पग्ल पग्ल तिमी पग्लिनुपर्छ !

पग्ल पग्ल तिमी पग्लिनुपर्छ ! तस्बिर एआईको सहयोगमा

पग्ल पग्ल तिमी पग्लिनुपर्छ 
पहाडमाथि हिमाल भएर अग्लिनुपर्छ
रुखो पत्थर जस्तो सीमित घेरामा नबस
हिउँझैं पग्लिएर फैलिनुपर्छ। 

बादल बर्सिएर हिउँ खसेसरी
हिँउ पग्लिएर नदी बगेसरी 
बग्नुपर्छ तिमी भावनाहरुमा ।
पागल भन्दै दुनियाँले खिसी गर्लान्, गर्नदेऊ

तर पग्लिन नछोड
किनकि तिमीलाई आकाश छुनुछ 
पानी पग्लिएर बाफ भएर
उचाइतिर उडान भर्नुछ तिमीले ।
अनि त तिमीलाई देखेर दुनियाँले भन्नेछन्
अरे, बाफरे बाफ । 

त्यसैले,
पग्ल पग्ल तिमी पग्लिरहु
मूढ शरीरमा अड्केर नबस्नु 
अजरअमर आत्माको यात्रा गर्नु
प्रेम प्रेम भन्छौ हैन तिमी ?
त्यसको लागि त तिमी पग्लिनैपर्छ 
आँसु बनेर छल्किनुपर्छ 
रसाउनुपर्छ एकअर्कामा सोसाउनुपर्छ । 

प्रेम त्यही हो जहाँ दुईआत्मा घुल्छ
छुट्टिनै नसक्नेगरी  
त्यसैले, 
पग्ल पग्ल तिमी पग्लिनुपर्छ ।

हृदयलाई जतिसक्दो पगालिदेऊ । साँच्चै एकपटक पग्ली हेर त कति मजा छ पग्लिनुमा– सरर्र, सलसल, तप तप तप । आहा ! जीवनको वास्तविक आनन्द यसैमा छ । त्यसैले पग्लिऊ तिमी, बग्दै जाऊ भावनाहरुसँग । आफ्ना भावना र विचारहरुलाई मथिनैराख । जो जति बढी भावुक हुन्छ, उति नै उत्कृष्ट र महान विचार सिर्जना गर्दछ भन्ने नबिर्स । एउटा विन्दुमा पुगेपछि तिम्रो शक्ति आफैं सञ्चित हुनेछ । त्यो बादललाई नै हेर, सूर्यलाई ढाकिदिने सामर्थ्य राख्छ । त्यो मडारिँदा, गर्जिंदा धर्ती काँप्छ । तिम्रो प्रवेगबाट तर्सिएर मानिसहरुले तिमीलाई थुन्ने, छेक्ने कोसिस पनि गर्नेछन् । तटबन्धले नदीको धार बदलिएपनि सार कहिल्यै फेरिन्न । पानी, बाफ, बादल र वर्षा उसको चक्र सधैं चलिनै रहन्छ । बाफ हल्का भएरै माथि जान्छ, पछि भारी वर्षा र असिना ल्याउँछ ।   

भावनाका लहरहरु जसरी चल्छन्, उसैगरी लहरिँदै जानु । भन्नेले अस्थिर भन्लान् । भन्न देऊ । अरुको पर्वाह नगर्नू । सदा आफ्नो मनको सुन्नू । यहाँ कोही पर्फेक्ट छैन । चलिआएको परम्परामै चलेका छन् सबै । ढुंगामुढा जस्तो अरुले जता लान्छन्, त्यतै जाने नहुनू । कागले कान लग्यो भनेर कागको पछि दौडिने भीडबाट तिमी अलग हुनुपर्छ । मुढ हुुनु त मूर्खता हो । तिमीले आफ्नो सिद्धान्त आफैं बनाउनुपर्छ ।     

