एक प्रेमपूर्ण संसारको परिकल्पना

एक प्रेमपूर्ण संसारको परिकल्पना

हामी आफू मर्नै नपरे हुन्थ्यो जस्तो गर्छाैं । आफ्ना लागि अरुबाट प्रेममात्र चाहन्छौं । ईश्वरको समेत प्रेम पाउन स्वार्थ राखी पूजाआजा गर्ने हामी चाहिँ स्वयं अरुलाई दुःख दिन अभ्यस्त छौं । 

यो जगतमा हामीजस्ता र हामीभन्दा साना–मसिना अनि ठूल्ठूला भीमकाय जीव थुप्रै छन् । कीराफट्याङ्ग्रा, चराचुरुड्डी र सरिसृप बाहेक स्तनधारी पनि धेरै प्रजाति छन् । उनीहरु पनि बच्चा जन्माउने र हुर्काउने गर्छन् । सहबास र आपसमा प्रेमालाप गर्छन् । अण्डा कोरल्ने चरा, कुखुरादिले समेत आफ्ना बच्चालाई निकै जतन गरी प्रेमसाथ हुर्काउँछन् । किनकि उनीहरुलाई पनि बाँच्न मन छ । तर हामीले उनीहरुलाई बाँच्नै दिएनौं । ज्यूँदै मारिरहेकाछौं ।

आफ्नो स्वाद र सन्तुष्टिको लागि मान्छे अरुलाई मारेर खान पछि परेन । अरु प्राणीलाई प्रेमको सट्टा हिंसा र दमन गर्दै आएका छौं भने ईश्वरले चाहिँ हाम्रा लागि किन प्रेम भरेर राखिदिऊन् ? त्यसैले यो दुनियाँमा प्रेम अधुरो छ– मानव जीवन सुख र शान्ति लागि अभिशप्त बनेको छ ।
 
संसारको पनि आत्मा छ । विवेकशील प्राणी मानिस नै पशुभन्दा तुच्छ भएपछि, अरुलाई मारेर–दुःख दिएर रमाउने भएपछि संसारको आत्माले किन नधिक्कारोस्, किन नसरापोस् ? अरु प्राणीलाई बाँधेर, थुनेर राख्ने, काट्ने, खाने हामी कति हिंस्रक र निर्दयी त ? बुद्धिविवेक भरेर सुन्दर मानवजातिको परिकल्पना र रचना गरिनु नै यो सृष्टिका लागि भूल भइरहेको होला ! जसरी अहिले हामी मानवयन्त्र बनाइरहेका छौं, भोलि त्यही विनाशकारी भएर हामी पछुताउनुपर्ने दिन नआउला भन्न सकिन्न ।

हामीले घर समुदायमा ल्याएर जबरजस्ती बाँधेर, थुनेर पालेका गाईभैंसी, बाख्रा, कुखुरा जंगलमै हुन्थे भने बाघ, भालुहरु पनि आहारा खोज्दै मानव बस्तीमा पस्थेनन् कि ! उनीहरुका आहारालाई हामीले ल्याएर खाइदिएपछि ती जंगली जनावर मानव बस्तीका घरगोठसम्म किन नआउन् ? अनि मान्छेसमेत किन नखाउन् ?
 
अहिले मानव बस्तीमा कुकुरहरु अचाक्ली बढ्दै गएका छन् । गल्ली–गल्लीमा कुकुरका झुन्ड बसेर मान्छेलाई भुक्ने, झम्टिने र टोक्ने गर्दा बाटो हिँड्नै डरलाग्दो अवस्था छ । मान्छेले कुकुर किनेर ल्याएर पनि घरमा पालेका छन् तर घरकै मान्छेलाईसमेत कुकुरले टोकेका छन् । एउटा कुरालाई खतरा पर्दा वा भुक्दा गल्लीका सबै कुकुरहरु भुक्दै गुगुर्ती एकैठाउँ ओइरिन्छन् । बेलैमा नियन्त्रण नगरे कुकुर, बिरालाबाट पनि मानव समुदायलाई खतरा छ । 

