भूपू हुनुअघि वर्षभरिको सम्झौता
प्रहरी महानिरीक्षक दिपक थापाको कार्यकाल १८ दिन मात्रै बाँकी छ । उनी यही भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । यसबीच गृहसचिव गोकर्णमणि दुवाडी र थापाबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
थापाले हिजो आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा आइतबार आयोजित समारोहमा गृहसचिव दुवाडी र महानिरीक्षक थापाले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेर सम्झौता आदान–प्रदान गरेका थिए ।
मन्त्री लेखकले कार्यसम्पादन सम्झौताको कार्यान्वयन परम्परागत शैलीभन्दा पनि नवीन ढंगले गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्यसम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव र प्रहरी महानिरीक्षकबीच सम्झौता भएको बताइएको छ ।
थापा भदौ १९ गतेदेखि अवकाशमा जाने भएकाले त्यसअघि अर्का महानिरीक्षकको नियुक्ति भइसक्नुपर्ने छ । वरिष्ठताको आधारमा अतिरिक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ नयाँ महानिरीक्षकको क्रममा देखिन्छन् । उनी बढीमा दुई महिना सात दिन महानिरीक्षकको जिम्मेवारीमा रहेर अवकाश हुनेछन् ।
अघिल्लो ब्याचका उनीमात्रै बाँकी रहेकाले त्यसपछिका एआईजीमध्ये दानबहादुर कार्की वरिष्ठताको एक नम्बरमा रहनेछन् ।
टिप्पणीहरू