एनसेलले अब ‘९७१’ रेञ्जबाट पनि नम्बर उपलब्ध गराउने
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ग्राहकलाई ‘९७१’ रेञ्जबाट पनि मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।
साउन दोस्रो साताभित्रै उक्त नम्बरको नयाँ सिम वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो रेञ्जको नम्बर वितरण गर्नका लागि अनुमति दिएको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर ९८०, ९८१, ९८२, ९७० मार्फत् सेवा दिन अपुग भएपछि नयाँ नम्बर प्रदान गरिएको हो ।
यो नयाँ नम्बर प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान) को नियम अनुरुप जारी भएको एनसेलले जनाएको छ । दूरसञ्चार सेवाबाहेक विभिन्न महत्वपूर्ण काम जस्तैः वान टाइम पासवर्ड (ओटीपी), मोबाइल एप र वेबमा आधारित सेवाका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।
एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैरसरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई नयाँ नम्बर हाल सञ्चालनमा रहेका अन्य रेञ्जसरह ग्राहक सेवाका लागि आआफ्नो प्रणालीमा इन्टिगेट तथा अपडेट गर्न आग्रह गरेको छ ।
टिप्पणीहरू