    
मसिना किरा फट्यांग्रा, भुसुनाहरुको के कुरा ? कति त आँखैमा हामफालेर मर्छन् । मर्ने बेला पनि हामीलाई बिझाउँन् । यदि सारा पशुचौपाया जङ्गलमै रहने हुन् भने जीवको विष्टा र सिनोहरुमा भन्किने माखा, रगत चुस्ने लामखुट्टे पनि मानव बस्तीमा आउनुपर्थेन कि ! हुन त हाम्रो फाहोरले नै उनीहरुलाई निम्त्याइरहेको छ । हिँड्दाहिँड्दै खुट्टैले कुल्चिने इत्रा कमिला जत्रा किरा नहेरी फूलै पार्ने अलि ठूला कुखुरा, हाँसलाई नै हेरौं । आफ्ना चल्लालाई जोगाउन कसरी ढाक्न जान्छन् ? चराचुरुङ्गीले पनि बचेरालाई बचाउन खानेकुरा खोजीखोजी चुच्चोले च्यापेर ल्याएर ख्वाउँछन्– मान्छेले आफ्ना केटाकेटीलाई कमाएर ल्याई ख्वाएजस्तै । बरु तिनले त बालबच्चालाई पालनपोषण गरेको त्यस्तो हिसाब पनि राख्दैनन् होला तर हामी मान्छे राख्छौं ।
 
जेहोस्, पशुपक्षी पनि आफ्ना सन्तानलाई औधि प्रेम गर्छन् । आत्मीय ढंगले हुर्काउँछन्, बढाउँछन्, आपसमा खेल्छन्, रमाइलो मनाउँछन् । स्वतन्त्र रुपमा डुल्दै, फिर्दै, विचरण गर्दै आनन्दले खुशीसाथ जिउने लालसा उनीहरुलाई पनि हामीलाई जस्तै छ । हामी आफैं उड्न भनी हवाईजहाजसमेत बनायौं तर उड्न सृष्टि भएका चरालाई आफ्नो पिँजडामा कैद गरिराख्यौं । नदीमा समेत पौडिन र डुंगाको सहायताले सयर गर्न सक्ने भयौं तर त्यही पानीमा पौडिन र खेल्नलाई पैदा भएका माछादिलाई मारेर हामीले भोजन बनायौं । 

खासमा हात्ती–घोडा पनि हामीलाई किन चाहियो र ? मोटर नै चढ्न सक्छौं । अब त मेसिनकै सहायताले भारी बोक्न, खेतबारी जोत्न सक्छौं । गोरु–राँगाहरुलाई पनि जोताएर कष्ट नदिऊँ भो ! उनीहरुको पनि हाडछाला, रगतमासुले बनेको शरीर हो, पीडा त सबैलाई हुन्छ । अरुको अधीनमा बाँधिएर थुनिएर बस्नुपर्दा कति भक्कानिँदो होला मन ? जंगलमै भए आफूले छानी छानी मन परेका घाँसपात, जडीबुटी, कन्दमूल रोजीरोजी खाने थिए । कलकल बगेका छाँगा, छहराका पानी पिउँदै खुला रुपमा विचरण गर्न पाउँदा कति आनन्दित हुने थिए ! मान्छेलाई पनि बच्चामा पोषणका लागि चाहिने दूध आफ्नै आमाको छातीमा पर्याप्त भरिदिएकै छ प्रकृतिले । यसर्थ, दूध पनि अन्य प्राणीको हामीलाई जरुरी होइन ।

हाम्रो सामाजिक व्यवस्था नै परम्परागत रुपमा गलत ढंगबाट चल्दै आयो । हिंसा र द्वन्द्वको जग हालेर प्रेमको घर बस्न सक्दैन । हामीले नै चिचिपापा भन्दै अरुलाई मारेर खान सिकाएर बच्चालाई सानैदेखि हिंस्रक बनारहेका छौँ । गाली नसुनेको मान्छेले कहिल्यै कसैलाई गाली गर्न सक्दैन । झगडा नदेखेकोले पनि झगडा गर्न जान्दैन । रिसराग पनि मान्छेको जन्मजात स्वभाव नभई विकसित हुँदै गएको आनीबानीको स्थिति हो भन्न सकिन्छ । लोभ, क्रोध, इष्र्या, मोह, अहंकार जति गरे उति बढ्दै जाने कुरा हुन् । सुरुदेखि केही कुरामा लोभ नै नराख्ने हो भने हुँदैन पनि । चरा देखेर नै मान्छेमा उड्ने भाव आएको हो । अर्थात्, नदेखी, नसुनी, नभोगी, नसिकी केही हुँदैन । 
  
