‘बेपत्ता’ मन्त्रीको दावी- जो आए पनि सक्दैन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको माग र बजारअनुसार पर्याप्त मल पुर्याउन नसकिने बताएका छन् ।
नेपाल डेरी एसोसिएशनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तत्कालको परिस्थितमा जो मन्त्री भए पनि किसानले मागेजति मल पुर्याउने अवस्था नरहेको दावी गरेका हुन् । मन्त्री अधिकारीले बजारको माग पूरा गर्न १३ लाख टन मल आवश्यक पर्ने भए पनि साढे चार लाख टनमात्रै आयात गर्न सकिएको बताए ।
‘मलको हाहाकार छ, यो हुन्छ नै जो मन्त्री भए पनि’, उनले भने, ‘गत वर्ष साढे चार लाख टन आयो, त्यो भन्दा बढी आउँदै आउँदैन, तर बजारको माग आपूर्ती गर्न ११ देखि १३ लाख टन चाहिने अवस्था छ’ ।
यद्यपि, सरकारले मलको माग पुरा गर्न पहल गरिरहेको उनको भनाई छ । उता सत्तारुढ दलकै नेताहरुले किसानलाई पर्याप्त मल पुर्याउन सकिने भएपनि मन्त्री अधिकारीले चासो नदिएको बताउँदै आएका छन् ।
एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले मलसँगै मन्त्री अधिकारी पनि ‘बेपत्ता’ भएको भन्दै कटाक्ष गरेका छन् । ‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्’, उनको टिप्पणी छ, ‘तर हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन्, कसैले थाहा नपाउने भाे !’
टिप्पणीहरू