भोलि राजा फर्काउन आज तालिम

भोलि राजा फर्काउन आज तालिम

‘राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’ ले भोलिको प्रदर्शनमा खटिने स्वयंसेवकहरुलाई तालिम दिएको छ । 

विभिन्न समूहमा छरिएर रहेका राजावादी समर्थक तथा कार्यकर्तालाई काठमाडौँको एक बैंक्वेटमा भेला गरेर प्रशिक्षण दिइएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका कमल थापाले भोलिको रणनीतिबारे जानकारी गराउँदै सोहीअनुसार परिचालन हुन निर्देशन दिएका छन् ।  

आन्दोलनमा हुनसक्ने घुसपैठ रोक्न व्यवस्थित हिसाबले स्वयंसेवक परिचालन गर्न लागेको राप्रपाका नेताले जनाएका छन् । राजेन्द्र लिङ्गदेनले हिजाे प्रदर्शनमा दुइ हजार स्वयंसेवक परिचालन हुने बताएका थिए । 

राजावादीहरुले अहिलेसम्म आन्दोलनका लागि स्थानीय प्रशासनसँग अनुमति लिएका छैनन् । व्यवस्थाविरुद्ध विद्रोह भएकाले अनुमति लिईरहन नपर्ने उनीहरुको ठहर छ ।  स्थानीय प्रशासनले सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै रिङरोड बाहिर मात्रै पदर्शन गर्न दिने भएपछि राजावादीहरु अनुमतिबिनै रत्नपार्कमा वरपर सभा गर्ने तयारीमा छन् । 

विगतमा नवराज सुवेदीलाई अस्वीकार गरेका लिङ्गदेन र थापासमेत अहिले एकै ठाउँमा जुटेकाले भोलिको आन्दोलनमा २० हजार हाराहारामा मान्छे आउने सरकारी पक्षको अनुमान छ । ५० हजार कार्यकर्ता उतारेर गणतन्त्र मिल्काउने धम्की दिँदै आएका राप्रपाका नेताहरुले २० हजार मान्छे काठमाडौँ आइसकेको दाबी गरेका छन् ।

टिप्पणीहरू