हाँसीहाँसी मृत्युवरण गर्ने अरु कसमा छ तागत ?

हाँसीहाँसी मृत्युवरण गर्ने अरु कसमा छ तागत ?

विश्वविख्यात दार्शनिक हुन् सुकरात । उनको जन्म इशापूर्व ४७० मा ग्रिसको एथेन्स शहरमा भएको हो । सुविख्यात ग्रिक दार्शनिक प्लेटो,  अर्का दार्शनिक र इतिहासकार सेनोफोन उनका प्रमुख शिष्य हुन् ।

सुकरात पश्चिमी दर्शनका जनक थिए । उनलाई ‘हेमलक’ नामक विष सेवन गर्न दिइयो । मृत्युदण्ड पाउँदा ७१ वर्षका थिए । इशापूर्व ४२३ मा जान्थिप्पेसित बिहे गरे, ४७ वर्षको हुँदा । जान्थिप्पे र उनको उमेरमा ३० वर्षको अन्तर थियो । सुकरात शान्त स्वभावका थिए । सबैको कुरा ध्यान दिएर सुन्थे । शिष्यको अगाडि पनि गुरुको जस्तो व्यवहार देखाउँदैनथे । तर, जान्थिप्पे कटु बोली बोल्थिन्, अत्यन्त छुच्ची थिइन् । त्यसो त सुकरात देख्दा राम्रो थिएनन्, अरुले कुरुप मान्थे । यही नराम्रो अनुहार र उमेरमा ठूलो अन्तरकै कारण पनि होला, जान्थिप्पे स–सानो कुरालाई लिएर लडिरहन्थिन् तर सुकरात जवाफ फर्काउँदैनथे । 

सुकरात चुपचाप बसिरहे उनी चिच्याउँथिन्, ‘तिमी कहिल्यै बोल्दैनौ ।’ जब उनी पुस्तक पढ्न थाल्थे फेरि कराउँथिन्, ‘आगोमा भष्म होउन् यी पुस्तक, यिनको बिहे यी पुस्तकसितै गरिदिएको भए हुन्थ्यो ।’ 

एकदिन सुकरात शिष्यसँग आँगनमा बसिरहेका थिए । विषयगत तर्क अघि सार्दै गर्दा चेलाहरू ध्यान दिएर सुन्दै थिए । यत्तिकैमा भित्र कोठाबाट जान्थिप्पेले बोलाइन् तर सुकरात प्रवचनमा यति धेरै व्यस्त थिए कि पत्नीको आवाज सुनेनन् । जान्थिप्पेले पटक–पटक बोलाइन् तर उनले पटक्कै सुनेनन् । जान्थिप्पे रिसले चुर भइन् र बाहिर आएर सबैको अगाडि गाग्रोको पानी लोग्नेको टाउकोमा खन्याइदिइन् । शिष्यले नराम्रो माने र गुरुले कस्तो प्रतिक्रिया जनाउने हुन् भनी पर्खेर बसे।

सुकरातले शिष्यहरूको भावना बुझिहाले । शान्त मिजासमा भने, ‘हेर, मेरी पत्नी कस्ती ज्ञानी र उदार भावकी छन्, यस्तो गर्मीमा टाउकोमा पानी खन्याएर मलाई शीतल पारिदिइन् ।’ गुरुको सहनशीलता देखेर शिष्यगणमा श्रद्धाभाव अझ उच्च भयो । जान्थिप्पे पनि शान्त भइन् । सुकरात भन्थे, ‘क्रोधको जवाफ क्रोधले दिइयो भने झगडामा परिणत हुन्छ, एक जना क्रोधित बनेको बेला अर्को व्यक्ति शान्त भएमा मात्रै झगडाको कारण समाप्त हुन्छ ।’

