रवि पत्नी पत्रकारहरुविरुद्ध मुद्दा हाल्दै, पछि हट्दै

रवि पत्नी पत्रकारहरुविरुद्ध मुद्दा हाल्दै, पछि हट्दै

सहकारी ठगीको अभियोगमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पत्रकारहरुविरुद्ध दायर गरेको मुद्दामा आज तोकिएको पेशी स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलास नम्बर ५ मा पेशी तोकिएको मुद्दा उनकै कानुन व्यवसायीबाट स्थगित गराइएको हो । उनको पक्षबाट कानुन व्यवसायी तथा रास्वपा नेता यज्ञमणि न्यौपानेले दिउँसो अदालत पुगेर पेशी स्थगित गरेका थिए । योसँगै पेशी स्थगित गर्ने निकिताको कोटा सकिएको छ ।

भरत जङ्गम अध्यक्ष र निकिता उपाध्यक्ष रहेको साइ स्वागत सहकारी घोटालाबारे समाचार प्रकाशन गरेबापत जनआस्था सम्पादक किशोर श्रेष्ठ,कान्तिपुर,अनलाइनखबर, नागरिक,अर्थ सरोकार, उकेरालगायतका सञ्चारमाध्यमलाई विपक्षी बनाउँदै उनले २०८० चैत २३ गते लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी थिइन् ।

०८०–सि४–३८९० दर्ता नम्बर भएको मुद्दा ६ पटक पेशी चढेकोमा तीन पटक स्थगित भएको छ । पछिल्लोपटक असार ५ गते न्यायाधीश बलराम लम्सालको इजलासमा पेशी चढेको थियो । तर, वादीकै कानुन व्यवसायीबाट स्थगित गरियो । श्रीमान् सहकारी ठगीकै अभियोगमा जेलमा रहेको बेला अर्को मुद्दा हारे बाहिर नराम्रो हुने भन्ठानेर उनले मुद्दा स्थगित गराएको स्रोतको जिकिर छ । 

‘अघिल्लोपटक पेशी सारिन्,अहिले पनि । अब सार्न मिल्दैन । पहिले वकिलले उचालेर मुद्दा हालिन्,अहिले उनलाई नै निल्नु न ओकाल्नु भएको छ । हार्नुभन्दा बरु सुनुवाइ नै नगरौं भन्ने पक्षमा छिन् उनी’,स्रोतले भन्यो ।

टिप्पणीहरू