उमेर ढल्केका चिनियाँहरू पनि उत्तिकै सक्रिय
चिनियाँ सहरहरूमा वयस्कहरूले रात्रि विद्यालयमार्फत् नयाँ सीप सिक्ने चलन बढ्दै गएको छ । हुनान प्रान्तको राजधानी छाङ्शामा ५२ वर्षीया याङ लीले मे महिनादेखि चित्रकला कक्षा शुरु गरेपछि जीवनमा नयाँ उत्साह थपिएको बताइन् ।
बुढेसकालमा पनि शिक्षा लिन पछि नहट्ने याङ ली भन्छिन्, ‘यसले मेरो जीवनलाई नयाँ अर्थ दियो र धैर्यता सिकायो ।’ बजार अनुसन्धान संस्था (मेइतुआन) ले सन् २०२५ मा रात्रि कक्षासम्बन्धी अनलाइन छलफलमा ७८ प्रतिशतभन्दा बढीको सहभागिता देखाएको छ ।
त्यहाँ भिडियो सम्पादन, संगीत वाद्ययन्त्रलगायतका कक्षा पनि सञ्चालनमा छन् । सामुदायिक कार्यकर्ता वाङ हाओडोङले गितार सिक्दा आफूलाई तनाव कम भएको बताउँछन् । अधवैंशे ४६ वर्षीय पूर्व औद्योगिक मजदुर याङ बाओहुआले कृत्रिम वुद्धिमत्ता तालिम लिएर रोजगारीका नयाँ अवसर खोज्दै छन् ।
छाङ्शामा रात्रि कक्षाहरूको शुल्क ३० देखि ६० युआन (४.२ देखि ८.४ अमेरिकी डलर) रहे पनि सिकाइ सामग्री निशुल्क उपलब्ध पाइन्छ । पछिल्ला दुई वर्षमा छाङ्शाका विभिन्न रात्रि विद्यालयहरूले एक लाखभन्दा बढीलाई लाभान्वित तुल्याएको छ ।
सांङ्घाई, सेन्जेन, नान्चाङ र नान्जिङजस्ता सहरहरूमा पनि रात्रि विद्यालयहरू लोकप्रिय बन्दै गइरहेका छन् । फ्रोस्ट एण्ड सुलिभानले चीनको वयस्क तथा प्रौढ शिक्षा बजार सन् २०२७ सम्म १.०४ ट्रिलियन पुग्ने भविष्यवाणी गरेका छन् ।
a
टिप्पणीहरू