पौभा चित्रको सिप नयाँ पुस्तामा हस्तान्तरण जरुरी

सुन्नुहोस्

‘पौभा’ नेवार जातिको मौलिक परम्परागत चित्रकला हो । पौभा चित्रकलामा विशेष कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्र बनाइन्छ । धार्मिक पुस्तकमा उल्लेखित उपदेश, कथाको अध्ययन गरेर तिनलाई प्रतिकको रुपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभामा उतारिन्छ । 

पौभा कलाकार लोक चित्रकार पौभा चित्र नेपाली संस्कृतिको मौलिक र जीवित सम्पदा रहेको बताउँछन् । उनका अनुसार पौभामा विभिन्न दर्शनलाई चित्रमार्फत प्रतिकात्मक वस्तुका रुपमा अभिव्यक्त गरिन्छ । दर्शनका कुराहरुलाई सरल वा सजिलो ढंगले बुझ्नसक्ने बनाउनु नै पौभा चित्र हो । 

उनी भन्छन्, ‘धर्म, दर्शन, संस्कृति, परम्परा इत्यादि कुराका यो परिमाण वा कला हो । यो चित्र हरेर कपी पनि गर्न सकिन्छ । तर, आफ्नै सिर्जना हुनुपर्छ भन्नेजस्तो मलाई लाग्छ । त्यसका लागि धर्म, दर्शन, संस्कृतिको अध्ययन गर्न र ज्ञान हुन जरुरी छ । सँगै कला पनि आवश्यक छ ।’

आफूले पौभा चित्रमा प्राकृतिक रंगहरुको प्रयोग गर्ने गरेको उनी बताउँछन् । घरको वातावरणका कारण सानैदेखि पौभा चित्र बनाउन थालेको सुनाउँदै चित्रकारले भने, ‘मैले औपचारिक शिक्षा लिएको छैन । तर, मेरो परिवार पौभा चित्रमा आबद्ध भएकाले त्यो परम्परा ममा हस्तान्तरण भयो ।’

अहिले आफूले शिक्षकमा रुपमा नयाँ पिँढीलाई पौभा चित्र बनाउन सिकाइरहेको बताउँदै उनले नयाँ पिढीलाई यो सिप हस्तान्तरण गर्न आवश्यक रहेको बताए । उनी भन्छन्, ‘शिक्षकले विद्यार्थीलाई, बाबुले छोरालाई गरेर पुस्ता–पुस्तामा यो हस्तान्तरण हुँदै आएको हो । अब नयाँ पिढीमा यो हस्तान्तरण गर्न आवश्यक छ । यसो गर्न नसकेमा यो हराउन सक्छ । त्यसैले, हामीले नयाँ पुस्तालाई पौभा चित्र बनाउने सिप हस्तान्तरण गर्नैपर्छ ।’

टिप्पणीहरू