पोखराबाट छुटेका छविलाल बिचैमा वेपत्ता

पोखराबाट छुटेका छविलाल बिचैमा वेपत्ता फाइल फाेटाे
सुन्नुहोस्

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले गत बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाईलगायतलाई धरौटीमा छाड्न आदेश दियो । धरौटीमा छुटेका उनीहरुविरुद्ध  काठमाडौँमा पनि मुद्दा चलिरहेकाले अदालतमा उपस्थित हुनुपर्ने शर्त थियो । तर, गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशी भने सम्पर्कविहीन रहेको खुलेको छ । 

कास्की प्रहरीको हिरासतबाट छुटेपछि जोशी सम्पर्कमा नआएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए । उनका अनुसार जोशीले शुक्रबार वा आइतबार अदालतमा उपस्थित भएर बयान दिनुपर्ने थियो । 

‘उहाँ (जोशी)ले आइतबारभित्र अदालतमा उपस्थित भइसक्नुपर्ने हो, तर आउनुभएको छैन’, चन्दले जनआस्थासँग भने, ‘प्रहरीले बोलाउनेबित्तिकै हाजिर हुने गरी परिवारको सम्पर्कमा हुनुहुन्छ भन्ने सुनेका छौँ, किन आउनुभएन, थाहा छैन ।’

स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा जिबी, रवि र छविसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्धाको सुनुवाइ न्यायाधीश माधव अधिकारीको इजलासमा भइरहेको छ । आइतबारदेखि शुरु भएको रविको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । 

आज प्रतिवादी रविको तर्फबाट वकिलहरुले बहस गरिरहेका छन् । आजै सरकारी वकिलले जवाफी बहस गर्ने र थुनछेक आदेश आउने बताइएको छ ।

 त्यसपछि जोशीकै पालो आउनसक्ने चन्दको अनुमान छ । ‘तर उहाँले अदालतलाई खबर पनि पठाउनु भएको छैन, प्रहरीसँग सम्पर्कमा रहेको भए बेग्लै कुरा !’, उनले थपे

टिप्पणीहरू