एकदिन सुकरात घर पुगेका मात्र के थिए, जान्थिप्पे कराउन थालिन् । त्यो बेला साथमा शिष्यहरू पनि थिए । तैपनि, केही नबोलिकन बसे । लोग्नेलाई मौन देखेपछि पारो झन् चढ्यो । र, ठूलो स्वरमा बोल्न थालिन् । सुकरात मौन नै बसीराखे । जान्थिप्पेले आँगनमा जमेको हिलोलाई एउटा भाँडोमा हालिन् र लोग्नेको टाउकोमा खन्याइदिइन् । सुकरात बल्ल हाँसे र बोले, ‘देवी ! भनाइ छ नि गर्जेको बादलले पानी पार्दैन तर आज देखिरहेको छु कि जो गर्जिन्छ त्यो बर्सिने पनि रहेछ ।’यति भन्दै सुकरात हाँसिरहे । तर, एक जना शिष्यलाई जान्थिप्पेको रवैया बिल्कुल चित्त बुझेन, उनले क्रोधित बन्दै भने, ‘यी आइमाई बोक्सी हुन्, तपाईंको निम्ति योग्य छैनन् ।’ सुकरातले भने, ‘होइन, उनी मेरो योग्य नै छिन् । उनले लात्ती हान्दैहान्दै मेरो परीक्षा लिने गर्छिन् कि सुकरात कच्ची छन् कि पक्की ।’

सुकरातले यो कुरा पत्नीले सुन्ने गरी भनेका थिए । जान्थिप्पेले जब यो कुरा सुनिन् उनलाई पश्चाताप भयो । अनि रुँदै भनिन्, ‘तपाईं भगवान् हुनुहुँदोरहेछ, क्षमाप्रार्थी छु । मैले चिन्न सकिनँ, तपाईं सत्य हुनुहुँदो रहेछ, अन्त्यमा सहनशीलताको विजय हुने रहेछ भन्ने पुष्टि भयो । खराब व्यक्ति पनि आफ्नो स्वभाव फेरेर सभ्य बन्दा रहेछन् । तपाईंको सहनशीलताबाट आज म फेरिन सकें ।’ 

पत्नीको बदलिएको स्वभाव देखेर सुकरात मुसुक्क हाँसे अनि जान्थिप्पेलाई तानेर आफूसँगै बसाले । जीवनमा जान्थिप्पेले सुकरातलाई ३ छोराको बाबु बनाइदिएकी थिइन्, लामप्रोकल्स, मेनजेनस र सोफ्रोनिकस ।जान्थिप्पे सुकरातकी एकल पत्नी थिइनन् । दोस्री पत्नी मिर्टोबारे अर्का ग्रिक दार्शनिक अरस्तु (एरिस्टोटल) ले सविस्तार वर्णन गरेका छन् । अरस्तु सुकरातका शिष्य प्लेटोका पनि शिष्य र विश्वविजेता बन्ने उद्देश्यले साम्राज्य विस्तार गर्न पुगेका अलेक्ज्याण्डर महानका गुरु हुन् । पश्चिमी दर्शनशास्त्र, भौतिक विज्ञान, अध्यात्मवाद, तर्कशास्त्र, राजनीतिशास्त्र, नीतिशास्त्र, जीवविज्ञान, कविता, संगीत, नाटक आदिको विकासमा उनको महत्वपूर्ण योगदान छ ।

उनको भनाइमा मिर्टो ग्रिक राजनीतिज्ञ एरिस्टाइडका पनाति हुन् । अझ अरस्तुका शिष्य तथा दार्शनिक एरिस्टोजेनुसले त आफ्नो कृति ‘सुकरातको जीवनी’ मा मिर्टोलाई सुकरातले बकाइदा बिहे गरी भिœयाएको र जान्थिप्पेसित औपचारिक बिहे नगरेको दावी गरेका छन् । उनका अनुसार मिर्टोले दुई छोरा जन्माएकी थिइन् । उनको दाबी छ, जान्थिप्पेको छोरा भनिएका तीनमध्येका दुई छोरा मेनजेनस र सोफ्रोनिकस मिर्टोतर्फका थिए । तर, ग्रिक दार्शनिकको जीवनी लेखक डियोजेनस लेर्टियसले भने मिर्टो सुकरातको दोश्री पत्नी जो जान्थिप्पेसितै एउटै घरमा बस्ने गरेकी थिइन् भनी उल्लेख गरेका छन् ।

