ओलीसँग गोत्र मिलेकाले बलराम जोगिएको उपेन्द्रको दाबी

ओलीसँग गोत्र मिलेकाले बलराम जोगिएको उपेन्द्रको दाबी

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको सगोत्री रहुञ्जेल भूमि व्यस्थामन्त्री बलराम अधिकारीले राजीनामा दिनुनपर्ने भन्दै कटाक्ष गरेका छन् । 

हिजोसम्म सरकारको सहयोगी रहेका उनले समर्थन फिर्ता लिएसँगै आज सामाजिक सञ्जालमा यस्तो कटाक्षपूर्ण टिप्पणी गरेका हुन् । मालपोत अधिकृतको सरुवा र भूमि आयोगको नियुक्ति दिलाउन भएको घुस ‘डिल’ को सन्दर्भमा उपेन्द्रले राजकुमार गुप्तालाई ‘मधेशी’ भएकै कारण राजीनामा दिन बाध्य पारिएकोसमेत बताए । 

‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन, वालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जे गर्न पनि छुट छ’, उनले भनेका छन्, ‘सामान्य प्रशासनमन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो, उनी बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरुका संरक्षक शिरोमणि ‘बा’का सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्रले प्रधानमन्त्री ओली मधेशी समुदायका नेताप्रति पूर्वाग्राही रहेको पनि दावी गरेका छन् । थपेका छन्, ‘बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एक पल पनि खेर फाल्ने थिएनन् ।’

टिप्पणीहरू