रेड पाण्डा चोर्न चिडियाखाना छिरेकाहरु एकाएक गायब

रेड पाण्डा चोर्न चिडियाखाना छिरेकाहरु एकाएक गायब तस्वीर: विमल थापा (पर्यटन अभियन्ता)

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा अनौठो घटना भएको छ । त्यहाँ दिनदहाडै दुर्लभ वन्यजन्तु रेड पाण्डा चोरीको असफल प्रयास भएको बताइन्छ । 

सदाझैँ हिजो पनि चिडियाखाना खुल्ला थियो । विभिन्न जनावर र चराचुरुङ्गीको अवलोकन गर्न दिनभर सयौँ दर्शक प्रवेश गरे र निस्किए । साँझ साढे ६ बजे चिडियाखानाको मुख्य गेट बन्द गरियो । तर, ७ बजेतिर त्यहाँ कार्यरत कर्मचारीले सिसिटिभीमा अनौठो दृश्य देखे, जहाँ दुई युवकले चिडियाखानाकै रेड पाण्डा झोलामा हालिरहेका थिए । 

त्यो देखेपछि कर्मचारी र सुरक्षागार्डहरु दौडिएर उनीहरु भएको ठाउँमा पुगे । तर त्यतिञ्जेलसम्ममा उनीहरु झोला र रेड पाण्डा त्यहिँ छाडेर भागिसकेका थिए । ती युवक को थिए भन्नेबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रमुख (एसएसपी) श्यामकृष्ण अधिकारीले जनआस्थालाई जानकारी दिएका छन् ।

चिडियाखानाको गेट बन्द भइसकेपछि उनीहरु भित्र प्रवेश गरेका हुन् वा दिउँसै छिरेर लुकेर बसेका थिए त्यो भने यकीन भइनसकेको प्रहरीले बताएको छ । ‘सिसिटिभीमा चिडियाखानाको गेट बन्द भइसकेपछि कोही भित्र छिरेको देखिँदैन, उनीहरु पहिल्यै गएर लुकेका हुनसक्ने प्रारम्भिक निष्कर्ष छ’, एसएसपी अधिकारीले भने, ‘चिडियाखाना छिर्नलाई अर्को कुनै ठाउँ छैन, तर चोरी गर्ने उद्देश्य भएपछि अनेक उपाय पनि आउँछ ।’ 

ती युवक रेड पाण्डा चोर्ने नियतले नै चिडियाखाना प्रवेश गरेको प्रहरीको विश्लेषण छ । ‘अहिले त्यहाँ एउटा मात्रै रेड पाण्डा छ, सामान्य मान्छेलाई जनावर चोर्ने सोच र ख्याल नै हुँदैन, तर दुई युवक रेड पाण्डाबारे राम्रो जानकार व्यक्ति हुन् भन्नेमा दुविधा छैन’, उनले थपे । 

सिसिटिभीमा युवकहरुको अनुहार स्पष्ट नदेखिएको कारण पहिचान गर्न कठिन भएको प्रहरीको भनाई छ । तर, ढिलो चाँडो उनीहरुलाई समातेरै छाड्ने एसएसपी अधिकारीको विश्वास छ । उनले भने, ‘झोलामा हालिसकेको रेडपाण्डा छाडेर भागेका छन्, क्यामेरामा अनुहार राम्ररी देखिएको छैन, तर हामीले यस्तै गतिविधिमा संलग्न भएका, पक्राउ परेर रिहा भएकाहरुको पूरानो डाटा निकालेर अनुसन्धान गरिरहेका छौँ, जसरी पनि समातिन्छन् ।’

उच्च पहाडी भूभागमा पाइने दुर्लभ रेड पाण्डा छिमेकी देश चीनमा अवैध रुपमा निकै महँगोमा किनबेच हुने गरेको बताइन्छ । एउटा रेड पाण्डा ३० लाखभन्दा बढी नेपाली रुपैयाँ बराबरमा चीनमा बिक्री वितरण हुने गरेको अवैध धन्दामा संलग्न भएकाले यसअघि प्रहरीलाई जानकारी दिएका थिए ।

टिप्पणीहरू