सडकमा बिस्कुन सुकाउन नगरपालिका सहमत
सडक ढाकेर जथाभावी बिस्कुन (अन्न) सुकाएको स्थानमा सवारी दुर्घटनाको जोखिम अत्यधिक हुन्छ । तर, मोरङको रंगेली नगरपालिकाले यात्रु र मालवाहक सवारी साधनहरु गुड्ने व्यस्त राजमार्गमा बिस्कुन सुकाउन दिने भएको छ ।
सडकमा मकै सुकाएकै कारण गत सोमबार स्थानीय निचामारीमा भएको सडक दुर्घटनामा १३ वर्षीया बालिकाको मृत्यु भयो । आक्रोशित स्थानीयको मागपछि व्यस्त राजमार्गमा २० प्रतिशत भागमा बिस्कुन सुकाउन पाइने सहमति गरिएको छ ।
बिस्कुन सुकाएकै कारण बालिकाको मृत्यु भएपछि रंगेली नगरपालिकाले सडकमा बिस्कुन सुकाउन नपाउने सूचना जारी गरेको थियो । अनुगमनका क्रममा सडकमा सुकाएका केही बिस्कुन नगरप्रहरीले नियन्त्रणमा लिएको छ ।
बालिकाको मृत्युपछि यात्रुवाहक बस तोडफोड गरियो । पीडित परिवार र आफन्त आक्रोशित भए । नगरपालिकाले सडकमा मकै सुकाउन रोक लगाएपछि अरु स्थानीय आक्रोशित बनेका हुन् । उनीहरुले नगरपालिकाको उक्त निर्णयको विरोधमा संघर्ष नै थाले ।
बिस्कुन सुकाउन पाउनुपर्छ भन्दै स्थानीय आन्दोलित भएपछि बिहीबार रंगेली नगरपालिकाले पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै सबै सडकमा २० प्रतिशत भाग ढाक्ने गरेर मात्र सुकाउन पाउने सहमति गरेको हो । नगरपालिकाका उपप्रमुख झुमाकुमारी पराजुली, प्रशासकीय अधिकृत प्रदिप साह, नेपाली काँग्रेसका जागरनाथ मण्डल, एमाले अध्यक्ष रामचिमोरिया, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि प्रल्हादकुमार खतिवडा, किसान प्रतिनिधि लक्ष्मण साह र रंगेली प्रहरी प्रतिनिधिसहितको रोहवरमा हिजो राजमार्गको २० प्रतिशत भागमा बिस्कुन सुकाउन दिने सहमति गरिएको बताइन्छ ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा कृषकहरुको मकै भण्डार गर्ने समयमा सुकाउने ठाउँको अभाव भएकाले नगरपालिकाभित्र पूर्व–पश्चिम हुलाकी राजमार्ग र उत्तरदक्षिण कानेपोखरी रंगेली सडक क्षेत्रमा २० प्रतिशत सडक ढाकेर धान, मकै लगायतका अन्नबाली सुकाउन पाउने भनिएको हो । नगरपालिका बाहिरका व्यक्तिलाई भने कुनैपनि अन्नबाली सुकाउन नदिने भनिएको छ ।
यसअघि गत सोमबार पोखरीबाट रंगेली आउँदै गरेको को.१ ख २१३० नम्बरको यात्रुबाहक बसले अकस्मात बाटो पार गरेकी १३ वर्षीया बालिका मीरा मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । तोडफोड गर्न थालेपछि चालकले बसलाई इलाका प्रहरी कार्यालय रंगेली पुर्याएका थिए । घटना अनुसन्धान गर्ने क्रममा सडकमा पूरै ढाकेर मकै सुकाएको र बाटो पार गर्दै गरेकी बालिकालाई जोगाउने ठाउँ नहुँदा बसले ठक्कर दिएको यथार्थ खुलेको थियो । त्यसपछि नगरपाकिाले आफनो क्षेत्रभित्रका राजमार्गमा अन्नबाली सुकाउन प्रतिबन्ध लगाएको हो ।
र स्थानीयले नगरपालिकाकै कारण कृषकहरुले सडकमा बिस्कुन सुकाउन बाध्य भएको आरोप लगाउँदै आन्दोलन चर्काए । रंगेलीका सुरेन्द्र मण्डलका अनुसार नगरपालिकाले माटो ओसारपसारमा चर्को कर लगाउँदा घर आँगन पुर्न नपाउँदा सडकमा बिस्कुन सुकाउनु पर्ने बाध्यता देखिएको भन्दै बिस्कुन सुकाउन पाउनुपर्ने माग राखेका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सडक दुर्घटना पनि ठूलो विपदका रुपमा देखापारिसकेकाले सडक पूरै ढाकेर बिस्कुनसँगै गोबर, दाउरासमेत सुकाउने गर्दा झन् धेरै समस्या बढेको बताए । उनका अनुसार तराईका जिल्लामा सडक ढाकेर बिस्कुन सुकाउने चलन संस्कृतिकै रुपमा विकास भइरहेको छ । सिडिओ यादवले भने, ‘बिस्कुन सुकाउन पाउनुपर्छ भनेर सयौं मान्छे सडकमा उत्रिएपछि पालिकाले अवस्था शान्त बनाउन सहमति गरेपनि त्यो दिगो समाधान होइन । जीवन सुरक्षाको हिसाबले यो गम्भीर विषय हो ।
टिप्पणीहरू