सुन पनि नपग्ली गहना बन्दैन, फलाम नपग्ली हतियार हुँदैन । जीवनमा केही गर्नलाई अलिअलि भएपनि पागलपन चाहिन्छ भनी सबैले मानिआएकै कुरा हो । पग्लिएर नै फिँजिन सकिन्छ । अरुले के सोच्लान् भन्नेतिर लागियो भने अरुकै अनुसार आफूलाई ढाल्न पुगिन्छ । त्यो भनेको आफ्नोपन हराउनु हो । त्यसैले निसंकोच पगाल आफूलाई । दुःखकष्टले नै हो मान्छेलाई निर्खाने । पर्गेल्नुपर्छ तिमीले आफूलाई । रापतापसँग नडराऊ । पग्लिनलाई तिमी तातिनैपर्छ । तपाउ आफूलाई, जलाऊ, गलाऊ अनि तप तप तप पग्लिँदै जाऊ । तप, जप र ध्यानमा लीन होऊ । मनको वेगसँगै बहाइरहु आफूलाई । भावनाहरुमा डुबुल्की मार्दै जाऊ । ज्ञानको सागर तिम्रै प्रतीक्षामा हुनेछ र पिँधमा मोती चुम्नेछौ तिमीले । बस तिमीमा एकाग्रताचाहिँ हुनुपर्छ । 

मैनबत्ती वा दियोझैं आफैं जलेर सकिनु परेपनि पग्लिन नछोड, अरुले त उज्यालो पाउँछन् । प्रेम पनि यस्तै परम हुन्छ । प्रेमात्मा नै परमात्मा हो । प्रेमले भरिएको हृदय सदा कोमल हुन्छ । अरुको पीडाले पनि पगाल्छ । करुणा छचल्किएर आँसुमा पोखिन्छ । रुन नधकाउनु । पानी परेपछिको आकाश कसरी खुल्दछ ? धित मरुन्जेल पीडामा रोएपछि नै मन शान्त हुन्छ । कहीँ कहीँ शान्त तलाउ भएर बस । अटेनौ भने सीमा नाघेर पनि बग्नुपर्छ तिमी ।

तापमा पग्लिनेमात्र होइन, आगोलाई नै निभाउन सक्ने अचम्मको हुन्छ पानी । तप तप तप पग्लिँदै खसेर ढुंगालाई समेत गलाउन र फुटाउन सक्छ । साँच्चै पागल भनिएकाहरु पनि अचम्मकै हुन्छन् । कसैको पर्वाह छैन उनीहरुलाई । उनीहरु नै निष्फिक्री बाँच्दछन् । साना बच्चा पनि त्यस्तै अचम्मका हुन्छन् । मनमा जे लाग्यो, त्यही गर्छन् । छिनमै हाँस्छन्, छिनमै रोइदिन्छन् । उनीहरुलाई फकाउन धेरै सजिलो छ, किनकि छिट्टै पग्लिन्छन् । कोमल हृदयमै ईश्वरको बास हुन्छ भनिन्छ र बच्चालाई ईश्वरको रुप त्यसै भनिएको होइन । जब मान्छे अरुका ज्ञानमा चल्न थाल्यो, मूर्ख मूर्ख हुँदै गयो सायद । सत्यको खोजी गर्नै छोडिदिए ।

पग्लने चीज परिवर्तनशील हुन्छन् तर नदीमा, समुद्रमा, बाफमा, हिमालमा, बादलमा सबैतिर अंश त पानीकै हुन्छ । जति पग्लिएर आवेगहरु फेरिएपनि विवेक कहिल्यै नगुमाउनु । मानवीय गुण हो विवेक । मानवता र प्रेम नै यसको अंश हो ।
 
मान्छेहरु सबै प्यासी प्यासी छन् । कंक्रीटै कंक्रीटले जमोठ छ दुनियाँ । पग्लिने चीज असाध्यै कम छन् । तिमी त्यही थोरैमध्ये हुनुपर्छ । पग्लिएको मनले मात्र बुझाउन सक्छ प्रेम प्यास । प्रेममा अन्तरआत्मा छचल्किनुपर्छ । शरीर हेरेर गरिने प्रेम त केवल वासना हो । मानिसहरु अरुलाई मोहित पार्न शरीरमा अत्तर छर्किन्छन् । तर त्यो त त्यही अत्तरप्रतिको आकर्षण हो, तिमी स्वयम्को सुगन्ध होइन । मान्छे भित्रैदेखि पग्लिँदै आएको पसिना र बाफको गन्धले एकअर्कालाई सम्मोहित गर्दछ भने त्यो प्रेम हो । किनकि प्रेम पग्लिन्छ । 

पागलप्रेम भन्छौं हामी, प्रेमप्यास भन्छौं । पग्लिएकै चीजले हो तिर्खा मेटाउने । असीम प्रेममा पागलपन अवश्यै हुन्छ । कसैको मायामा आफैंलाई मेटाउन पछि नपर्नू । प्रेम प्राप्ति होइन, त्याग हो भनिन्छ किन ? आफ्नो निश्चित आकार प्रकार र दम्भ तिमी राख्दै नराख्नू । तब न प्रेम भरिन्छ दिलमा टिलपिल टिलपिल । अटेनौ भने बरु पोखाइदेऊ आफूलाई । पोखिएर पनि छुट्दैनौ । किनकि तिम्रो अंश त उसैमा छ । यादका लहर कति आनन्ददायी हुन्छ । प्रेम त्यो चीज हो, जहाँ कल्पनाको जादुगरी हुन्छ ।     