केही लेखकका अनुसार सुकरात समलिंगी पनि थिए । अल्सिबियाडेस सुकरातको प्रेमी भएको दाबी छ । अल्सिबियाडेस ग्रिसका राजनीतिज्ञ र सैन्य जर्नेल थिए । सुकरातभन्दा २० वर्ष कान्छा । विवाहित र हिप्पारेटका पति । केहीले त सुकरातको आफ्नो शिष्यसित पनि उस्तै सम्बन्ध भएको दाबी गरेका छन् । उनीहरूका अनुसार उनको केही शिष्यसितको सम्बन्ध प्रेमी– प्रेमिकाको जस्तै घनिष्ठ रहेको तर शारीरिक सम्बन्ध नै राख्ने गरेको बारे भन्न नसकिने अवस्था छ ।

महान् विचारक र महान् दार्शनिक मानिएका सुकरातमाथि तत्कालीन ग्रिसको शासक वर्गले नास्तिक भएको र युवालाई भड्काउने गरेको आरोपमा मृत्युदण्डको सजायँ सुनाएको थियो । मृत्युदण्ड दिन विष तयार हुँदै थियो । विष साँझ सूर्यास्त हुनुअगावै दिइने तय थियो । मध्याह्न बितेर साँझ हुनै लाग्दा पनि नदिइएकाले सुकरात सिपाहीको नजिक गएर ‘छिटो गर, किन ढिलो गरिरहेको ?’ भन्न थाले । सिपाहीले अचम्म मान्दै जवाफ दिए, ‘तपाईंलाई किन हतार ? म जानाजान ढिलाइ गरिरहेको छु ।’

सुकरातले भने, ‘कर्तव्यपालन गर्ने कुरामा कसैले पनि ढिलाइ गर्नु उचित हुन्न ।’ उनको कुरा सुनेर शिष्यहरू रुन थाले । एक जनाले भने,  ‘तपाईं हामीसित यस्तो व्यवहार किन गरिरहनुहुन्छ ? तपाईंको जीवन हामी सबैको निम्ति अमूल्य छ । अहिले पनि समय छ, सिपाहीहरू हामीलाई साथ दिन तयार छन् । हामी तपाईंलाई यहाँबाट भगाएर सुरक्षित स्थानमा लान सक्छौँ ।’

सुकरातले रोइरहेका र आफूलाई भगाउन तम्तयार शिष्यहरूलाई गाली गर्ने शैलीमा भने, ‘तिमीहरूलाई यो माटोको शरीरलाई लिएर यति धेरै चिन्ता किन ? मेरो विचार त सधैँ तिमीहरूको साथमै रहनेछ । यो जाबो शरीरको निम्ति म चोर जस्तो भागौं ? लुकेर बसौं ? मैले यो जीवनमा धेरै आनन्द उठाइसकेको छु, अब मृत्युको आनन्द लिन चाहन्छु । ’साँझ हुन लाग्यो । विष भरिएको प्याला अगाडि ल्याइयो । चियाको कप उठाए जत्तिकै सहजसँग सुकरातले प्याला उठाए र घटघट पिउन थाले । प्याला खाली गरिसकेपछि पल्टिए । शिष्यहरूले सोधे, ‘प्रभू, तपाईंलाई असह्य पीडा भइरहेको होला ।’ 

सुकरात – ‘शिष्यहरू, यो मेरो जीवन जागरणको अवसर हो । अब म हृदय, मन, विचार र शरीरदेखि अलग्ग भएँ ।’ यसो भनेलगत्तै उनले देह त्यागे ।
 

टिप्पणीहरू