कोदो दिवसमा रोपाइँ र पुरस्कार
सरकारले कोदो उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने उद्देश्यले पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ।
आज साउन १६ गते मनाइँदै गरेको यो दिवसले साना किसानहरूको जीवनस्तर सुधार गर्ने र खाद्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदो आयात गरिएको थियो। तर अब सरकारले कोदो आयातमा रोक लगाउने निर्णय गरेको छ। साथै, जैविक विविधता जोगाउने र जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै साना किसानको आय तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।
कोदो दिवसको अवसरमा चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा कृषक, राष्ट्रिय कृषक समूह महासंघ, पत्रकारलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई पुरस्कार तथा कदरपत्र वितरण गरिने आयोजक समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलले जानकारी दिएका छन्।
यस दिवसले किसान मात्र नभई सम्पूर्ण देशको खाद्य प्रणाली सुदृढ गर्नमा योगदान पुर्याउने विश्वास लिइएको छ।
टिप्पणीहरू