रविलाई छुटाउने रिट आज पनि हेर्न नमिल्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको जिकिर गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र डा. मनोजकुमार शर्माको संयुक्त इजलास नम्बर ४ को क्रमसंख्या 'घ' मा पेशी तोकिएको मुद्दा हेर्न नमिल्नेमा गएको हो । न्यायाधीश पोखरेल वकिल छँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि रिट हेर्न नमिल्नेमा राखिएको थियो ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रविलाई गैरकानूनी थुनामा राखेको दाबी गर्दै श्रीमती निकिता पौडेल लामिछानेले गत वैशाख ७ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
तर, रिटमा विपक्षी बनाइएको प्रधानमन्त्रीको सचिवालयले म्याद बुझ्न अस्वीकार गरेपछि वैशाख २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर अर्को निवेदन परेको थियो । त्यसपछिको सुनुवाइमा न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले कार्टन देखाऊ आदेश गरेकोमा त्यसयता भने तीनपटक हेर्न नमिल्नेमा परेको छ
टिप्पणीहरू