बिचौलिया रोक्न बैरोको गेटमै नम्बर
वैदेशिक रोजगार विभागले बिचौलिया अन्त्य गर्न नयाँ उपाय अपनाएको छ । सेवाग्राहीलाई बिचौलियाबाट जोगाउनका निम्ति विभागले विभिन्न शाखाका निर्देशकसहित सम्बन्धित कर्मचारीको मोबाइल नम्बर भएको बोर्ड गेटमा टाँगेको छ ।
श्रम स्वीकृतिसम्बन्धी कामका लागि निर्देशक उपेन्द्रराज पौडेल, शाखा अधिकृत ध्रुव देवकोटा, राहत तथा उद्धार शाखा सम्बन्धमा निर्देशक लवराज जोशी, शाखा अधिकृत पुष्पराज शर्मा, अनुसन्धान तथा मुद्दासम्बन्धी विषयमा निर्देशक भीमसेन काफ्ले, अनुसन्धान अधिकृत निर्मलकुमार पुनको नम्बर दिइएको छ ।
त्यसैगरी, जीटुजी सम्बन्धमा निर्देशक गिरीराज ज्ञवाली, इपीएसका लागि निर्देशक राजकुमार राई, प्रशासन, अनुगमन, संस्था र आईटीसम्बन्धी कामका लागि निर्देशक टिकाराम ढकाल, शाखा अधिकृत तोरण पराजुली, भोजराज खतिवडा र कम्प्युटर इञ्जिनियर नरेश दासको नम्बर राखिएको छ ।
सेवाग्राहीले सिधै फोन गरेर जिज्ञासा, गुनासो राख्न र जानकारी लिन सक्ने विभागले जनाएको छ । साथै, समग्र विषयमा जानकारी लिन उपमहानिर्देशक तथा विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटी तथा गुनासो सुनुवाइका लागि महानिर्देशक कमल प्रसाद भट्टराईको सम्पर्क नम्बर राखिएको छ । यसबाट सेवाग्राहीले सहजता महसुस गर्ने विश्वास विभागले लिएको छ ।
सरकारको उद्देश्य, विभागको प्रयास
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूर्तरुप दिन विभागले धमाधम काम गरिरहेको दाबी गरेको छ । जसमध्ये प्रमुख वैदेशिक रोजगारीमा जाने नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्नु हो । हाल संस्थागततर्फ १११ र व्यक्तिगततर्फ १८५ वटा मुलुक वैदेशिक रोजगारीका लागि खुला गरिएको छ । जसमध्ये १७४ देशमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
विभागले अनलाइनमार्फत आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । संस्थागततर्फ इजाजतप्राप्त संस्थाले पूर्व श्रम स्वीकृतिको लागि अनलाइनबाट निवेदन दिएकै दिन कार्यालय समयभित्र पूर्व श्रम स्वीकृति पाउने छन् ।
त्यस्तै, वैदेशिक रोजगारीमा ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थुनुवाहरुलाई वैदेशिक रोजगार न्यायाधिकरणमा लैजान र ल्याउन सवारी साधनको अभाव भएकाले अर्थ मन्त्रालयसँगको समन्वयमा डेडिकेटेड सवारीको प्रबन्ध मिलाइएको विभागले जनाएको छ ।
ठगी नियन्त्रण र छिटोछरितो राहत, उद्धार एवं गुनासो सम्बोधन गर्न क्युआरटी टोली परिचालन गरिएको छ । विभागलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गर्नुका साथै मुद्दा शाखालाई आधुनिक प्रविधियुक्त बनाइएको छ ।
विभागको आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरी आएकै दिन कार्य फछ्र्यौट गर्ने, कार्यालय सरसफाइ एवं सेवा प्रवाहमा व्यवसायिक संस्कृतिको विकाससँगै इजरायल र ईपिएस कोरिया शाखाको कामको निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
यसैबीच, सर्वोच्चमा तनाव हुनसक्ने स्थितिलाई ख्याल गर्दै संवैधानिक इजलासका पाँचै जना न्यायाधीश अहिले बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा भेला भएका छन् ।
टिप्पणीहरू