अखिल क्रान्तिकारीको क्रान्तिकारी माग
नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विद्यालय तहको पाठ्यपुस्तकमा जनयुद्धसम्बन्धी विषय समावेश गर्न माग गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुवीर पन्तलाई ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीले १० वर्षे जनयुद्धको इतिहास र त्यसले समाज रुपन्तरणमा खेलेको महत्वपूर्ण भूमिकाको विषयमा विद्यालय तहदेखि नै पठनपाठनको व्यवस्था शिक्षा विधेयकमा गर्न माग गरेको हो ।
साथै, जनयुद्धको क्रममा शहीद एवम् बेपत्ताहरुको सन्ततिलाई पठनपाठनका लागि देशभर खोलिएका विद्यालयमा उचित व्यवस्थापनबारे विधेयकबाटै अलग्गै व्यवस्था गर्न पनि क्रान्तिकारीको माग छ ।
सार्वजनिक विद्यालयमा पढाउने शिक्षक र राज्यकोषबाट सेवासुविधा लिने व्यक्तिका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने थप कानूनी व्यवस्था तथा इसिडी सहजकर्तालाई शिक्षक मान्यता दिई अस्थायी र राहत शिक्षकका हकमा ‘गोल्डेन ह्याण्डसेक प्याकेज’ को व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।
विद्यार्थीलाई मातृ, नेपाली र अन्तर्राष्ट्रिय भाषा अनिवार्य रुपमा सिकाउनुपर्ने, राष्ट्रिय पाठ्यक्रम परिषद् र पाठ्यक्रम विकास केन्द्रलाई गाभ्न र ऐन प्रारम्भ भएपछि पाँचदेखि दश वर्षभित्रमा निजी विद्यालय अनिवार्य रुपमा शैक्षिक वा सार्वजनिक गुठीमा रुपान्तरणको व्यवस्था मिलाउन क्रान्तिकारीले आग्रह गरेको छ ।
टिप्पणीहरू