हामीले बालबालिकाहरुलाई विद्यालय शिक्षादेखि नै फस्र्ट, सेकेन्ड हुने प्रतिस्पर्धात्मक प्रवृत्ति सिकाइ आएका छौं । जसले समाजमा फगत द्वन्द्व र स्वार्थलाई बढावा दिएको छ । मान्छेमा अरुलाई उछिन्ने प्रतिस्पर्धात्मक भावना विकसित भएपछि स्वभावतः आफूभन्दा अरु कमजोर होस् भन्ने चाहन्छ र अरुको कमजोरीमा आफ्नो सफलताको स्थिति देख्छ । मनोरञ्जन र एकताको लागि खेलिनुपर्ने खेलहरुसमेत जीत हारकै उद्देश्य राखेर खेल्ने चलन भइदियो । खेलमै अरुलाई छलेर गोल हान्न सिकाइएको छ त समाजमा धोकाधडी र छलकपट किन नहोस् ? एकअर्काको खुट्टा तान्ने, अरुलाई तल झार्ने प्रवृत्ति र जालझेल व्याप्त छ । कुराकानीकै सिलसिलामा समेत घुमाउरो पारामा अर्कोलाई खसालेर बोल्छन् मानिसहरु । गल्ती भए सच्याइदिनु, कमजोर छ भने सहयोग गर्नु पो मानवता हो त !

कोही ओत लाग्ने ठाउँसमेत नपाएर बाढीपहिरो र वन्यजन्तु लगायतबाट ज्यानको माया मारी जंगलका डाँडापाखा, भीर अनि खोलाछेउ छाप्रो हालेर बस्न विवश छन् भने अर्काेतिर धनीहरुले भएभरका जग्गा, सम्पत्ति र पैसा आफ्नो नाममा ओगटेर, थुपारेर राखेका छन् । यस्तै हुन्छ त मानव समाज ? जग्गाजमिन त खेती गर्ने किसानलाई होस् । नत्र घर कम्पाउन्ड र अलिअलि सागसब्जी फलाउने सानो बगैंचा भन्दा बढी कसैसँग केही नहोस् । 

मालिक र सेवक बीच पनि विभेद नहोस् । यदि उद्योगी व्यवसायीहरुले ठूलो लाभांश नराख्ने हो भने सबै श्रमिक कर्मचारीहरुको राम्रै तलब हुनेछ । मालिक र श्रमिकबीच लाभांशमा ठूलो भेद यदि हुँदैन भने साँच्चै हरेकको घरमा मोटर गाडी हुन सक्छ । क्रेता र बिक्रेताबीच धेरै नाफा नराखिने र विचौलियाको चलखेल नहुने हो भने सबैजसो उपभोग्य बस्तुमा सबैको सहज पहुँच हुनेछ । अनि बल्ल समाजमा समानता स्थापित हुन सक्छ । 

सबैलाई आ–आफ्नो योग्यता अनुसारको काम होस् । कुनै पनि काम सानो-ठूलो भन्ने नहोस् । तर यहाँ त फोहोर सोहोर्ने भन्दा फोहोर गर्नेहरु आफूलाई प्रतिष्ठित ठान्दछन् । मालिक कुर्सीमा र मजदूर भुइँमा होइन सबैको हैसियत उस्तै हुनुपर्छ । पुँजीपति र सर्वहारा वर्ग भन्ने नै नहोस् । आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक रुपमा सबै मानिस उत्तिकै सबल होऊन् । जात, धर्मको कुनै गुञ्जायस् नहोस् । केवल मानवता सबैमा व्याप्त होस् । यसरी सबैमा परोपकारको भावमात्र भइदिए यो संसार कति जाती हुने थियो । सबैलाई सबै कुरा पुग्दो हुने हो र परस्परमा समान स्थिति रहने हो भने चोरी, डकैती पनि हुँदैन सायद । बिराम गरेनौं भने बिरामी पनि नहुन सक्छौं ।     