त्यसैले पगाल आफूलाई, रसाऊ अनि तिर्खाएको आँतलाई छलछली भिजाइदेऊ । तातिउ, मातिउ तर विचलित नहोऊ, निरन्तर चलिरहनु तिमी । पहाड, चट्टान र बाँधहरु तिम्रो बाटो छेक्न उद्यत भएपनि त्यसको पर्वाह नगरी अविरल प्रवाहित भइरहने खोलासरी हुनु । रुखासुक्खा, उजाडउराठ फाँटहरुलाई सिँच्नुछ तिमीले । शीत जस्तै तप्किएर, पानी जस्तै बर्सिएर खडेरी मनमा शीतलता छरिदेऊ । प्रेमले छलछली रुझाइदेऊ । 

पग्लिने पानी धर्ती–आकाश, सतह र जमिनभित्रैसम्म फैलिन्छ । आकाश र धर्तीबीच हावाको साइनो झन् अभेद्य छ । यस्तै हावा र पानीको पनि अनौठो कनेक्सन छ । हावामा पानी छ, पानीमा हावा । त्यस्तै एकअर्कामा नदेख्नेगरी घुलेको हुनुपर्छ दुई–आत्मा प्रेममा । सास र त्यसैको ध्वनि रुप शब्दजस्तै । पग्लिने चीजमात्रै घुलनशील हुन्छन् ।  आफैंलाई भुलेर कसैलाई गरिने माया पो माया त । त्यहाँ अरुको कुनै गुन्जायस नै नहोस् । 

धर्तीको पानी बाफ भई आकाशमा जान्छ जसरी, दुई व्यक्तिको प्रेम पनि सासैले डोरिनुपर्छ । हर–श्वासमा उसको नाम होस्, ढुकढुकीमा उसैको चाहना धड्किरहोस् । मनमा उसैको माया पग्लिरहोस् तप तप तप । त्यसैले रक होइन तिमी रसिक बन । मनमा प्रेमको मूल फुटाएर बगिरहु । सोचहरुको उतारचढावमा नअल्झिऊ । बरफको गुच्छा जस्तो गाँजिएर पनि फुकिँदै र बग्दै, बग्दै जाऊ । फोहोरमैला आउँछन् मिसिन, त्यो पनि बगाइदेऊ । इज्जत को पर्वाह नगर तिमी । धुने पखाल्ने पानी नै हो, मान्छेले पिउने र ईश्वरलाई चढाउने जल पनि । जसले जसरी लिन्छन्, लिनदेऊ । तर तिमी पग्लिन नछोड । आखिरी समुद्रमा त सङ्ग्लिनै छ । छोक्राबोक्रा सबै थिग्रिएको शुद्ध पानी नै त बाफ बनेर आकाशमा जाने हो । 

आफ्नो कामधन्दा गरिनै राख । भावनामा बग्दै कल्पनाको उडान पनि भर्दै भर्दै जाऊ । थाहै होला, कल्पना नै आविष्कारको जननी हो भन्ने । यो दुनियाँमा ज–जसले महान कर्म र नयाँ नौलो आविष्कारहरु गरे, उनीहरुलाई अरुले पागल भनेर गिज्याएकै हुन् । हवाइजहाज, साईकल, मोटर, मेसिन, बत्ती, मोबाइल, कम्प्युटर आदि सबै सबै पग्लिएको दिमागकै उपज हुन् ।  पग्लिँदै पग्लिँदै ज्ञानको त्यो विन्दुमा पुगे । हाम्रै कवि लक्ष्मीप्रसाद देवकोटालाई पनि पागल भन्थे मानिसहरु । डिप्रेसनकै अवस्थामा लेखिका जेके रोलिङ्गले ह्यारीपोटर लेखेकी होइनन् ? एकदिन पखेटा मेसिन पनि बन्नेछ र मानिसहरु पखेटा फटफटाउँदै उड्ने दिन नआउला भन्न सकिन्न । यसरी नै तिमी संसारको अमूल्य कृति बन्नुपर्छ । त्यसैले, पग्ल पग्ल तिमी पग्लिनुपर्छ ।  

टिप्पणीहरू