प्रेससँग असम्बद्धित कानून आकर्षित : काउन्सिल

प्रेससँग असम्बद्धित कानून आकर्षित : काउन्सिल

प्रेस काउन्सिल नेपालले प्रेससँग असम्बद्ध कानून आकर्षित हुन थालेको बताएको छ ।

प्रेसमाथि नियमन र कारबाही गर्ने अधिकार काउन्सिललाई मात्र भएपनि पछिल्लो समय प्रेससँग असम्बद्ध कानूनहरु आकर्षित हुन थालेकोमा ध्यानाकर्षण भएको जनाएको छ । 

काउन्सिलले प्रेस स्वतन्त्रता निर्वाध उपयोगको वातावरण बनाउन तथा यस सम्बन्धमा कुनै गुनासो, उजुरी भएमा काउन्सिलमा सम्पर्क गर्न आग्रह गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय प्रेससँग असम्बद्ध कानूनहरु आकर्षित हुन थालेको देखिएको छ । अतः प्रेस स्वतन्त्रता निर्वाध उपयोगको वातावरण बनाउन तथा यस सम्बन्धमा कुनै गुनासो, उजुरी भएमा काउन्सिलमा सम्पर्क गर्न काउन्सिल सम्बद्ध पक्षसँग आग्रह गर्दछ ।’

काउन्सिलले इन्टरनेट प्लेटफर्ममार्फत गरिने कतिपय पत्रकारिता र सञ्चारकर्ममा जानी–नजानी फैलाइएका भ्रम, विकृतिबाट पत्रकारितालाई नै बद्नाम बनाउने काम भइरहेको पनि जनाएको छ । कतिपय जिम्मेवार सञ्चारकर्मी, पत्रकार मर्यादित, संयमित, अनुशासित नहुँदा पत्रकारिता जगतमाथि नै प्रश्न चिह्न खडा भएको काउन्सिलको ठहर छ । 

यद्यपि, प्रेस स्वतन्त्रताको दुरुपयोग र हनन् हुन नदिन काउन्सिल प्रयत्नशील रहेको जनाइएको छ । २०८१ साउन १ गतेदेखि ०८२ असार १५ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ८४ र दुरुपयोगका पाँच वटा घटना भएको बताइन्छ ।

टिप्पणीहरू