पोर्चुगलको नेपाली दूतावासमा भयंकर भीड

पोर्चुगलको नेपाली दूतावासमा भयंकर भीड

पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले बिहान ९ बजेअगाडि कार्यालय नआउन सेवाग्राहीलाई कडा निर्देशन दिएको छ । बिहान उज्यालो नहुँदै कार्यालय वरिपरि जम्मा भएर होहल्ला र फोहोर गर्न थालेपछि दूतावासले सूचना जारी गरेर सेवाग्राहीलाई सचेत गराएको छ । सेवाग्राहीको गैरजिम्मेवारी र असामाजिक कार्यले छरछिमेकबाट तीव्र असन्तुष्टि र गुनासो आइरहेको दूतावासले जनाएको छ । 

‘बारम्बार जानकारी गराउँदासमेत धेरै जना सेवाग्राही राति वा बिहान सबेरैदेखि राजदूतावास वरिपरि जम्मा हुने, होहल्ला गर्ने,फोहोर गर्नेजस्ता गैरजिम्मेवार र असामाजिक कार्य गरिदिनाले वरपरका छिमेकी घरहरुबाट तीव्र असन्तुष्टि र गुनासो आइरहेको परिप्रेक्ष्यमा यो सूचना प्रकाशित गरिएको छ’,सूचनामा भनिएको छ,‘यस्तो अवाञ्छित कार्य जारी रहेमा कुनैपनि बेला अनिश्चित समयका लागि राजदूतावासको काम स्थगित गर्नुपर्ने अवस्थासमेत आउन सक्ने हुनाले निम्नानुसार गर्नुहुनु सबैमा अनुरोध छ ।’

दूतावासले बिहान ९ बजेअगाडि कार्यालय वा वरपर आउनेलाई प्रहरी कारबाही गरिने चेतावनीसमेत दिएको छ । त्यसैगरी, कागजात प्रमाणिकरण गर्न आफैं उपस्थित हुन सूचित गराइएको छ । कन्सुलर सेवालगायत अन्य सेवा लिनका लागि नेपाली नागरिक रातिदेखि नै दूतावासअगाडि लाम लाग्ने गरेका छन् । जसका कारण दूतावास वरपर व्यापक ट्राफिक जाम हुने गरेको छ । अर्कोतर्फ, उनीहरुले गर्ने होहल्लाले डिस्टर्ब भएपछि छरछिमेकीले दूतावासमा गुनासो पोखेका छन् ।

 

टिप्पणीहरू