रामेशको पलायनपछि मन्त्री पौडेल - मेरो के लाग्छ र !
दश हजार बढी बिरामीको मुटुको सफल शल्यक्रिया गरेका वरिष्ठ कार्डियोलोजिस्ट डा. रामेश कोइरालाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्डियोभास्कुलर विभाग प्रमुखबाट राजीनामा दिएपछि त्यसका कारणबारे समाजिक सञ्चालमा विभिन्न टिकाटिप्पणी भैरहेको छ । ट्वीटर (एक्स)मा निकै सक्रिय उनका प्रशंसक र आलोचकहरूका धारणा सार्वजनिक भैरहेका छन् ।
आधा दर्जन पुस्तकका लेखकसमेत रहेका रामेशले २५ वर्ष बिताएको अस्पतालबाट राजीनामा दिएर देश नै छाड्ने निर्णय किन गरे त ? कारण जान्न छोटो पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ ।
प्रथमतः रामेश नेपाली कांग्रेस निकट हुन्, तर अन्धभक्त होइन । प्रजातान्त्रिक विचारधाराप्रति विश्वास राख्ने उनी कम्युनिज्मको पनि राम्रो ज्ञाता मानिन्छन् । रामेशले पार्टी नेतृत्व र नेताहरूका कार्यशैलीको थुप्रै आलोचनात्मक टिप्पणी गर्दै अनेकौँ ट्वीट गरेका छन् । राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा लामा आर्टिकल लेखेका छन् ।
कुख्यात विकिनी किलर चार्ल्स शोभराजको मुट शल्यक्रिया गरेपछि ‘हो, चार्ल्स शोभराजको पनि मुटु रहेछ’ भनेर ट्वीट गरेका उनी कांग्रेस महामन्त्री गगन थापाका प्रिय मित्र हुन् । अहिलेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि उनका साथी हुन् । तर ज्ञान, क्षमता, योग्यता र राम्रो राजनीतिक पहुँच भए पनि उनले चाहेको नियुक्ति पाउँन सकेनन् ।
रामेशले राजीनामा दिनुको कारणबारे अनेक चर्चा भइरहँदा एउटा मुख्य कारण उपकुलपति बन्न नपाउनु हो, यसमा दुईमत छैन । तर, यसको कारण चैं उनकै आलोचनात्मक चेत हो भन्ने विश्लेषण गर्न थालिएकाे छ ।
सरकारले एकैपटक चार उपकुलपतिका लागि दरखास्त आह्वान गरेपछि रामेशले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको लागि आवेदन दिएका थिए । सत्ता गठबन्धनमा भागवण्डा मिलाउँदा पोखरा एमालेको भागमा परेपछि यहाँ रामेशको सम्भावना रहने । कांग्रेसको भागमा परेकाे बिपीमा उनको सम्भावना थियो । कांग्रेस महामन्त्री थापा र स्वास्थ्यमन्त्री पौडेलको पहिलो रुची पनि उनी नै थिए । तर, पनि रामेश उपकुलपति बन्न सकेनन् ।
र्टी सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाको चर्को आलोचना गर्ने रामेश बूढानीलकण्ठको अरुचीमा परेर सरकारी नियुक्तिबाट बाइकटमा परेको यो पहिलोपल्ट भने होइन । यसअघि ०८० मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकको दौडमा रहेका उनलाई यसैगरी पाखा पारिएको थियो।
त्यतिबेला आरजुकै अग्रसरतामा रवि मल्ललाई कार्यकारी निर्देशक बनाइँदा उनी विभागीय प्रमुखको जिम्मेवारीमा थन्किनु परेकाे थाहा पाउनेहरू बताउँछन् । त्यसयता बूढानीलकण्ठतिर फर्किएर आलोचनात्मक चेत अझै तिखारेका उनी अहिले उपकुलपति बन्न नसक्नुको मुख्य कारण यहि हो भनिन्छ ।
के साँच्चै यसपटक पनि आरजुले हस्तक्षेप गरेकी हुन् त ? स्वास्थ्यमन्त्री प्रदीप पौडेलको घुमाउरो स्वीकारोक्ति छ । ‘उहाँले आवेदन दिएपछि विधि र प्रक्रियाअनुसार तीन जनामा पर्नुभयो, मेरो चाहना पनि राम्रो मान्छेलाई नै नियुक्त गर्नुपर्छ भन्ने हो’, मन्त्री भन्छन्, ‘तर पार्टी नेतृत्वको रुचीको कुरा पनि आउँछ, मेरो के लाग्छ र !’
‘एउटा विभागीय मन्त्रीले भनेर के हुन्छ, मैले त प्रक्रिया र विधि पुर्याइदिने मात्र न हो, मैले चाहेर केही हुँदैन, म अहिले मन्त्रीको पदीय हैसियतामा छु, त्यत्ति हो’, उनले थप खुलाए । तपाईको त राम्रो साथी पनि हो नि हैन र ? भन्ने प्रश्नमा मन्त्री पौडेलको जवाफ छ, ‘हो, तर निर्देशन मान्नैपर्छ !’
टिप्पणीहरू