शिक्षा, स्वास्थ्य सबैका लागि सर्वसुलभ हुनुपर्छ । जस्तै, फिनल्याण्डमा निजी विद्यालय छैनन् भन्ने छ । बताइएअनुसार त्यहाँ वर्तमान शिक्षा प्रणाली अनुसार हाइस्कूलको अन्त्यसम्म कुनै परीक्षा पनि लिइँदैन । यसबाट विद्यार्थीमा स्वतः प्रतिस्पर्धाको भाव नरहने र विद्यार्थीबीच सहकार्य बढ्छ । त्यहाँको आधारभूत शिक्षा प्रणालीले प्रतिस्पर्धा भन्दा पनि सहकार्यमा जोड दिइरहेको बताइन्छ । विद्यालयमा परीक्षा, गृहकार्य र विद्यालय र विद्यार्थीबीचको प्रतिस्पर्धालाई निरुत्साहित गरिँदै आएको जनाइएको छ । 

खासमा ठूलाले सानालाई पनि तँ भनेर सम्बोधन गर्ने होइन । एकले अर्कालाई तपाईं हजुर नै बोलौं । तिमी पनि खास सम्बन्धमा प्रिय होस् तर एउटाले तिमी वा तँ र अर्काेले तपाईं हजुर भन्ने नहोस् । प्रतिस्पर्धाले द्वन्द्व र सम्पत्तिमा निजीत्वको भावनाले समाजमा स्वार्थ बढाएको छ । यसरी भाव नै हामीमा असमान भइदियो । त्यसैले प्रेमसम्बन्ध पनि दौंतरीमा मात्र कायम रहन सकेन । 

आफ्नो श्रीमान वा श्रीमतीलाई अरुले नजर नलाओस् भन्ने चाहन्छौं त आफू पनि बाहिरका महिला–पुरुष वा अरुका श्रीमान श्रीमती नहेरौं न । तर हामीले सानैदेखि बाहरवाली र घरवालीका किस्सा सुनेर त्यही अनुसारको सोच विकसित भयो । एक महिला पुरुष जोसित प्रेम वा वैवाहिक सम्बन्ध छ ऊबाहेक अरुप्रति त्यस्तो प्रेम र यौनको भावना नजाने भइदिएको भए सबैलाई कति सुक्ख हुने थियो ? क्रोध, गाली, मारपिट, हत्या, हिंसा, अन्याय, अत्याचार नहुँदो हो त कति प्रेमिल समाज हुन्थ्यो ?  

तर असम्भव भन्ने केही छैन । मान्छेको सोच र शैलीकै कुरा हो । मान्छेको दिमाग जसरी प्रशिक्षित हुन्छ, त्यसै अनुसार सोच विकसित हुने हो । बिग्रिसकेको सोच बन्न गाह्रो होला, असम्भव त छैन । नयाँ पुस्तालाई सानैदेखि हत्याहिंसाबाट टाढा राख्ने, सात्विक खाना खुवाउने, रिसराग, अपशब्द, गालीगलौजको छायामा नपार्ने, प्रतिस्पर्धा र हारजीतको होइन कि सहयोग, सहकार्य, समानता, परोपकार, र प्रेममात्रको संस्कारले प्रशिक्षित गर्दै जाने हो भने समतामूलक प्रेमपूर्ण आदर्श समाज शतकभित्रै सम्भव छ । जस्तो व्यवहारबीच बच्चा हुर्किन्छ, त्यही अनुसार उसको आनीबानी र सोच, व्यवहार विकसित हुँदै जान्छ । सभ्यता आफैं स्थापित हुने होइन, विकसित हुने विषय हो ।

टिप्पणीहरू