रामपुर क्याम्पसको भवन निर्माणमा ढिलाई, विद्यार्थीहरू सशंकित

रामपुर क्याम्पसको भवन निर्माणमा ढिलाई, विद्यार्थीहरू सशंकित

चितवनको रामपुर क्याम्पस भवन निर्माणमा त्रिभुवन विश्वविद्यालयले अस्वाभाविक बिलम्ब गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । 

अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघले आज संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस निर्माणका सम्बन्धमा यसअघि भएको सहमति कार्यन्वयन गर्न जोडदार माग गरेका छन् । अन्यथा चरणबद्ध र सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ । 

चितवनको खैरहनी नगरपालिकामा अवस्थित त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थानअन्तर्गतको रामपुर क्याम्पस चारवटा भिन्न, अव्यवस्थित र जीर्ण भवनमा सञ्चालन हुँदै आएको छ । यसअघि जग्गासम्बन्धी विवादमा सर्वोच्च अदालतले ३५४ विघा १९ कट्टा जमिन उपलब्ध गराउन सम्बन्धित पक्षलाई आदेश दिएसँगै विवास समाधान भैसकेको छ । तर, पनि निर्माण कार्य अझै शुरु नभएको भन्दै विद्यार्थी संगठनहरूले चलखेलको आशंका गर्दै आएका छन् । 

यो अवस्थाप्रति चिन्ता जनाउँदै संयुक्त विद्यार्थी संगठनको विज्ञप्तिमा भनिएको छ, 'हामी विद्यार्थी संगठनहरूले क्याम्पस निर्माणका लागि निरन्तर पहल गर्दै आएका छौं । हाम्रो पहलकै परिणामस्वरूप केही समयअघि रामपुर क्याम्पसको अवलोकन र अनुगमनका लागि समिति गठन भएको थियो । उक्त समितिले क्याम्पसको स्थलगत अवलोकन गरी प्रशासन र विद्यार्थीहरूसँग छलफल गरेर तयार पारेको प्रतिवेदन सम्बन्धित निकायमा बुझाइसकेको छ ।'

तर, प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि कुनै ठोस कदम नचालिएको उनीहरुको आरोप छ । 'यसप्रति हामी विद्यार्थी संगठनहरूको गम्भीर आपत्ति र खेद छ', विज्ञप्तिमा उल्लेख छ ।

यसै सन्दर्भमा केही समयअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, कृषि र पशु विज्ञान अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी संगठनबीच भएको छलफललाई यथासीघ्र कार्यन्वयनमा ल्याउन विद्यार्थीहरूले माग गरेका छन् । उनीहरुका अनुसार सो छलफलमा क्याम्पस निर्माणका लागि ठोस कदम चल्ने सहमति भएको थियो । 

'यदि समयमै कदम नचालिएमा हामी सबै विद्यार्थी संगठनहरू एकजुट भई अध्ययन संस्थानको नियमित प्रवेश परीक्षासमेत रोक्न बाध्य हुने चेतावनी दिएका थियौं', विज्ञप्तिमा भनिएको छ, 'प्रवेश परीक्षा नजिकिंदै गर्दा पनि हाम्रा मागहरूलाई निरन्तर बेवास्ता र अपहेलना गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'

टिप्पणीहरू