सुर्ती सेवनमा झडप, फरार कैदीबारे प्रशासन अनभिज्ञ
मोरङको विराटनगरस्थित बाल सुधार गृहको अवस्था आज दिउँसो तनावग्रस्त बन्यो । सुधार गृहमा रहेका बालबालिका र प्रहरीबीच झडप भएपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
बालबालिकाले सुर्ती सेवन गरेको आशंकामा प्रहरीले चेकजाँच गर्दा झडप सुरु भएको थियो । घाइते वरिष्ठ प्रहरी हवल्दारको अस्पतामा उपचार भइरहेको छ । सुधारगृहका प्रमुख गायत्रीप्रसाद ढकालका अनुसार झडपपछि त्यहाँ जिल्ला प्रहरी कार्यालयले थप सुरक्षाकर्मी खटाएको छ ।
उता सुनसरीमा जबरजस्ती करणीको मुद्दामा १३ वर्ष कैद सजाय पाएका एक कैदी फरार भएका छन् । खोटाङको चुइचुम्मा गाउँपालिका–२ घर भएका २५ वर्षीय रूपक पौडेल जिल्ला कारगारबाट भागेका हुन् । पौडेल कसरी फरार भए भन्नेबारे कारागार प्रशासनले नै अनभिज्ञता देखाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनामाथि अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कारागार प्रशासनका प्रतिनिधि सदस्य छन् ।
फरार पौडेललाई गत चैतमा जिल्ला अदालतको आदेशले सामूहिक जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो ।
टिप्पणीहरू