युद्ध जितेको खुशियालीमा ‘यौम ए–तशकुर’
काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘यौम ए–तशकुर’ (कृतज्ञता दिवस) मनाएको छ । भारतविरुद्ध सफल सैन्य अपरेसनको सम्झनामा दूतावासले विशेष कार्यक्रम आयोजना गरेर यौम ए–तशकुर मनाएको जनाएको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्ररर एच हाश्मीले दूतावास प्राङ्गणमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराउँदै भारतविरुद्ध प्रत्याक्रमणको क्रममा मारिएका सैनिक अधिकारी र नागरिकप्रति सम्मान व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
राजदूत हाश्मीले भने, ‘हामी सर्वशक्तिमान अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दछौं । हालैको भारतीय आक्रमणको सामना गर्दा फेरि पनि देखिएको अटल विश्वास, एकता र दृढ संकल्पको लागि पाकिस्तानका साहसिक जनता र सैनिक अधिकारीप्रति मनैबाट सम्मान व्यक्त गर्छौं ।’
युद्धको क्रममा शान्ति र स्थायित्वको लागि अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकाबारे चर्चा गर्दै उनले भविष्यमा समेत पाकिस्तान कुनै पनि आक्रमणविरुद्ध लड्न तयार रहेको बताए । कार्यक्रममा दूतावासका अधिकारी, नेपालमा बसोबास गर्ने पाकिस्तानी समुदायका सदस्य र तिनका परिवारको सहभागिता थियो । उनीहरुले पाकिस्तानको सुरक्षा फौजले प्रदर्शन गरेको भूमिका स्मरण गर्दै शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना गरेको बताइन्छ ।
टिप्पणीहरू