक्षको बहस सकियो, भोलिदेखि रविको पालो

सरकारी पक्षको बहस सकियो, भोलिदेखि रविको पालो
सुन्नुहोस्

कास्की जिल्ला अदालतमा जारी रवि लामिछाने लगायतको थुनछेक बहसमा सरकारी वकीलहरुको बहस सकिएको छ । भोलिदेखि लामिछानेलगायत अन्य प्रतिवादीका वकीलहरुले बहस गर्ने जनाइएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बहसमा आज नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहायक न्यायाधिवक्ताहरु सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका हुन् । उनीहरुले लामिछानेसहित सबै प्रतिवादीलाई पुर्पक्षमा पठाउनुपर्ने दलिल पेश गरेका छन् । 

अदालत स्रोतका अनुसार प्रतिवादीहरुका तर्फबाट भोलि बहस हुने छ । त्यसअघि जाहेरवालाका कानुन व्यवसायीहरुले गर्ने बताइएको छ । 

लामिछानेलगायत प्रतिवादीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त, रास्वपा सांसद सोविता गौतमलगायतले बहस गर्दैछन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी कसूरमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ प्रतिवादी छन् । उनीहरुलाई बहसका क्रममा आज इजलासमै उपस्थित गराइएको थियो ।

टिप्पणीहरू