पुरानै बाटोमा फर्किन लागे दुर्गा प्रसाईं
राप्रपा, राप्रपा नेपाल लगायतका पार्टीहरू निस्क्रिय अवस्थामा रहँदा राजावादी आन्दोलनका ‘जनकमाण्डर’ भनिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको सक्रियता शुरु भएको छ ।
तीनकुने प्रकरणमा झण्डै चार महिना हिरासत बसेर दुई साताअघि थुनामुक्त भएका उनले आज दिउँसो भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ५ कमेरेटारस्थित निजी निवासमा पत्रकार सम्मेलन गरेर आगामी रणनीति सुनाउन लागेका हुन् । प्रसाईंले सञ्चारकर्मीलाई निमन्त्रणा गर्दै एलईडी स्क्रिनबाट आफ्नो भावी योजना देखाउने बताएका छन् ।
चैत १५ को हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका र २८ गते उतैबाट पक्राउ गरी नेपाल ल्याइएका प्रसाईंविरुद्ध पाँचवटा कसूरमा मुद्दा चलेको थियो । उनी साउन २० गते २८ लाख धरौटी बुझाएर रिहा भए ।
हिरासतमा रहँदा पनि आफ्नो सचिवालयमार्फत् अन्टसन्ट धारणा सार्वजनिक गर्दै राज्यलाई चुनौती दिने प्रयास गरेका प्रसाईं थुनामुक्त भएपछि भने अहिलेसम्म शान्त देखिएका छन् । करिब दुई हप्ता युट्युबरको भेला नगरि चुपचाप बसेका उनी कस्तो रणनीतिसहित अघि बढ्न खोजेका हुन् त्यो भने हेर्न बाँकी छ ।
टिप्पणीहरू